आयोजकलाई हराउँदै दमक सेमिफाइनल प्रवेश

हिमालय टाइम्स
Read Time = 2 mins

इलाम । घरेलु टिम देउराली स्पोर्टिङ क्लबलाई हराउँदै दमक फुटबल एकेडेमी तेस्रो सन्दकपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा देउरालीलाई टाइब्रेकरमा चार-दुई गोल अन्तरले हराउँदै दमकले अन्तिम चार मा स्थान बनाएको हो ।

निर्धारित समयमा दुवै टोलीबाट एक-एक गोल भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७१औँ मिनेटमा दमकले पेनाल्टीमा सुरुवाती अग्रता बनाउन सफल रहृयो । दमकका लागि रोशन तामाङले गोल गर्नुभयो । ७६औं मिनेटमा विनोद धमलाले बराबरी गोल फर्काउनुभयो ।

खेलको म्यान अफ दी म्याच दमकका समिर लिम्बू घोषित हुँदै नगद दुई हजार प्राप्त गर्नुभयो । प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा नवप्रयास युवा क्लब ताप्लेजुङ र बिर्तामोड युनाइटेड झापाबीच प्रतिस्पर्धा हुनेछ ।

वैशाख १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले विजेताले नगद एक लाख ५१ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ । उपविजेताले नगद ८१ हजार र ट्रफी पाउनेछ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद दुई हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक र सर्वाधिक गोलकर्ताले जनही चार/चार हजार पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?