दुर्गमको पीडा : बर्खामा पालिका केन्द्र पुग्नै सकस

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारदेखि वडा नम्बर ६ को नर्जाखानी गाउँमा पुग्न गाडीमा दुई घण्टा लाग्छ । चार वर्ष अगाडि मात्रै सडकले जोडिएको यस गाउँका धेरै बस्तीमा अहिले गाडी पुग्छन् । भौगोलिक विकटताका कारण पछाडि परेको नर्जाखानी जिल्लाकै सबैभन्दा टाढाको बस्ती हो । नर्जाखानी गाउँ पुग्न थुप्रै खोलानाला पार गर्नुपर्छ । हिउँदको समयमा यातायातका साधान नियमित संचालन भए पनि बर्खाको समय करिब चार महिना अवरुद्ध हुन्छन् ।

गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा सडकको ट्रयाक खोलेपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको छ । तर बाह्रै महिना यातायात संचालन नहुँदा समस्या भोग्नु परेको छ । गाउँमा पुग्न धेरै खोलाहरूमा मोटरेवल पुल निर्माण गर्नु पर्ने हुँदा बर्खाको चार महिना स्थानीयले सास्ती खेप्नु परेको छ । नर्खाखानी पुग्न घट्टबोटघाट, भिकोसघाट, खुङ्खानीघाट, खुङखानीबगर घाट र नर्जाबगर घाट गरि पाँच स्थानमा मोटरेल पुल निर्माण गर्नुपर्छ । तर अहिलेसम्म कुनै पनि ठाउँमा पुल बनेको छैन ।

वडा नम्बर ३ को तमान, लाम्मेला गाउँ हुँदै म्याग्दी पुग्न ढोमई घाट र शेर्माखोला घाटमा पुल निर्माण गर्नुपर्छ । यहाँ पनि अहिलेसम्म पुल बनेको छैन । वडा नम्बर २ को बोङ्खानी, मुठाचौर लगायतका गाउँसम्म पुग्न बेसीघाट र बोङ्खानीघाटमा मोटरेवल पुल आवश्यक पर्छ । तर अहिलेसम्म कुनै पनि ठाउँमा पुल बनेका छैनन् । विभिन्न खोलाहरूमा पुल नबन्दा स्थानीय बर्खाको समयमा यात्रा गर्न सक्दैनन् । सबै गाउँबाट पालिकाको केन्द्र आउन नौ वटा पुल बन्नु पर्छ । पुल नबन्दा असारदेखि असोजसम्म सेवाग्राहीलाई पालिकाबाट सेवा लिन समस्या भएको छ ।

बर्खाको समयमा सडक अवरुद्ध हुँदा हिउँदमै बजारबाट सामान ढुवानी गरेर भण्डारण गरि राख्नु पर्ने बाध्यता रहेको तमानखोला गाउँपालिका-६ का पूर्व अध्यक्ष कुलबहादुर छन्त्यालले बताउनुभयो । उहाँले यसरी हिउँदमै भण्डार गरेर सामान राख्दा कुहिने र समयावधी सकिएर खान नमिल्ने हुँदा नोक्सानी व्यहोर्नु परेको गुनासो पोख्नुभयो । छन्त्यालले पुल निर्माणमा माथिल्लो निकायले चासो नदिँदा सयौँ नागरिकले बर्खामा समस्या भोग्नु परेको बताउनुभयो । ‘भौगोलिक रुपमा त पछाडि परेका थियौँ, विकासका हिसाबले पनि पछाडि नै परेका छौँ, सडक निर्माण भएको वर्षौँ भयो तर अहिलेसम्म कुनै पनि खोलामा पुल बनेको छैन, त्यसको प्रत्यक्ष असर हामीलाई परेको छ,’ छन्त्याल भन्नुहुन्छ, ‘बर्खामा हिडेर पालिकाको केन्द्रमा पुग्न तीन घण्टा बढी लाग्छ, सामान बोकेर ल्याउन सकिने अवस्था पनि हुँदैन, गाडीहरू खोला ठूलो भयो भने बीचमै अलपत्रसमेत हुने गरेका छन्, अहिले पनि फेरि बर्खा लाग्न थाल्यो, समस्या उही छ ।’

सडकले गाउँलाई विकाससँग जोडेको भए पनि पुल नबन्दा अपुरो भएको स्थानीय जालप्रसाद छन्त्यालले बताउनुभयो । सडकले गाउँ नजोडिँदा स्थानीयले घोडा खच्चडमा ढुवानी गरेर सामान ओसारपसार गरेको भए पनि अहिले खच्चड पनि विस्थापित भएको उहाँको भनाइ छ । बर्खामा गाडी पनि नचल्ने र खच्चड पनि नपाइने हुँदा ग्रामीण क्षेत्रका नागरिक ठूलो समस्यामा पर्ने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘बर्खामा गाउँमा गाडी चल्दैनन्, कोही बिरामी प¥यो भने अस्पताल पुर्‍याउन निकै समस्या हुन्छ, बोकैरै लैजानु पर्ने अवस्था हुँदा समयमा अस्पताल पुर्‍याउन सकिदैन, त्यसले गर्दा बिरामीको ज्यान जाने खतरा पनि हुन्छ, खोलामा पुल बनेको भए गाउँपालिकामा सेवा लिन पुग्न र अप्ठ्यारो परेको समयमा गाडी मात्रै सम्बन्धित ठाउँमा पुग्न सकिन्थ्यो, भूगोल मिलेको छैन, खोलाहरू धेरै छन्, ठाउँ ठाउँमा पुल बनाउनु पर्छ ।’

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले तमानखोलाका गाउँ पुग्न धेरै भिर पहरा र खोलाहरू पार गर्नु पर्ने हुँदा नागरिकले समस्या भोग्नु परेको बताउनुभयो । उहाँले स्थानीय तहमा नेतृत्व लिएदेखि धेरै गाउँहरूमा सडक पु¥याए पनि पुल निर्माण गर्न नसकेको बताउनुभयो । यहाँका धेरै खोलाहरूमा करिब दर्जन पुल आवश्यक परेको भन्दै पालिकाको बजेटले नभ्याउने हुँदा पुल निर्माण गर्न नसकिएको बताउनुभयो । पुल निर्माणका लागि माथिल्लो निकायसँग माग गरिरहेको बताउनुभयो । ‘तमानखोलाको सबै वडामा पुग्न खोला पार गर्नुपर्छ, बर्खामा खोलामा पानीको बहाव निकै बढ्ने हुँदा यातायातका साधान वारपार गर्न सक्दैनन्, हामीहरूले सबै गाउँ र बस्तीहरूमा ढिलो चाँडो सडक त पु¥यायौँ, तर पुल बनाउन पालिकाको आर्थिक अवस्थाले नपुग्ने हुँदा निर्माण गर्न सकेका छैनौँ,’ अध्यक्ष बुढा मगरले भन्नुभयो, ‘पुल निर्माणका लागि केन्द्र र प्रदेश सरकारसँग बजेट माग गरिरहेका छौँ, सबै निकायसँग समन्वय गरि पुल बनाउने छौँ, एकै पटक नहोला तर पनि पुल बनाउनतर्फ लागि परेका छौँ ।’

पालिकाको केन्द्र बोङ्गादोभान स्थित बोङ्गाखोलामा भने अहिले पुल निर्माण भइरहेको छ । गत वर्षदेखि निर्माण हुन थालेको पुलको काम सुस्त गतिमा भइरहेको छ । यहाँको पुल समयमै सकिए सयौँ नागरिकलाई पालिका केन्द्रमा आउन जान सहज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?