अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य

तस्वीर : क्यान

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आईसीसी विश्वकप छनोटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिका लगातार विकेट गुमाए पनि मध्यक्रमका व्याट्समेन सम्हालिएर खेल्दा सम्मानजनक स्कोर बनाउन सक्यो । ४९ ओभरमा सबै विकेट गुमाएर अमेरिकाले २०७ रन बनायो । उसका सयन जंहागीर १०० रनमा अविजित रहे । सातौं नम्बरमा क्रिजमा आएका जंहागीरले ७९ बलमा १० चौका र ३ छक्काको मद्दतमा शतक पुरा गरेका थिए । ओपनर सुशान्त मोदानीले ७१ बल खेल्दै ४२ रन जोडे । गजानन्द सिंहले २६ रन र जेसी सिंहले १२ रन जोडे ।

नेपालको बलिङमा करण केसीले ९ ओभरमा ३ मेडन राख्दै सर्वाधिक ४ विकेट लिए । गुलशन झाले १० ओभरमा ५२ रन खर्चिएर तीन विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए ।

जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो । पहिलो खेलमा अमेरिका वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो । नेपाल र अमेरिकाबीच हालसम्म भएका छ एकदिवसीय खेलमा नेपालले तीन र अमेरिका दुई खेलमा विजयी भएका थिए भने एउटा खेल बराबरी भएको थियो ।

एकदिवसीय विश्वकप छनोटमा नेपालसहित विश्वका १० राष्ट्रको सहभागिता छ । समूह ‘ए’मा नेपालसहित जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् भने समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, ओमान, संयुक्त अरब इमिरेट्स (युएई) र स्कटल्यान्ड छन् ।

सहभागी दुई समूहको लिग खेलपछि सुपर सिक्स हुनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टोलीले स्थान बनाउनेछन् । सुपर सिक्सबाट शीर्ष दुई स्थानभित्र रहने टोलीले फाइनल खेल्दै आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसी विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?