फार्मेसीहरूको नियमन आवश्यक

हिमालय टाइम्स
Read Time = 7 mins

हुन त हाम्रो देशमा पनि फर्मेसीको छुट्टै अध्ययन/अध्यापन हुन्छ तर सामान्यतया फार्मेसीहरू शहरका विभिन्न सडक किनाराका सटरकबलहरूमा जसले पनि चलाइरहेका हुन्छन् भन्ने मान्यता राखिन्छ, देखिएको पनि त्यस्तै छ । सँगैको किनारा पसल र औषधि पसलमा अन्तर देखिँदैन । दुवै पसलमा बस्नेहरू साहुजी कहलिन्छन् । तराई-मधेसतिर त झोलामा औषधि बोकेर हाट बजार तथा सार्वजनिक चौताराहरूमा बसेर बिरामी जाँच्ने, औषधि दिने र सानोतिनो चिरफार पनि गर्ने गर्दछन् । धेरैजसो भारतको विहारतिरबाट आएका त्यस्ता व्यक्तिले सम्बन्धित विषयको अध्ययन गरेका हुन्छन् कि हुँँदैनन् वा तिनीहरूसँग औषधोपचार अनुमतिपत्र हुन्छ कि हुँदैन भन्नेतर्फ सोचिँदैन । सर्वसाधारणले त्यस्ता मानिससँग आफ्नो बिरामका बारेमा परामर्श लिइरहेका हुन्छन् ।

चिकित्सक, नर्स, स्वास्थ्यसहायक, फार्मेसी, डेण्टललगायत औषधिविज्ञानसँग सम्बन्धित विभिन्न उपविधाको अध्ययन हुने गरेको छ । फार्मेसीको र क्लिनिकमा बस्नेहरूको भूमिका डाक्टरको भन्दा महत्वपूर्ण हुन्छ । डाक्टरले बिरामी जाँचेर रोग वा बिरामीपनको पहिचान गर्ने हो र त्यसअनुसारको औषधि सिफारिश गर्ने हो । औषधि चिनेर, डाक्टरले लेखेअनुसार सही औषधि दिने काम फार्मेसीमा बस्ने व्यक्तिले गर्ने हो । फार्मेसी मानव स्वास्थ्यसँग जोडिएका हुन्छन् । एकजनाले फार्मेसी पढेको र उसैले आफ्ना नामबाट लिएको प्रमाणपत्र तथा अनुमतिपत्र राखेर अर्को कुनै गृहिणी वा उसका परिवारका मानिस र आफन्तले औषधि बेच्ने काम गरिरहेका हुन्छन् र यसो गर्नाले औषधि नचिनेर एउटाका ठाउँमा अर्को औषधि पर्न सक्छ । यसो भयो भने त्यसको परिणाम कस्तो होला ? त्यो सोचनीय विषय हो ।

औषधिको सही पहिचान गरेर दिनसक्ने मानिस फार्मेसीमा हुनुपर्छ तर व्यवहारमा त्यस्तो नहुन पनि सक्छ । फार्मेसीमा बस्नेले आफ्नो औषधि बिक्नु र राम्रो व्यापार हुनुसँग मात्रै सरोकार राख्नु हुँदैन, नागरिकको स्वास्थ्यसँग सरोकार राख्नुपर्छ । अझै हाम्रो सन्दर्भमा त डाक्टरको सिफारिशविना औषधि दिन नमिल्ने भनिए तापनि ज्वरो आएको, टाउको दुखेकोलगायत सामान्य औषधि नजँचाई लिने चलन छ । फार्मेसीमा बस्नेहरूले पनि यस्ता औषधि डाक्टरको सिफारिशविनै दिने गरेका छन् । कतिपय बिरामी त बिरामी हुँदा आफैं औषधिको नाम लिएर किन्ने गर्छन् । सुगर, प्रेसरको औषधि लिने बेलामा जँचाइरहनु आवश्यक ठानिँदैन । जतिबेला सकिन्छ फेरि थप्ने गरिन्छ । यसो गर्दा गललत औषधि पर्‍यो भने त्यसको परिणाम गलत पनि आउन सक्छ ।

औषधि फेरबदल गर्नुपर्ने पनि हुनसक्छ, त्यसतर्फ बिरामी तथा औषधि बिक्रेता दुवैले सोच्ने गरेका छैनन् । यसतर्फ सचेत हुनैपर्छ र फार्मेसीलाई व्यवस्थित गर्नुपर्छ । फार्मेसीमा बस्ने मानिस औषधि व्यापारीमात्रै होइन ऊ स्वास्थ्यकर्मी पनि हो, त्यसैले सोहीबमोजिमको योग्यता भएको मानिस फार्मेसीमा बस्नुपर्छ । त्यहीकारणले त फार्मेसीको छुट्टै पढाइ हुने गरेको हो । तर पढाइ छुट्टै भएर पनि व्यवहारमा पढेको र नपढेको मानिस समान जस्तो भएर फार्मेसी चलाइरहेका हुन्छन् । यो नै हाम्रो कमजोरी हो । अझै भन्ने हो भने कमजोरीमात्रै नभएर यो एउटा गलत अभ्यासका रूपमा विकसित हुँदै आएको संस्कार हो । यसलाई सुधार्न सक्नैपर्छ ।

यस्तै क्लिनिकमा बस्नेहरू पनि योग्य हुनुपर्छ । क्लिनिकमा त चिकित्सक नै हुनुपर्छ । औषधिविज्ञान पढेको मानिसले क्लिनिक चलाउने हो तर ऊ आफ्ना नाममा क्लिनिक दर्ता गरेर वैधानिकता पूरा गर्ने र आफू जागिर खान जाने अनि बिहान बेलुकामात्रै छोटो समय आपूmले हेर्ने बाँकी समय घरपरिवारलाई जिम्मा दिने गर्नाले क्लिनिक व्यवस्थित हुन सकेका छैनन् । यो कुनै एक ठाउँको मात्रै समस्या होइन सबैतिर यस्तै हुने गरेको छ । आफ्नोमा आएको बिरामीलाई सकेसम्म किन अन्त पठाउने आफैंले उपचार गरिदिने हो भने उसले खर्च गर्ने पैसा आफ्नो हुन्छ भन्ने लोभले गरेर त्यहाँ उपचार हुन नसक्ने रोगको उपचार गर्ने प्रयास गर्दा बिरामीको ज्यान गएका उदाहरण धेरै नै छन् ।

त्यसकारण क्लिनिक व्यवस्थित हुनु आवश्यक छ । त्यस्ता ठाउँमा अवैध काम हुनुहुँँदैन । गर्भपतनलगायत प्रयास गरिँदा महिलाले ज्यान गुमाउनु परेको धेरै घटना बाहिर आउने गरेका छन् । त्यस कारण क्लिनिकमा अवैध र असाध्य उपचारको प्रयास गरिनु हुँदैन । एउटा क्षेत्रको योग्ता भएको मानिसले अर्को क्षेत्रको काम गर्नु हुँँदैन । त्यसलाई वैधानिक मानिँदैन । यो कुनै एक ठाउँको मात्र समस्या होइन । सरकराले यस्ता फार्मेसी तथा क्लिनिकलाई एउटा निश्चित मापदण्ड बनाएर नियमन गर्नु आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?