एक दिनको कार्यक्रम गरी दुई दिनको भत्ता

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 4 mins

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले एक दिने नगर सभामा कार्यक्रममा सहभागीहरुलाई दुई दिनका हस्ताक्षर गरी भत्ता खुवाएको पाइएको छ ।

गत बिहीवार नगरपालिकाले गरेको नगर सभामा बिहीवार र शुक्रवार फरक–फरक उपस्थिति गराई दुई दिनको भत्ता खुवाएको हो । नीलकण्ठ नगरपालिकाले एक दिनको कार्यक्रम गरी २ सय ५० जना सहभागीहरुलाई दुई दिनको हस्ताक्षर गराएर भत्ता खुवाएको छ ।

यस विषयमा नगरपालिकाले कार्यक्रम नै नभएको दिनको हस्ताक्षर गराई नगरी किन भत्ता खुवाएको भनी नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सुवेदीलाई सोध्दा यस विषयमा केही बोल्न मान्नुभएन।

धादिङकाको  नीलकण्ठ नगरपालिकाकाे मेयरमा भीमप्रसाद ढुङ्गाना र उपमेयरमा दीपक विश्वकर्मा हुनुहुन्छ ।

नीलकण्ठ नगरपालिका वडा २ का वडा अध्यक्ष धोजबहादुर गुरुङले नगरसभा एकै दिनमा सकेर हरेक वर्ष दुई दिनको उपस्थिति देखाएर भत्ता लिने प्रचलन रहेको स्वीकार गर्नुभयो ।

उहाँ भन्नुहुन्छ “ यस्तो प्रवृति यो वर्ष मात्र होइन, पहिले पनि नगरपालिकाको नगर सभामा यस्तै गर्ने गरेको छ । यो के को लागि हो हामीले बुज्न पाएका छैन, भत्ता दिएको छ मैले लिएको छु । ” यस्तै नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले भने नगरपालिकाको यस्तो निर्णय देखेपछि एक दिनको मात्र भत्ता लिएको बताउनु भयो । उहाँले आफु सरिक नभएको कार्यक्रमको भत्ता नलिएको बताउनु भयो । वडा १२ का वडा अध्यक्ष धर्मराज भण्डारीले आफू बैठकमा गएका बेला सम्पन्न नगर सभामा फरक–फरक निर्णय पुस्तिकामा हस्ताक्षर गर्न लगाए पनि केमा हस्ताक्षर गरियो भन्ने थाहा नभएको बताउनु भयो । हरेक बैठकमा पहिले नै उपस्थितिमा हस्ताक्षर गरेर पछि निर्णय लेख्नेगरेकाले नगर सभाको निर्णय पुस्तिकामा नपढी हस्ताक्षर गरेको उहाँको भनाई छ ।

यस विषयमा नगर प्रमुख भीमप्रसाद ढुंगानाले हिमालय टाइम्ससँगको फोन सम्पर्कमा भने कार्यक्रम एकै दिनको भएपनि साँझसम्म कार्यक्रम भएकाले सहभागी प्रतिनिधिलाई यातायात खर्च स्वरुप त्यसो हुन गएको बताउनु भयो । टाठाबाट आएका प्रतिनिधि फर्कने समय अपुग रहनसक्ने भएकाले बास बस्ने खर्च र फर्किन चाहनेलाई यातायात खर्च महंगो पर्न जाने भएका कारण व्यवहारत: यसो गरिएको उहाँको भनाइ छ । साथै कोही कसैले एकदिनको भत्ता फिर्ता गरेको भन्ने सुन्नमा आएपनि हालसम्म कसैले पनि भत्ता फिर्ता नगरेको उहाँले बताउनु भयो ।

जनप्रतिनिधि यसमा पनि वडा अध्यक्षहरुले नपढी हस्ताक्षर गर्नु र नगरपालिकाले एक दिनको कार्यक्रममा दुई दिनको हस्ताक्षर गरी भत्ता दिएको विषयमा भ्रष्टाचार भएको जनगुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?