उपनिर्वाचनमा रास्वपाको दुई स्थानमा विजय

पहिलेभन्दा बढी मतान्तरसहित चितवन-२ बाट रवि लामिछाने फेरि निर्वाचित

नारायण भण्डारी
Read Time = 9 mins

काठमाडौं । तीन क्षेत्रमा भएको उपनिर्वाचनमध्ये चितवन २ र तनहुँ १ को अन्तिम मतपरिणाम आइसकेको छ । यो समाचार तयार पार्दासम्म बारा २ मा मतगणना जारी छ । चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने र तनहुँ १ मा रास्वपाकै स्वर्णिम वाग्ले विजयी हुनुभयो । उहाँहरू नेकपा एमाले र सत्ता गठबन्धनका उम्मेदवारलाई भारी मतान्तरले हराएर जीत निकाल्न सफल हनुभयो । योसँगै रास्वपाले प्रतिनिधिसभामा २१ सिट पुर्‍याएको छ भने कांग्रेसको एक सिट घटेको छ । चितवन २ लामिछाने नै गत मंसिर ४ गतेको निर्वाचनमा विजयी भएको क्षेत्र हो । उहाँले गत मंसिरको भन्दा धेरै मत ल्याएर दोस्रो पटक जीत निकाल्नुभयो । लामिछानेले ५४ हजार १७५ मत ल्याएर जित्नुभएको छ । मंसिरको निर्वाचनमा लामिछानेले ४९ हजार ३०० मत ल्याउनुभएको थियो । उहाँले यस पटक पहिलेको भन्दा चार हजार ८७५ मत बढी ल्याउनुभयो । मंसिरको निर्वाचनमा रास्वपाले समानुपातिकर्फ भने ३५ हजार ९४५ मत ल्याएको थियो । लामिछानेको लोकप्रियताकै कारणले प्रत्यक्षमा धेरै मत आएको छ ।

तर, कांग्रेसले आफ्नोे मतको रक्षा गर्दा एमालेले भने मंसिरमा आएको आफ्नैै मतसमेत जोगाउन सकेन । कांग्रेसलाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित साना दलको पनि साथ थियो । कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले मंसिरको निर्वाचनमा १४ हजार ९८३ मत ल्याउनुभएको थियो । तर, अहिले उपनिर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ११ हजार ११४ मतमात्रै ल्याउनुभयो । प्रत्यक्षतर्फ कांग्रेसले गत निर्वाचनभन्दा यस पटक तीन हजार ८६९ मत कम पायो ।

गत निर्वाचनको समानुपातिकतर्फ कांग्रेसले ११ हजार ९१४ मत ल्याएको थियो । त्यसैले अहिले कांग्रेसको आफ्नो भोट नघटे पनि सत्ता गठबन्धन दलबाट मत नआएको देखिन्छ । उपनिर्वाचनमा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याउनुभयो । गत निर्वाचनमा कृष्णभक्त पोखरेलले १४ हजार ६६७ मत पाउनुभएको थियो । उपनिर्वाचनमा एमालेको प्रत्यक्षतर्फ तीन हजार ७३१ मत घटेको देखिन्छ । गत निर्वाचनमा समानुपातिकतर्फ एमालेले १६ हजार ७८४ मत ल्याएको थियो । समानुपातिक मतलाई आधार मान्दा पनि अहिले एमालेको पाँच हजार ८४८ मत रविलाई गएको देखिन्छ ।

यस्तै तनहुँमा पनि कांग्रेस र एमालेले आफ्नो मत जोगाउन नसकेको प्रस्ट देखिन्छ । रास्वपाका स्वर्णिम वाग्ले ३४ हजार ४८० मत ल्याएर विजयी हुनुभएको छ । गत निर्वाचनमा रास्वपाका विकास सिग्देलले ६ हजार ३२ मत ल्याउनुभएको थियो । त्यसवेला समानुपातिकतर्फ रास्वपा १२ हजार ७७३ मत ल्याएर तेस्रो बनेको थियो । तर, अहिले भारी मतान्तरसहित रास्वपाले जीत निकाल्यो । रास्वपाले जित्दा ठूला दललाई झड्का लागेको छ । सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ मत लउनुभएको थियो । गत निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल विजयी हुनुभएको थियो । उहाँले २५ हजार ३१८ मत ल्याएको भए पनि अहिले त्यो सबै भोट कांग्रेसको पोल्टामा जान सकेन ।

गत निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले २० हजार १५८ मत ल्याएको थियो । कांग्रेसले आफ्नो भोट जोगाए पनि माओवादी, नेकपा एससहित कुनै दलको भोट यहाँ पनि गठबन्धन उम्मेदवारले पाएको देखिएन । कांग्रेसले केही हदसम्म आफ्नो मत जोगाए पनि एमालेको भोट रास्वपाका उम्मेदवार वाग्लेलाई गएको देखिन्छ । एमालेका उम्मेदवार सर्वेन्द्र खनालले आठ हजार ५५५ मत पाउनुभयो । मंसिरको निर्वाचनमा एमालेका उम्मेदवार एकबहादुर रानामगरले १९ हजार ९४३ मत ल्याउनुभएको थियो । तर, अहिले एमालेको ठूलो मत रास्वपालाई गएको देखिन्छ । समानुपातिकतर्फ एमालेले १६ हजार ६८३ मत ल्याएको थियो । तर, अहिले एमालेका उम्मेदवार खनालले एमालेको आधी भोट मात्रै पाउनुभयो ।

हामीमाथि अनेक लाञ्छना लगाउनेलाई जनताले एकमुष्ट जवाफ दिए : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूमाथि लगाएको आरोपको जवाफ चितवनवासीले दिएको बताउनुभएको छ । चितवन २ बाट भारी मतान्तरले निर्वाचित भएपछि उहाँले निर्वाचनको क्रममा आफूहरूमाथि गरेको अपमानको जवाफ जनताले दिएको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘निर्वाचनको क्रममा हामीमाथि विभिन्न लाञ्छना लगाएका छन् । विभिन्न आरोप प्रत्यारोप लगाएका छन् । अपमान गरेका छन् । सार्वजनिक अभिव्यक्ति नै सुन्न नसक्नेछन् । व्यक्तिगत तहमै उत्रिएर गालीगलौज गरेका छन् । कतिपयल जवाफ दिनुस् भन्नुहुन्थ्यो । तर, मैले भन्ने गर्थें- यसको जवाफ मैले राख्नु पर्दैन चितवनवासीले राखेका छन् भनेर । आज सबैको जवाफ एकमुष्टरूपमा चितवनले स्वस्तिक छाप लगाएर दिएको छ ।’ निर्वाचनको क्रममा आफ्ना समर्थकबाट भएको गल्तीमा उहाँले माफी माग्नुभयो । उहाँले अब चितवनको विकासमा लाग्ने प्रण गर्नुभयो ।

जनताको भरोसालाई डगमग हुन दिने छैन : वाग्ले
तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका स्वर्णिम वाग्लेले आफूले पाएको मत देशकै मुहार फेर्नका लागि भएको बताउनुभएको छ । विजयी भएको प्रमाणपत्र बुझेपछि मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै वाग्लेले आफू र राष्ट्रिय स्वतन्त्र पार्टीप्रति गरेको विश्वासका लागि धन्यवाद दिनुभएको छ । ‘यहाँहरूले प्रति प्रकट गर्नुभएको र मतदान गर्नुभएको प्रत्येक मतको मूल्य, महत्त्व र मैले खेल्नु पर्ने भूमिका प्रति म अति नै सजग रहने छु र तपाईंहरूको भरोसालाई म कुनै पनि डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु,’ उनले लेखेका छन्, ‘यी मतहरू तपाईँहरूले मलाई भन्दा पनि तनहुँ क्षेत्र नं. १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गर्नु भएको होभन्ने आसयका साथ मैले बुझेको छु ।’ उहाँले अन्य पार्टीका नेतागण कार्यकर्ता र मतदाताहरूमा लोकतन्त्रको उच्चतम अभ्यासमा सहभागी भई जित–हारको प्रक्रियालाई स्वाभाविक रूपमा लिई आगामी दिन हातेमालो गर्दै अघि बढ्ने र तनहुँ हुँदै सम्पूर्ण मुलुककै अर्थतन्त्र उकास्न सहयोग हुने अपेक्षा लिँदै यस निर्वाचनका दौरान भएका सम्पूर्ण गतिविधिलाई सामान्य रूपमा लिन समेत अनुरोध गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?