सरकारको उचित निर्णय

आज पुस २७ गते, नेपालका लागि महान् दिन । इतिहास रच्न सफल राष्ट्र निर्माता महामानवको जन्मजयन्तीको दिन आज । वास्तवमा पृथ्वीनारायण शाह नेपाल राष्ट्रकै निर्माता भएर पनि विगत डेढ दशकदेखि अन्यायमा पर्दै आएका व्यक्ति । पृथ्वीनारायण शाह गोरखाका राजा नरभूपाल शाहका छोरा हुन् । आफ्नी आमा कौशल्यावतीदेवीका गर्भमा सात महिनामात्र बसेर नजन्मेका हुँदा उनीसँगै अर्की आमाको गर्भबाट नौ महिना गर्भमा बसेर जन्मेकालाई युवराज मान्नुपर्छ भन्नेहरू पनि थिए । तर, ती बालक जन्मेको केही महिनामै मरेका कारण पृथ्वीनारायण शाह निर्विवाद रूपमा गोरखाका युवराज बन्न पाए । सानैदेखि नेपाल एकीकरणको महान् कार्यमा समर्पित उनले सिंगो नेपाल राष्ट्रको निर्माण गरे ।

त्यसैले वसन्तपुरको नौतले दरबार र नुवाकोटको साततले दरबारबाहेक अरू कुनै संरचनाको निर्माण गर्न भ्याएनन् । २० वर्षको उमेरमा विसं १७९९ मा गोरखाको राजा भएदेखि नै उनी नेपाल एकीकरणको महान् कार्यमा समर्पित भए । आफ्नो जीवनको अन्तिम क्षणसम्म उनको यो अभियान निरन्तर चलिरहेको थियो । नुवाकोट, मकवानपुरलगायत राज्यहरूलाई गोरखामा मिलाउँदै अघि बढेका उनी त्यसपछि भने काठमाडौं उपत्यकाभित्र प्रवेश गरे । त्यहाँका कान्तिपुर, ललितपुर र भादगाउँ वा भक्तपुरमाथि विजयी बन्न पुगे यहाँसम्म उनलाई उनका भाइहरूको साथ रहेको थियो । त्यसपछि राज्य माग गरेका भाइहरूलाई उनले राज्य नदिएपछि भाइहरूले त्यसपछि उनको साथ छोडे तैपनि उनी नेपालको हालको सिमानाभन्दा निकै पर टिष्ठा नदीसम्म आफ्नो सीमा फैलाउन सफल भए ।

कीर्तिपुरको विजयका लागि उनले निकै प्रयास गर्नुप¥यो । कालु पाँडे जस्ता वीर सेनापति गुमाउनु पर्‍यो र उनका भाइहरू पनि घाइने भए । कीर्तिपुरका मानिसहरूले कालु पाँडेको टाउको काटेर धेरै दिनसम्म प्रदर्शन गरेको रिस फेर्न उनका भाइले एक दुई जनामाथि अभद्र कार्य गरेका कारण पृथ्वीनारायणको समेत बद्नाम भयो । त्यति बेला भारतमा शासन गरेर बसेका अंग्रजहरू नेपालाई पनि आफ्नो उपनिवेश बनाउन चाहन्थे । पृथ्वीनारायणका कारण उनीहरूले त्यसो गर्न पाएनन् । त्यसैले पढेलेखेका नेपालीहरू नभएको समयमा अंग्रेजहरूले नियतबस् पृथ्वीनारणयको अपमान हुनेगरी इतिहास लेखिदिए । त्यसको प्रभाव अझैसम्म पनि पर्दै आएको छ । यदि पृथ्वीनारणय शाहले नेपालको एकीकरण नगरेका भए नेपाल हाल आफ्नो स्वतन्त्र अस्तित्वमा रहन सम्भव थिएन । त्यसपछिका उनको योजनाहरूलाई उनका छेरा बहादुर शाह र जेठी बुहारी राजेन्द्रलक्ष्मीले पूरा गरे ।

उनीहरूले नेपालको पश्चिमी सिमाना काँगडासम्म फैलाए तर पछि भारदारहरूले उनीहरूबीच फाटो गराएका कारण बहादुर शाहजस्ता महान् योद्धाले अकाल मृत्यु वरण गर्नु प¥यो । पृथ्वीनारयण शाहले जे जति ठाउँमा विजय गरे ती सबै ठाउँका जनतालाई आफ्नै जनता मानेर स्नेहवत् व्यवहार गरे । बाईसी चौबीसी, विजयपुर, उपत्यकालगायत सबै ठाउँलाई समान दृष्टिले हेरेर गोरखाबाट राजधानीसमेत उपत्यकामै सारे । नेपाल सरकारले उनलाई राष्ट्रिय विभूतिको सम्मान दिएको छ । उनलाई बडामहाराजाधिराज भन्ने गरिएको छ । तर, त्यसबेला नेपाललाई उपनिवेश बनाउनबाट तिनलाई रोक्ने राजा पृथ्वीनारायण सधैं नै त्यस शक्तिको बक्रदृष्टिमा परिरहे । अहिलेसम्म पनि त्यो शक्तिले उनीमाथि बदलाको भावना लिइरहेको छ र उनको अपमान हुने कार्य गरिरहेको छ ।

पृथ्वीनारणको फोटामा थुक्ने र शालिकमा कालो पोत्नेहरूले यस कुरालाई बुझेका भए शायद त्यसो गर्दैन थिए होलान् । उनको जन्मजयन्ती मनाउनु भनेको कुनै नेपालीको अपमान गर्नु होइन । अंग्रेजलाई नेपाल प्रवेश गर्नबाट रोक्ने र छरिएका नेपालका बाईसी र चौबीसी र राज्यहरूलाई एकीकरणको सूत्रमा ल्याउने राजा हुन् उनी । तर विगत डेढ पर्षदेखि नेपालका अग्रपंक्तिका केही राजनीतिक पार्टी र नेताहरूले पनि यस कुरालाई बुझ्न नसकेका कारण उनी जन्मिएको दिन पुस २७ गते मनाइँदै आएको पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छोडिएको थियो । अहिले आएर यो कुनै जात, धर्म, वा आस्थाविरोधी कार्य होइन एकजना महान् नेपालीको सम्झना गर्दै उनका महान् कार्यको सम्झना गर्ने दिन हो भन्ने कुरा हालको सरकारले बुझ्न सफल भएको छ ।

नेकपा एमालेका नेता मोदनाथ प्रश्रित पार्टीको निर्णयविपरीत एक्लै पृथ्नीनारायण शाहको शालिकमा माल्यार्पण गर्न गएको सन्दर्भ पनि हालका दिनमा संस्मरणयोग्य हुन आउँछ । पृथ्वीनारायणका दिव्य उपदेशहरू वर्तमान सन्दर्भमा समेत राज्यसञ्चानका क्रममा त्यत्तिकै सान्दिर्भिक हुन आउँछन् । तर, उनका उत्तराधिकारीले उनकै जस्तो दूरदृष्टि राख्न नसकेका कारण सुगौली सन्धिपछि नेपालको सिमाना एक तिहाइ घट्न पुग्यो तैपनि त्यसभन्दा निकैपछि पहिलो राणा प्रधानमन्त्री जंगबहादुर राणा नयाँ मुलुक भनेर चिनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुर चार जिल्ला फिर्ता लिन सफल भएका थिए । यस्ता दूरद्रष्टा राजा पृथ्वीनारयण शाहप्रति हाम्रो श्रद्धासुमन । यस दिनको महत्व बुझेर पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गर्ने वर्तमान सरकारलाई हाम्रोतर्फबाट धेरै-धेरै धन्यवाद ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?