नेताको नियत र जनताको नियति

हिमालय टाइम्स
Read Time = 7 mins

नेताले घुस मागेको अडियो रेकर्ड फेरि बाहिरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद ढाकाकुमार श्रेष्ठले झापाका व्यवसायी दुर्गा प्रसाईंसँग साढे दुई करोड रुपैयाँ माग गरेको रेकर्ड सार्वजनिक भएको हो । उहाँले आफ्नो पार्टी सरकारमा जाने र आफ्ना भागमा स्वास्थ्यमन्त्रालय परेको भनेर मेडिकल क्षेत्रमा व्यवसाय गर्दै आएका व्यवसायीसँग पैसा माग गरेको अडियो हालै सार्वजनिक सर्व-व्यापी भएको छ । प्रसाईं झापामा मेडिकल कलेज सञ्चालन गर्ने व्यक्ति हुनुहुन्छ, उहाँलाई केही सहयोग र सुविधा दिने प्रलोभनका साथ पैसा माग गरिएको हुनसक्छ । प्रसाईंलगायत केही मेडिकल व्यवसायीहरू यो क्षेत्रलाई व्यापारमुखी बनाउने प्रयासमा संलग्न हुनुहुन्छ ।

डा.गोविन्द केसीले चिकित्सा क्षेत्रमा कडाइ गरी गुणस्तर कायम गर्न सरकारलाई दबाब दिँदै आउनुभएको छ । जथाभावी मेडिकल कलेजहरू खोल्न दिनुहुँदैन भनेर केसीले बाईसौं पटकसम्म अनशन गर्नुभएको छ । अर्कातिर मेडिकल शिक्षा हामी सर्वसाधारणका लागि सहज नभएकाले एमबिबिएस र एमडी गर्न हजारौं विद्यार्थी नेपालबाहिर जानाले नेपालको अर्बाैंको धनराशि वर्षौं पिच्छे बाहिरिने गरेको छ । नेपालमै यस्ता कलेजहरू खोलेर शिक्षा दिने हो भने विद्यार्थी विदेशसम्म जानु नपर्ने र नेपालको पैसा बाहिरिनबाट रोक्न सकिने तर्क व्यवसायीले गर्दै आएका छन् । यही सन्दर्भमा ढाकाकुमार र दुर्गा प्रसाईंबीचको सम्वाद यस्तै विषयमा केन्द्रित बन्न गएको अडियो सार्वजनिक भएको छ ।

प्रसाईं जस्ता व्यवसायीलाई सुविधा दिन स्वास्थ्यमन्त्रालयको हात रहन्छ र पार्टी सरकारमा जाने भएपछि आफ्नो पार्टीको भागमा पर्ने भएको भनेर उहाँले प्रसाईंसँग पैसा माग गर्नुभएको हो । यसबाट नेपालको राजनीतिमा जोसुकै व्यक्ति वा पार्टी किन नआउन् तिनको राजनीतिबाट माथि उठ्नासाथ पहिलो प्राथमिकता अवैधानिक बाटोबाट भए पनि धनार्जन गर्ने नै नियत देखिन आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी हालैमात्र स्थापना भएको राजनीतिक पार्टी हो । केही आशालाग्दा युवाहरू भएका कारणले र पुराना पार्टीहरूप्रतिको वितृष्णाका कारण जनताले विकल्प खोज्ने क्रममा उक्त पार्टीप्रति सद्भाव राखेको आभाष देखिन आयो । एकाएक पार्टीले अपेक्षाभन्दा बढी नै स्थानमा विजय हासिल गर्न सफल भयो ।

तर, आफ्नो पार्टीको लोकप्रियतालाई बिर्सिएर यस पार्टीका सांसद तथा नेता श्रेष्ठको यसरी पैसा बार्गेनिङ गरी प्रसाईंसँग गरेको कुराकानी बाहिरिनुले जुनसुकै पार्टीको पनि मुख्य उद्देश्य जसरी भए पनि कमाउने नै देखिन आएको छ । यसभन्दा पहिले पनि नेकपा एमालेका नेता तथा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खोल्ने क्रममा ७० करोड रुपैयाँ माग गरेको अडियो पनि बाहिरिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले अडियो सार्वजनिक हुनु अघिल्लो दिन आकाशमा पुर्‍याएर प्रशंंसा गरेको भोलिपल्ट नै सो अडियो बाहिरिएको थियो र बाँस्कोटाले पदबाट राजीनामा दिँदै बाहिरिनु परेको थियो । यसैगरी नेकपा माओवादीका नेता कृष्णबहादुर महराले चीनसँग ठूलो परिमाणमा पैसा माग गरेको रेकर्ड पनि सार्वजनिक बनेको थियो ।

यी केही प्रतिनिधि सन्दर्भमात्र हुन् । सार्वजनिक बन्न नसकेका यस्ता अन्य सन्दर्भ कति अनगिन्ति हुन सक्छन् । यसबाट नेता र पार्टीहरू जनताका सेवाका लागि राजनीति गर्ने होइनन्, आफ्नो स्वार्थ र कमाउनकै लागि राजनीति गर्ने हुन् भन्न हिच्किचाउनु पर्दैन । गत निर्वाचनबाट एउटा राष्ट्रिय शक्तिका रूपमा देखिन आएको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन परिणाम आउनसाथ कहिले सरकारमा जान हतारिने कहिले सरकारबाट बाहिरिने गरेर अस्थिर बनिरहृयो । आज पनि अस्थिरतामा चलिरहेको यो पार्टीको कुनै धैर्य, अडान, र स्थिरता कतै देखिएन । यतिमात्र होइन हालै श्रेष्ठ र प्रसाईंबीचको वार्ताको अडियोले आर्थिक नियतमा पनि चुकेको सार्वजनिक देखिन आयो । यदि यो वार्ता श्रेष्ठको मात्र निर्णयबाट भएको भए कारबाही हुनैपर्छ ।

सांसद्समेत रहनुभएको उहाँको आरोप पुष्टि भयो भने सांसद पदसमेत जानसक्छ भनिएको छ । उहाँ हाल पार्टीबाट निलम्बनमा पर्नुभएको छ । पार्टीले उहाँमाथि अनुसन्धान सुरु गरेसँगै स्पष्टीकरण पनि सोधेको छ । पार्टीले प्रहरी र अख्तियारमा समेत निवेदन दिएर छानविनको बाटो सहज गर्ने पार्टी अध्यक्ष रवि लामिछानेले जानकारी गराइसक्नु भएको छ । पार्टीले उहाँलाई जोगाउन खोज्यो भने पार्टीको लोकप्रियतामा पनि प्रभाव पर्न सक्छ । सो छानविनमा सहयोग पु¥याएका खण्डमा पार्टीको लोकप्रियता अझै बढ्न सक्छ । त्यसकारण यदि सांसद श्रेष्ठ यस प्रकरणमा दोषी भएका खण्डमा पार्टीले उहाँलाई चोख्याउने प्रयत्न गर्नु हुँदैन । यो पार्टीको मात्र कुरा होइन भ्रष्टाचार गर्ने नियतप्रतिको दुरुत्साहन पनि हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?