वसन्तपुरमा चीर ठड्याइयो, होली औपचारिक प्रारम्भ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएसँगै होलीको औपचारिक प्रारम्भ भएको छ । सोमबार बिहान विधिवत् रूपमा चीर ठड्याएपछि यो वर्षको होली प्रारम्भ भएको हो । सोमबार बिहान ७ बजेर ४५ मिनेटको शुभ साइतमा धार्मिक विधिपूर्वक चीर ठड्याइएको थियो ।

फागुन शुक्ल अष्टमीका दिन चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ । वसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीनखण्डे गजुरजस्तो देखिने रंगीविरङगी होलीचीर ठड्याइएको हो । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइँ गरिएको थियो ।

यो वर्षको फागुपूर्णिमा फागुन २२ र २३ गते परेको छ । काठमाडौं उपत्यकालगायत पहाडी जिल्लामा अघिल्लो दिन र भोलिपल्ट तराई तथा भित्री मधेशमा फागुपूर्णिमा मनाइन्छ । यस अवसरमा सरकारले सार्वजनिक बिदा दिने गर्छ ।

धार्मिक मान्यतानुसार हिरण्यकश्यपुले छोरा प्रह्लादको वध गर्न आफ्नी बहिनी होलिकाको काखमा राखेर आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त प्रल्हादको सट्टा बहिनी होलिका नै भष्म भएकी थिइन् । प्रल्हादलाई आगोले छुन नसेकेको र होलिकाको मृत्युको खुसियालीमा त्यो समयदेखि फागुपूर्णिमा मनाउने गरिएको धार्मिक मान्यता रही आएको छ । सोमबार गाडिएको चीर पूर्णिमाको रातमा टुँडिखेल पुर्‍याई दाह गरेपछि होली समाप्त हुन्छ ।

वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रूपमा लिइन्छ । आपसमा मैत्री एवं सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अवीर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?