डा.केसीको अनसन शृंखला

हिमालय टाइम्स
Read Time = 7 mins

डा.गोविन्द केसी सत्याग्रहको पर्यायवाची नाम बनिसकेको छ । उहाँले बेला-बेलामा सत्याग्रह गरेर नेपालको चिकित्सा क्षेत्रमा सुधारको प्रयास गर्दै आउनुभएको छ । वरिष्ठ चिकित्सक डा.केसीको जीवन सादगी खालको छ । यस क्षेत्रको सुधारको उहाँको माग केही अपवादलाई छाडेर स्वार्थकेन्द्रित माग होइन । सामूहिक हितका लागि उहाँले अनसन वा सत्याग्रहको बाटो अवलम्बन गर्दै आउनुभएको छ । उहाँको यो प्रयास चिकित्सा क्षेत्रमा सुधार गर्न हो । यसका लागि उहाँले दुई दर्जन पटक जति अनसन बसिसक्नु भएको छ । हुन त नेपालका सबैजसो क्षेत्रमा बेथिति नै बेथिति व्याप्त छन् । स्वास्थ्य र शिक्षा क्षेत्र यसको अपवाद हुने कुरै भएन ।

जनसंख्या बढेकै छ तर विद्यालय तहको अन्तिम परीक्षा दिने विद्यार्थीहरू अहिलेको दश-बाह्र वर्षअघिकै जति संख्यामा छन् । उच्च शिक्षाको त अवस्था झन् फरक छ । निजी क्षेत्रमा खुलेका अनगन्ती शिक्षण संस्था र विद्यालयमा आधारभूत शिक्षा हासिल गरेपछि विदेश जानका लागि तयार बन्ने प्रवृत्तिले गर्दा सरकारी क्याम्पसहरूमा विद्यार्थीको संख्या घट्दै गएको छ । त्रिभुवन विश्वविद्यालयका कतिपय विभाग विद्यार्थी शून्य अवस्थामा छन् । ती विभाग बन्द भनेर घोषणा नगरिए पनि बन्द जस्तै छन् । सरकारले प्रमाणपत्र तह विस्थापन गरेर निजी शैक्षिक संस्थालाई प्रोत्साहनको अवसर दिएको छ । तैपनि अनगन्ती विसंगति वर्तमानमा शिक्षा क्षेत्रले सामना गर्दै आइरहेको छ । नेपालमा राम्रा र सम्मानित मानिएका डाक्टर, इन्जिनियरलगायतको शिक्षा आरक्षणबाहेक अब गरिबहरूले लिन सक्ने अवस्था छैन । आरक्षण प्रथाले विपन्नको पक्ष लिएको छैन । जातीय पक्षधरताका कारण गरिब नै मारमा परिरहेको अवस्था छ ।

योग्यता क्षमता र जेहनदारपन हेरिँदैन । पैसा जसले खर्च गर्न सक्छ त्यसैले मात्र यस्तो शैक्षिक योग्यता हासिल गर्न सक्छ । अथवा आरक्षणका आधारमा प्रमाण पत्रको संभावना रहन्छ । त्यसकारण गरिबहरू डाक्टर इन्जिनियर बन्न सक्ने अवस्थाको विद्यमानता छैन । हो अघि भनिए जस्तो गरी केही क्षेत्रलाई जातजाति, क्षेत्र र लिंगका आधारमा आरक्षण दिइएको छ । तिनीहरूले त्यस्तो मौका पाउने गरेका छन् तर त्यो मौका सबैका लागि होइन । बरू आरक्षणले योग्य व्यक्तिलाई पलायन बन्न बाध्य पारिरहेको छ । ४० प्रतिशत अंक ल्याएको मानिसका सामु ९५ प्रतिशत अंक ल्याएको व्यक्ति फालिनु परेपछि उसमा पैदा हुने निराशाले विदेश पलायन हुने बाटो खोज्न थाल्छ ।

अर्कातिर मेडिकल कलेजहरूको सम्बन्धन दिँदा, प्रवेश परीक्षा गराउँदालगायत काममा व्यापक रूपमा विसंगत कार्य हुने गरेका छन् । योग्यता र क्षमता भएका गरिबका छोराछोरीले पनि मेडिकल कलेजमा भर्ना भएर अध्ययन गर्न पाऊन्, पैसा नभएकै कारण तिनीहरू चिकित्सा विज्ञान पढ्नबाट वञ्चित बन्नु नपरोस् भन्ने माग राखेर डा.केसीले पटक-पटक आमरण अनसन गर्नुभएको छ । पैसा भएकै कारण धनीले मात्र चिकित्सा शिक्षा लिन नपाऊन् भन्ने पनि उहाँको माग हो । शिक्षा भनेको सबैका लागि समान हुनुपर्छ, यो भेदभाव गर्ने विषय होइन । स्वदेशमा चिकित्सा शिक्षाको अध्ययन सहज नभएर धेरै विद्यार्थीहरू विदेश गइरहेका छन् ।

उनीहरूसँगै नेपालको पैसा बाहिरिँदै गएको छ । त्यस कारण नेपालमै चिकित्सा शिक्षालाई सर्वसुलभ बनाउनुपर्छ भन्ने उहाँको माग हो । सुविधासम्पन्न शहरी क्षेत्रमा मात्र मेडिकल कलेज खोल्न दिनुको सट्टा दुर्गाम क्षेत्रमा समेत मोडिकल कलेज सञ्चालन गरिनुपर्छ भन्ने माग गर्दै आउनुभएको छ डा.केसीले । उहाँ सत्याग्रहमा जतिपटक बस्नुहुन्छ त्यति नै पटक सरकारले उहाँका माग पूरा गरिदिएको जस्तो गर्छ र सरकारको विभागीय मन्त्री वा सरकारको प्रतिनिधित्व गर्दै सरकारले तोकेको मानिस गएर उहाँलाई जुस खुवाएर उहाँको अनसन टुंग्याइन्छ तर फेरि त्यसको कार्यान्वयन हुँदैन र समस्या जस्ताको जस्तै रहन्छन् । हालसम्म यसै हुँदै आएको छ ।

डा.केसीले कुनै-कुनै पटक उपत्यका बाहिरका दुर्गम ठाउँमा रहेर पनि सत्याग्रह गर्नुभएको छ र सरकारले जबरजस्ती उहाँलाई उठाएर हेलिकोप्टरमा राखेर राजधानी ल्याई उपचार गरेको उदाहरण छन् । नेपालको चिकित्सा क्षेत्र माफियाहरूको अधिनमा छ भन्ने तर्क उहाँको निकै पुरानो हो । विगतमा सरकारका विभागीय मन्त्रीहरू नै माफियासँग मिलेका र तिनले त्यस्ता माफियाहरूलाई साथ दिइरहेका थिए भन्ने केसीको भनाइ छ । डा.केसीले आजैदेखि होइन आगामी २९ गतेदेखि मात्र अनसनमा बस्ने भन्नुभएको छ । सकेसम्म उहाँले अनसनमा बस्नु नै नपरोस् । उहाँले अनसन सुरु गर्नु नै भयो भने यस पहिलेका यति धेरै करिब दुई दर्जन पटकका अनसनमा सम्झौता गर्दै कार्यान्वयन नगर्दै गरिएको अवस्थाको पुनरावृत्ति नहोस् । उहाँको यो अनसन नै अब अन्तिम होस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?