नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन

युएईलाई हराउँदै सिधै विश्वकप छनोटमा, खेलमैदानमा देखियो दर्शकको क्रेज

हिमालय टाइम्स
Read Time = 10 mins

यज्ञराज जोशी/हिटा
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा युएईमाथि डकवर्थ लेविस पद्धति (डिएल म्याथ्यड)को आधारमा ९ रनको जित हात पार्दै नेपालले अर्को वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार भएको अन्तिम खेलमा यूएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खराब प्रकाशका कारण खेल रोकिएको थियो । त्यसपछि थप खेल सम्भव नहुँदा नेपाल ९ रनले विजयी भयो ।

योसँगै अंक तालिकामा ३६ खेल खेलेको नेपाल ४० अंकसहित तेस्रो स्थानमा रह्यो । सात टोली सहभागी विश्वकप क्रिकेट लिग २ मा शीर्ष तीन टोली सोझै विश्वकपमा पुग्ने समीकरण थियो । नेपालबाहेक स्कटल्याण्ड शीर्षमा र ओमान दोस्रो स्थानमा रहँदै आगामी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा पुगे ।

यस्तै, लिग दुईबाट पुछारका चार टोली युएई, नामिबिया, अमेरिका र पपुवा न्युगिनीले प्लेअफ क्वालिफायर खेल्नुपर्ने भएको छ । नामिबियामा यसै महिना अन्तिममा हुने प्लेअफमा शीर्ष दुईमा पर्न सके पुन ः विश्वकप छनोट खेल्न पाउनेछन् । लिग २ का शीर्ष तीन टोली, विश्वकप छनोटमा सुपर लिग-२ का पुछारका पाँच टोली, र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरी कुल १० टोली विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई दुई समूहमा विभाजन गरिनेछ ।

जसबाट हरेक समूहबाट शीर्ष तीन-तीन टोली सुपर सिक्समा स्थान बनाउँछन् । सुपर सिक्समा एक-अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोलीले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । खराब प्रकाश भएपछि अम्पायरले खेल रोक्दै बेल झारेका थिए । त्यसबेला क्रिजमा नेपालका गुलशन झा ४८ बलमा ४ चौका र २ छक्कासहित ५० रन र दीपेन्द्रसिंह ऐरी १० रनमा अविजित रहनुभएको थियो । एक समय युएईभन्दा पछि परेको नेपाललाई गुलशनले ४२ औँ ओभरमा चौका र एक छक्का प्रहार गरेपछि आफ्नो पक्षमा ढल्काउनुभएको थियो ।

त्यसअघि नेपालका भीम सार्कीले ७६ बलमा ९ चौकासहित ६७ रन जोड्नुभयो । पाँचौँ विकेटका लागि भीम र आरिफ सेखले ८३ रनको साझेदारी गर्दै नेपाललाई अघि बढाउनुभएको थियो । यस्तै, कुशल भुर्तेलले ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रन रनको अर्धशतकीय पारी खेल्नुभयो ।

आरिफ शेखले पनि ६२ बलमा २ चौकासहित ५२ रनको अर्धशतकीय पारी खेलेपछि नेपाल युएईले दिएको ठूलो स्कोर भेट्टाउन अघि बढेको थियो । युएईका जुनैद्ध सिद्दिकले सर्वाधिक तीन विकेट लिनुभयो । यस्तै, आयन खानले दुई र जहुर खानले एक विकेट लिनुभयो ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रनको विशाल योगफल बनाएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलोपटक यति ठूलो रनको लक्ष्य प्राप्त गरेको हो ।

युएईका लागि आसिफ खानले विस्फोटक शतक प्रहार गर्नुभयो । कुल ४२ बल खेल्नुभएका उहाँले ११ छक्का र चार चौकाको मद्दतमा अविजित १०१ रनको योगदान गर्नुभयो । यसैगरी, युएईका अर्का खेलाडी वृत्य अरविन्दले ९४ रन जोड्नुभयो । १३८ बल खेल्दै उहाँले दुई छक्का र आठ चौका प्रहार गर्नुभयो ।

त्यस्तै, युएईका कप्तान मोहम्मद वसिमले पनि अर्धशतक प्रहार गर्नुभयो । उहाँले ४३ बलमा ६ छक्का र दुई चौका प्रहार गर्दै ६३ रन बनाउनुभयो । साथै रोहन मुस्तफाले २० रन र आर्यन लाक्राले ६ रन बनाउनुभयो । सिपी रिजवानले सात रन बनाउनुभयो भने आयन अफजल खानले तीन रन जोड्नुभयो । बलिङतर्फ नेपालका दीपेन्द्रसिह ऐरीले दुई विकेट लिनुभयो भने सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कामीले समान एक÷एक विकेट हात पार्नुभयो ।

दर्शक सम्हाल्न प्रहरीलाई हम्मेहम्मे
बिहीबार नेपाली क्रिकेटप्रेमीहरूका लागि विशेष स्मरणीय बनेको छ । खेल दौरान कीर्तिपुरस्थित त्रिवि मैदानको माहोल अभूतपूर्व थियो । अहिलेसम्मकै ठूलो संख्यामा दर्शक उपस्थित थिए । बुधबार नै सबै टिकट सोल्डआउट भइसकेकाले मैदान पुग्नेहरू धेरैले टिकट पाउन सकेनन् । टिकटविना प्रवेश गर्न खोज्नेहरूलाई रोक्न प्रहरीले लाठीचार्जसमेत गरेको थियो । टिकट नपाएका दर्शकहरूले रुख चढेरसमेत खेलको मज्जा लिए । नेपाली समर्थकहरूको उत्साहलाई खेलाडीहरूले निराशामा बदलिन दिएनन् । यूएईविरुद्ध नेपालले बहादुरीपूर्ण जीत हासिल ग¥यो । नेपालका हरेक विकेट र हरेक रनमा दर्शकहरूले सेलिब्रेट गरेका थिए । यसअघि नेपालमा कुनै पनि क्रिकेट खेलमा यो स्तरको उत्साह देखिएको थिएन । सरकारको प्राथमिकतामा कम परेको क्रिकेट खेलमा नेपाली खेलाडी देखाउँदै आएको अभूतपूर्व प्रदर्शनले पूर्वाधार निर्माणका लागि ठूलो दवाव सिर्जना गरेको छ ।

टिकटबाट उठेको पैसा खेलाडी कोषमा
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार भएको नेपाल र युएईबीचको खेलको टिकट बिक्रीबाट उठेको पैसा क्रिकेट खेलाडी कल्याणकारी कोषमा जम्मा गरिने भएको छ । नेपाल क्रिकेट संघ क्यानले उक्त घोषणा गरेको हो । आर्थिक सहायता आवश्यक परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले कोष बनाइन लागिएको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । नेपाल र युएईसँगको खेलबाट उठेको सबै रकम यो कोषमा जम्मा गर्ने र आउँदा दिनमा पनि यस्तै खालका आम्दानीको स्रोत पहिचान गरेर कोषको आकार बढाइनेछ । युएई र नेपालबीचको खेल हेर्न झण्डै २५ हजार दर्शक त्रिवि मैदानमा पुगेका थिए ।

‘कुनै खेलाडी बिरामी तथा अन्य कुनै समस्या परेका खण्डमा उक्त कोषबाट खर्च गर्छौं, यसले खेलाडीलाई समस्या परेका बेला सहायता गर्न सहज हुन्छ,’ चन्दले भन्नुभयो । नेपाल र युएईबीचको खेलको टिकट माइपेबाट अनलाइन किन्दा १२० र गेटमा किन्दा १५० मा बेचिएको थियो ।

प्रधानमन्त्रीको बधाई
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई हराउँदै विश्वकप छनोटमा पुगेकोमा क्रिकेट टिमलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री दाहालले नेपाली क्रिकेट टिमलाई बधाई दिँदै भन्नुभएको छ, ‘आइसिसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु । लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई !’ प्रधानमन्त्री दाहाल बिहीबारको खेलको सुरुमा कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम पुग्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?