वर्षाको वितण्डा र परिणाम

हिमालय टाइम्स
Read Time = 6 mins

सामान्यतया प्रकृति मानिसको नियन्त्रणमा हुँदैन तर यसको प्रभावलाई कसरी कम गर्न र यसबाट आफू कसरी सुरक्षित रहन सकिन्छ भनेर चाहिँ मानिसले विभिन्न उपाय अवलम्बन गर्न सक्छ । गत मंगलबार बिहानीपख काठमाडौं उपत्यकामा भारी वर्षा भयो । जुन मात्रामा वर्ष भयो त्यस अनुपातमा क्षति कमै भएको छ । यसको कारण यो ठाउँ अन्यत्रभन्दा बढी नै सुरक्षित भएर हो । उपत्यकाका वरिपरिका काँठतिर पहाडलाई आड बनाएर बसेका बस्तीहरू पनि धेरै छन् । ती बस्तीहरूमा पहिराको जोखिम हुने गरेको छ तर हालसम्म जति नै ठूलो वर्षा भए पनि त्यस्ता अप्रिय समाचार धेरै आएका छैनन् ।

उपत्यकाको वरिपरि बगुवा माटो छैन चिम्टिया माटो र गेगरको समिश्रण भएका कारण त्यति धेरै पहिरो जाने नगरेता पनि कहिलेकाहीँ पहिरो गएर केही मानवीय तथा भौतिक क्षति भएका घटना पाइन्छन् । यहाँ नदीहरू पनि धेरै छन् । बागमती, विष्णुमती, मनहरा, रुद्रमती, कर्मनासा, हनुमन्तेलगायत ठूला नदी तथा अन्य साना खोलाखोल्साहरू पनि धेरै छन् । साना भए पनि पानी परेका बेला यहाँको जमिनमा पानी सोसिन नपाएका कारण पानी जति सबै यिनै खोला खोल्सामा डोलिनाले मान्छे बगाउने सम्भावना हुन्छ । हनुमन्ते पटक–पटक बस्तीमा पसिरहन्छ र भक्तपुरका केही ठाउँहरू डुबानमा पर्ने गरेका छन् । यस वर्ष पनि यस्तै भइरहेको छ ।

बाटाहरू बगर जस्ता बने, सडकहरू हिलाम्य बन्न पुगे, सडक, घर, विद्यालयहरू पानीले भरिए । शहर अस्तव्यस्त बन्न पुग्यो । उपत्यकाका शहरहरू अव्यवस्थित भएका कारणले यस्तो भएको हो भन्ने सबैलाई थाहा छ । यसका लागि प्रकृतिमात्र दोषी छैन । हामी नागरिक र हाम्रो सरकार पनि दोषी छ । बस्तीहरू विनायोजना बसालिएका छन्, व्यवस्थित रूपमा बसाएका बस्तीमा पानी, ढललगायतको उचित व्यवस्थापन गरिएको हुन्छ । प्रकृति विनाशकारी हुन्छ, त्यसलाई रोक्न सकिँदैन तर विनाश कम गर्न सकिने भएका हुनाले संरचना निर्माण गर्दैदेखि त्यसतर्फ ध्यान दिनुपर्छ । पानीको निकासको व्यवस्था गरिनुपर्छ पानी बग्न पाएन भने त्यसबाट डुबानको समस्या पैदा हुनु स्वाभाविक हो ।

जताततै जोखिमै जोखिम देखिने गरेको छ । वर्षाद्ले मात्र होइन अन्न यस्ता धेरै कारण छन् जसका कारणबाट समेत अनेकौं समस्या सिर्जना हुन पुग्ने गरेका छन् । त्यस्ता जोखिमबाट बच्ने खालका योजनाहरू हामीसँग हुनुपर्छ । अस्तिको पानी उपत्यका बाहिर पनि परेको थियो, क्षति पनि भयो, केही मानिसको ज्यान गएको छ तर वर्षाद् भएका तुलनामा उक्त क्षतिलाई कम नै मान्नुपर्ने हुन्छ । सावधानीले गर्दा पनि हुनसक्छ । काठमाडौं उपत्यका सुरक्षित र सम्म परेको ठाउँ छ । त्यसकारण यहाँको बसाइ अन्यत्रभन्दा सुरक्षित छ । त्यसैले यहाँ शहर अस्तव्यस्त भए पनि मानवीय क्षति भएन ।

यहाँका अधिकांश संरचना पक्की भएका कारणले हावाहुरी वा पानी-झरीले यहाँ त्यति धेरै असर गर्न सक्दैन । मंगलबारको झरीले पनि यही कारणले यहाँ ठूलो र अप्रिय क्षति भएन । प्राकृतिक विपद्बाट भएको क्षतिका लागि कसैलाई दोषी मान्न सकिँदैन तर धराप भएर रहेका संरचना नहटाए वा सावधानीका कार्यहरू नगरेको खण्डमा भने सम्बन्धित निकाय दोषी ठहरिन्छ । विपद् व्यवस्थापनका लागि पूर्वतयारी गर्न प्रधानमन्त्रीको निर्देशन भइसकेको छ । यस्ता कामका लागि स्थापना भएका निकाय र जिम्मेवारी पाएका व्यक्तिहरूले निर्देशन पर्खिरहनुपर्ने होइन तैपनि निर्देशन पाएपछि त्यस्ता कार्यमा सचेतता, सावधान, सक्रियता र तदारुकता देखाउनु अत्यन्त आवश्यक छ । विपद् व्यवस्थापनमा सबैको सक्रियता रहनु र चनाखो हुनु आवश्यक छ ।

सरकारले उद्धार र आवश्यकता अनुसार राहत वितरणमा तदारुकता अपनाउनुपर्छ । हालैको वर्षाद्बाट मानवीय क्षति कम भए पनि भौतिक क्षति प्रसस्त मात्रामा भएको छ । मानवीय क्षतिलाई मात्र क्षति मान्ने र भौतिक क्षतिलाई चाहिँ क्षति नमान्ने मानसिकता त्याग्नु जरुरी छ । मानिसलाई केही नभएको तर बस्ने घर भत्केको वा खेती गरेर खाने बारीको गरो चाहिँ खोलाले बगाएको वा पहिरोमा परेको रहेछ भने त्यो पनि उसका लागि गम्भीर समस्या नै हो । अझै बर्खाको समय धेरै बाँकी छ । बाँकी समयमा यस्ता भारी वर्षा हुनसक्ने सम्भावनातर्फ पनि सचेत रहनुपर्छ र सरकारले त्यसका लागि विपद् व्यवस्थापन तयारीका कामहरू गर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?