कविता : खोज्दै छु अस्तित्व

Read Time = 2 mins

✍️ सर्वानन्दा सरस्वती

जन्मिएँ आमाको गर्भ चिरेर म
विभेदको शिकारको प्रारब्ध लिएर,
किनभने म छोरी हुँ,
छोरी हुनुको मेरो कसुर,
मेरो अस्तित्व,
शिकारीले बलात्कारको बन्दुकले
घाइते लास बनाइरहेको छ ।
न्यायमन्दिरमा घण्टी बज्न छोडेको छ,
न्यायकर्मीको कालो कोट दृष्टिहीन भएको छ,
कैयौँ आमा छोरीको अवस्थाले विक्षिप्त छन् ।
सरकारको बेखबर छ,
सुन्छु,
देश किस्ता किस्तामा छिमेकतिर सर्दैछ रे !
अनि मेरो अस्तित्व ?
मेरो शरीर अनायासै पार्थिव बन्न पुगेको छ,
मेरै लासको यहाँ मोलमोलाइ हुने गर्छ,
अपराधी त ‘ज्वाइँसाप’ बन्ने गर्छ,
सरकार सम्मान गर्छ उसलाई
सम्मान छ सरकार !
म अस्तित्व खोज्दै छु,
अभावमा बाटो-बाटो ढुक्दै छु,
ऐस आराम चाहिएन मलाई
मेरो देश भए पुग्छ,
मेरो अस्मिताको रक्षा गरे पुग्छ ।
सरकार, बरु मलाई चिताको सिरानी
मेरै देशको बाटो भए पुग्छ ।
तर,
मेरो अस्मिता र अस्तित्व रक्षा गर्ने
मैले छानेर पठाएर सरकार बनेकाहरू
ओहो ! आमालाई लुट्दै रमिते बनेका छन् ।
अधिकारका कुरा गरेर थकाइ कहाँ लाग्छ र !
अस्तित्व र अस्मिता रक्षाविहीन अधिकार
हो ! यही हो ! हाम्रो मानव अधिकार !
नारी विकासको पहरेदार !
यहीबीच म खोज्दै छु अस्तित्व ।

मेलम्ची २, सिन्धुपाल्चोक ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
som luitel
som luitel
2023-04-03 4:08 pm

बहुतै सुन्दर कविता ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?