रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको जित

Read Time = 3 mins

लिस्वेन । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगलले जित हात पारेको छ । युरोकप २०२४ को छनोटमा रोनाल्डोले २००औँ खेलमा कीर्तिमानी १२३औँ गोल गरेको खेलमा पोर्चुगलले आइसल्याण्डमाथि १-० को जित हात पारेको हो । खेलको अन्त्यतिर रोनाल्डोले गोल गर्दै पोर्चुगललाई जित दिलाउनुभएको थियो । खेलको ८९औँ मिनेटमा ३८ वर्षीय रोनाल्डोले गोन्कालो इनासियोको हेडर पासमा गोल गर्नुभएको हो ।

यससँगै रोनाल्डो २०० अन्तर्राष्ट्रिय क्याप जित्ने पहिलो पुरुष खेलाडी बन्नुभयो । यो रोनाल्डोको कीर्तिमानी १२३औँ अन्तर्राष्ट्रिय गोल हो । उहाँ राष्ट्रिय टोलीबाट पुरुषतर्फ सर्वाधिक गोल गर्ने सूचीमा पनि शीर्षस्थानमा हुनुहुन्छ । रोनाल्डोको यो कीर्तिमानी खेलअघि गिनिज वल्र्ड रेकर्ड्सले रोनाल्डोलाई प्रमाणपत्र प्रदान गरेको थियो ।

यस जितले समूह ‘जे’ मा शीर्षस्थानमा रहेको पोर्चुगलको चार खेलबाट १२ अंक पुगेको छ । पराजित आइसल्याण्ड तीन अंक जोडेर पाँचौँ स्थानमा छ । यही समूहको अर्काे खेलमा लक्जेमवर्गले बोस्निया एण्ड हर्ज गोभिनालाई २-० ले तथा स्लोभाकियाले लिचेस्टाइनलाई १-० ले पराजित गरेको छ ।

यता, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्बियाले जर्मनीमाथि २-० को जित हात पारेको छ । कोलम्बियाको जितमा लुइस डियाज र जुआन कोर्डाडोले एक/एक गोल गर्नुभयो । खेलको ५४औँ मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई १-० को अग्रता दिलाउनुभयो ।
त्यसपछि ८१औँ मिनेटमा कोर्डाडोले पेनाल्टीमा गोल गर्दै कोलम्बियाको जित पक्का गर्नुभयो । यस जितसँगै कोलम्बिया पछिल्लो ११ खेलसम्म अपराजित रहन सफल भएको छ । यता, जर्मनी भने पछिल्लो चार खेलसम्म जितविहीन बनेको छ । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?