अख्तियारद्वारा गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित २३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको लक्ष्मीपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित २३ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । पुल÷कल्भर्ट निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा आयोगले बिहीबार लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्ष रामबल्लभ साह, उपाध्यक्ष आशादेवी यादव, प्रमुख प्रशासकीय अधिकृतसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

लक्ष्मीपुर–४ स्थित धन्छुवारको पश्चिम कटनिया नयाँ नदीमा पुल/कल्भर्ट निर्माण समयमै सम्पन्न नगरेको, भएका काम पनि कम गुणस्तरका देखिएको र भुक्तानी नै गर्न नमिल्ने ३१ लाख ७४ हजार ४६७ रुपैयाँ मिलेमतोमा उपभोक्ता समितिलाई भुक्तानी दिने/लिने गरेको पुष्टि अभियोगपत्रमा गरेको छ । आरोपपत्रमा तत्कालीन गाउँपालिकाका अध्यक्ष साह, उपाध्यक्ष यादव, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, उपभोक्ता समिति अध्यक्षसहित २३ जनालाई विपक्षी बनाइएको छ ।

अख्तियार प्रवक्ता भोला दाहालका अनुसार तत्कालीन गाउँपालिका अध्यक्ष साहसँग भ्रष्टाचार ऐनबमोजिम ३१ लाख ७४ हजार ४६७ बिगो, कैद र जरिवाना माग गरिए पनि उपाध्यक्ष यादवसँग भने बिगो माग गरिएको छैन । उपाध्यक्ष यादवविरुद्ध भ्रष्टाचार निवारण ऐनबमोजिम कैद र जरिवाना माग गरिएको छ । यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महत, लेखापाल इन्द्रकुमार कर्ण, वडा नम्बर ४ का अध्यक्ष विद्यानन्द साह सुडी, वडा सचिव रामनारायण मण्डल र उपभोक्ता समिति अध्यक्ष विष्णुदेव यादव, कोषाध्यक्ष जलासकुमारी दनुवार, सचिव महादेव यादव र कन्सलटेन्सीका प्रोप्राइटर इञ्जिनियर इन्द्र नारायण साहलाई पाँच लाख २८ हजार ४४० बिगो, कैद र जरिवाना मागदाबी गरिएको छ ।

यस्तै, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धनिकलाल यादव र सुजितकुमार यादव, लेखापाल नरेश कामैत, इन्जिनियर अमन पोखरेल, वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष हनुमान मण्डल तथा उपभोक्ता समिति अध्यक्ष उतिमलाल मण्डल, कोषाध्यक्ष गीताकुमार मण्डल, सचिव परमेश्वर मण्डल र कन्सलटेन्सी एण्ड इञ्जिनियरिङका प्रोप्राइटर इञ्जिनियर ताराकान्त साहविरुद्ध पनि २६ लाख ४६ हजार २७ रुपैयाँ बिगो, कैद र जरिवाना मागदाबी गरिएको छ ।

धन्छुवारको नयाँ नदीमा पुल/कलभर्ट निर्माण कार्य बीचमै अलपत्र पारेको, भए/गरेको कार्यसमेत न्यून गुणस्तरको सामग्री प्रयोग गरिएको, सोही पुल/कल्भर्ट अर्को उपभोक्ता समितिबाट निर्माण गराउँदा पनि उक्त भौतिक संरचना बेकम्मा भई संरचना पूर्ण गर्न नसकिने अवस्थामा भुक्तानी दिएको लगायत विषय अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

घुससहित पक्राउ परेका दुई जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा बाराको भूमिसुधार कार्यालयका दुई कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले बाराको भूमिसुधार तथा मालपोत कार्यालय जलेश्वर महोत्तरीका नायब सुब्बा रामकृष्ण पण्डित र भू–सेवा केन्द्र जलेश्वर, महोत्तरीका लेखापढी व्यवसायी सुभाष चन्द्र लाल कर्ण र अर्का नायब सुब्बा रामकृष्ण पण्डितविरुद्ध घुस÷रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

आयोगका अनुसार नायब सुब्बा रामकृष्ण पण्डित र भू–सेवा केन्द्र जलेश्वर महोत्तरीका लेखापढी व्यवसायी सुभाष चन्द्र लाल कर्णले जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको पाइएको छ । आयोगले पण्डित र कर्णलाई सेवाग्राहीबाट नौ हजार रुपैयाँ घुस÷रिसवत लिइसकेको अवस्थामा गत फागुन १८ गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नायब सुब्बा रामकृष्ण पण्डितले दाखिला खारेज गरी जग्गाधनी पुर्जासमेत दिलाइदिने प्रयोजनको लागि सेवाग्राहीसँग नौ हजार रुपैयाँ घुस/रिसवत माग गरी लिई लेखापढी व्यवसायी सुभाष चन्द्र लाल कर्णलाई राख्न दिएको पाइएको छ । जुन भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?