कांग्रेसमा गुटगत प्रतिस्पर्धा

संस्थापन पक्ष जिल्ला-जिल्लामा सम्मेलन गर्दै, इतर समूह रूपान्तरण अभियानमा

अनिल क्षेत्री
अनिल क्षेत्री
Read Time = 14 mins

काठमाडौं । नेपाली कांग्रेसमा पछिल्लो समय गुटगत प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । उपनिर्वाचनमा एक सिट गुमाएको नेपाली कांग्रेसमा यतिबेला संगठन बलियो बनाउने नाममा गुट बलियो बनाउने प्रतिस्पर्धा चलेको हो । कांग्रेस केन्द्रले अहिले देशभरका वडादेखि जिल्ला सम्मेलन जारी राखेको छ । १४औँ महाधिवेशनपछि देशभर पहिलो सम्मेलन सुरु भएको हो । केन्द्रले वडा सम्मेलन नगर तथा गाउँपालिका सम्मेलन, प्रदेश क्षेत्र सम्मेलन, क्षेत्रीय सम्मेलन तथा जिल्ला सम्मेलन जेठ मसान्तसम्म सम्पन्न गर्न परिपत्र गरेको हो । विधानबमोजिम नै यो सम्मेलन देशभर सुरु भएको कांग्रेस प्रचारविभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो । नेपाली कांग्रेसमा पछिल्लो समय ‘रूपान्तरण’ को नारा व्यापक चलेको छ । गुट विस्तार र बलियो बनाउनकै लागि भए पनि कांग्रेसका नेता कार्यकर्ताहरू अहिले विभिन्न कार्यक्रमका साथ गाउँगाउँ पुगिरहेका छन् ।

नेताहरू जेठको गर्मीमा पनि कोही पूर्वतिर दौडिरहेका छन् भने कोही पश्चिम पुगेका छन् । नेतृत्वप्रतिको वितृष्णाको कारण कार्यकर्तामा निराशा आएको भन्दै इतर समूहको तेस्रो पुस्ताका नेताहरूले देशभर रूपान्तरण अभियान थालेको हो । कांग्रेस महामन्त्री गगन थापा पनि यतिबेला विभिन्न जिल्ला पुगिरहनु भएको छ । नेपाली कांग्रेसको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको लागि प्रशिक्षणका लागि आयोजित कार्यक्रममा सम्बोधन गर्न महामन्त्री थापा जिल्ला दौडाहमा निस्किनुभएको हो ।

नेपाली कांग्रेसमा पछिल्लो समय ‘रूपान्तरण’ को नारा व्यापक चलेको छ । गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार पराजित भएपछि महामन्त्री गगनकुमार थापाले वैशाख १३ गते सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै ‘कांग्रेस रूपान्तरणको स्पष्ट मार्गचित्र लिएर आउने’ बताउनुभयो । कांग्रेस महामन्त्रीले पटक–पटक सामाजिक सञ्जालमै यसो भनिरहँदा गगनले पार्टी फुटाउन सक्नेसम्मका आँकलन पनि सामाजिक सञ्जालमा देखिए भने केहीले कांग्रेस रूपान्तरणका लागि गगनले युवाहरूलाई साथमा लिएर विभाजन गर्दै अघि बढ्नुपर्ने सुझाए पनि दिए । पार्टी नेतृत्वलाई धारेहात लगाएर आफ्नो ‘राजनीतिक माइलेज’ लिइरहेका गगनले अहिले पनि विरोध गर्नुलाई स्वाभाविक भन्नेहरू पनि कांग्रेसभित्रै छन् ।

उपनिर्वाचनको परिणाम, सत्ता समीकरणमा लेनदेन र नक्कली भुटानी शरणार्थी प्रकरणले आन्तरिक शक्ति संघर्ष चुलिएको समयमा नेतृत्वमाथि प्रहार गरेर महामन्त्री थापा आफ्नो राजनीतिक खपत बढाउन पाएको मौकाको सदुपयोग गरिरहेको कतिपयको विश्लेषण छ । महामन्त्री थापाले सार्वजनिक मञ्चहरूबाटै सभापति देउवामाथिको प्रहार तीव्र बनाउनुभएको छ । १९ जेठमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले देउवाको अकर्मण्यताले भएका गल्तीको भार कांग्रेसले नबोक्ने उद्घोष गर्नुभयो । यति मात्र होइन महामन्त्री गगनकै ‘ब्याकअप’मा चुनाव हारेका तथा पद नपाएका केही युवाहरूले रूपान्तरणको नाममा देशव्यापी अभियान चलाइरहेका छन् । नेतृत्वप्रतिको वितृष्णाको कारण कार्यकर्तामा निराशा आएको आरोप लगाउँदै असन्तुष्ट नेताहरूको समूहले प्रदेशगत भेला गरिरहेको छ । पार्टीभित्रको तिव्र गुटगत प्रतिष्पर्धाका कारण नेताहरूबीच सार्वजनिक मञ्चमै घोचपेच र राष्ट्रिय विषयमा पनि फरक-फरक धारणा सार्वजनिक भइरहेका छन् ।

नेता र कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न देउवाको निर्देशन
कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिनुभएको छ । सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको समेत बताउनुभयो । शनिबार कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले भन्नुभयो, ‘अहिले गठ बन्धनको सरकार छ । गठबन्धनको सरकार भएको कारणले पनि हो, त्यसले गर्दाखेरी आज हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी बनेको छ । यहाँ केही कुराहरू उठेका छन् साथीहरू । उठाउनु पनि पर्छ । कुरा महŒवपूर्ण हुन् । तर, पार्टीमा समानुपातिक प्रतिनिधित्व प्रतिनिधिसभामा हुनका लागि संविधानको संशोधन आवश्यक छ । त्यसका लागि दुईतिहाइ बहुमत चाहिन्छ । त्यसका लागि सबै पार्टीहरूमा सहमति हुन जरुरी छ । यदि सहमति हुन सक्यो भने यी विचारहरू नहुने भन्ने होइन । तर, त्यसका लागि समय लाग्दछ । योग्य, जुझारु साथीहरूलाई हामीले अगाडि बढाउनुपर्छ । त्यसमा लाग्ने कुरा प्रतिबद्धता जनाउन चाहन्छु । हामी सबै एक भएर जाऊँ ।’ सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

सत्ता टिकाउन रेशम चौधरीलाई माफी दिइयो : कोइराला
नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता टिकाउनका लागि अदालतको आदेशविपरीत रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाउनुभएको छ । कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले अदालतको आदेशको मसी सुक्न नपाउँदै माफी दिने कुरा स्वाभाविक नभएको जिकिर गर्दै भन्नुभयो, ‘अहिले भर्खरै हेनुस्, तीन अदालत उच्च अदालत, जिल्ला अदालत, सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मसी सुक्न नपाउँदै माफी दिनुभयो । हामी जस्ताले त्यसलाई कसरी हेर्ने ? यी कुराहरू अत्यन्त गम्भीर हुन्छन् भोलिका दिनमा । सरकार टिकाउनका लागि यी कुराहरू गर्दाखरि लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ ।’ टीकापुर घटनामा संलग्न रहेको भन्दै सर्वोच्च अदालतले चौधरीलाई सजाय दिएको थियो । त्यसको केही दिनमै जेठ १५ मा गणतन्त्र दिवसको दिन सरकारको सिफारिसमा माफी दिएको थियो । नेता कोइरालाले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाउनुभयो । कांग्रेस कमजोर भएको हीन भावना लिएर नबस्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउँदै नेता कोइरालाले अतितबाट सिक्न सके कांग्रेस कमजोर हुने कुनै कारण नरहेको जिकिर गर्नुभयो ।

देउवा-शेखर नजिकिँदा गगनलाई गाह्रो
१४औँ महाधिवेशनमा लोकप्रिय मतसहित महामन्त्रीमा निर्वाचित महामन्त्री थापाको निरन्तर प्रहारपछि सभापति शेरबहादुर देउवाले नेतृत्वलाई गाली गरेर केही नहुने भन्दै एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभएको छ । कांग्रेसको विधानले पनि सभापति देउवा अब तेस्रो कार्यकालको लागि पार्टीको बागडोर सम्हाल्न पाउनुहुने छैन । त्यसकारण सार्वजनिक मञ्चबाटै देउवाले अब सभापति नलड्ने घोषणा गरिरहनु भएको छ । आफू सभापतिमा फेरि नलड्ने घोषणा गर्नुभएका देउवाले आगामी महाधिवेशनमा यसअघिका प्रतिस्पर्धी शेखर कोइरालालाई सहयोग गर्छन् भन्ने अनुमान कांग्रेसभित्र हुन थालेको छ । यसअघि संसदीय दलमा आफूलाई समर्थन गर्न बाध्य बनाएको भन्दै शेखर पनि देउवासँग नजिकिएका छन्, जसबाट सशंकित भएर महामन्त्री थापाले नेतृत्व परिवर्तनका लागि महाधिवेशन पर्खिन नसकिने बताउनुभएको छ । महामन्त्री थापाले आफू सभापति हुने हतार गरिरहँदा यसअघि ‘एकपटक यसैपटक’ नारा लगाएर सभापतिको उम्मेदवार बन्नुभएका शेखर कोइराला भने आफू जसरी पनि पार्टी सभापति हुने ध्याउन्नले देउवासँग नजिकिन थाल्नुभएको छ ।

यति मात्र नभएर पछिल्लो समय शेखरले देउवासँग मञ्च सेयर नै गर्न थाल्नुभएको छ । शुक्रबार चितवनमा एकै मञ्चमा देखापर्नुभएका देउवा र कोइराला शनिबार भक्तपुर जिल्ला सम्मेलनमा एकै मञ्चमा देखिनुभएको छ । १४ औँ महाधिवेशनमा एकअर्कासँग प्रतिस्पर्धा गरेर पछिल्लो समय नजिकिन थाल्नुभएका सभापति देउवा र नेता कोइरालाले सरकारमा मन्त्री पठाउँदा आ–आफ्नो समूहमा आफूखुसी गर्नुभएको थियो । यसमा आफ्नो सल्लाह नमानेको भन्दै शेखर र गगनबीच पनि खटपट परेको थियो । यसरी आफूलाई रोक्नका लागि आफ्नै समूहका नेता आफूले विरोध गरिरहेको पार्टी सभापतिसँग मिल्न थालेपछि गगनलाई शेर-शेखरको मिलन तगारो भएको महसुस मात्र भएको छैन, हतोत्साही भएर आक्रमण तीव्र पारेको पनि विश्लेषणहरू हुन थालेको छ ।

त्यसो त सभापति देउवा प्रधानमन्त्रीबाट बाहिरिएसँगै धुम्बाराहीमा शेखरसँगको संवाद र सहकार्य गहन बन्दै गएको थियो । गत मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणदेखि दुई नेताबीचको भेटवार्ताले सम्बन्ध थप सुमधुर बन्दै गएको कांग्रेस वृत्तमा चर्चा छ । महाधिवेशन सम्पन्न भएको झण्डै एक वर्षसम्म प्रतिस्पर्धी नेता कोइरालालाई पार्टीको आन्तरिक छलफलमा बेवास्ता गर्नुभएका सभापति देउवाले पछिल्लो समय पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पनि आमन्त्रण गर्दै आउनुभएको छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा पनि शेखरले सभापति देउवाकै चाहनाअनुसार सहमति जनाउनुभएको थियो । यद्यपि, समूहबाट महामन्त्रीमा निर्वाचित थापा र केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले फरक मत दर्ज गराउँदा पनि शेखरले भने बेवास्ता गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?