हाम्रो देश नेपाल बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक मुलुक हो भन्ने गरिएको छ । यो कुरा तथ्यका आधारमा हेर्ने हो भने सही हो । सिद्धान्ततः यसलाई सबैले स्वीकार गरेका पनि छन् । जात, धर्म, वर्ग, समुदाय, भाषा, संस्कृति जे भनौं यिनका आधारमा झगडा भएका पनि छैनन् । परम्परागत रूपमा यिनका आधारमा झैझगडा नहुने मुलुक हो नेपाल । पछिल्लो पटकको प्रजातन्त्रपछि मानिसले प्रजातन्त्रको मर्म थाहा नपाएका कारण यसको दुरुपयोग बढेर जान थालेको छ । सबै कुरामा राजनीतिको प्रभाव पर्न थालेपछि भने यस्ता कुराहरू पनि बिटुला बन्न थालेका छन् । दुई व्यक्तिले झगडा गर्दा एकले अर्को व्यक्तिलाई लाञ्छित गरेर बोलेका कुरालाई राजनीतिक रंग दिन थालिएको छ । त्यसलाई राष्ट्रियकरण गरिन्छ ।
यस्ता केही कारणले गर्दा तराई मधेसतिर फाट्टफुट्ट धार्मिक विवाद सिर्जना भएका छन् र एक-दुई पटक ठूलै कलह सिर्जना हुन पुगेको छ । हालै धरानमा खुलेआम गोरु काटेर खाएको कुराले ठूलै विवाद सिर्जना भयो तर त्यो अहिले मत्थर भएको छ । धर्म, संस्कृति, भाषाजस्ता कुरा क्रमशः विकसित हुँदै जाने कुरा हुन्, यी लादिने र बनाइने कुरा होइनन् । यी कुराहरू समय सन्दर्भ अनुसार परिवर्तन पनि हुँदै जान्छन् । कठोर र अपरिवर्तनीय बनेर रहन सक्दैनन् । त्यसैले हाम्रा संस्कार, संस्कृति र पर्वहरू हिजोभन्दा आज धेरै परिवर्तन भइसकेका छन् । यिनको शैली परिवर्तन भएको छ ।
धर्म भनेको पनि सामान्यतया रुढ परम्परा नै हो र सजिलै परिवर्तन हुँदैन तर यसको पनि शैली भने परिवर्तन हुनसक्छ । समाजमा पहिलो पुस्ताबाट अर्को पुस्तामा स्थानान्तरण हुँदै जान्छ तर केही वर्ष पहिलेदेखि पश्चिमा मिसनरीहरूबाट हाम्रो सनातन धर्म परिवर्तन गराएर क्रिस्चियन धर्म फैलाउने क्रम तीव्रताका साथ अभियानकै रूपमा अगाडि बढाइएकाले त्यसका केही दुष्परिणाम देखापरिरहेका छन् । भाषा, धर्म र संस्कृति मानिसका ठूला सम्पत्ति हुन् र तिनलाई बेकम्मा बनाइदिने हो भने मानिस आफ्नो अस्तित्व गुमाएर बेकम्मा बन्न पुग्छ । धनी र ठूला शक्तिशाली मुलुकहरूबाट गरिब र साना राष्ट्रमाथि यस्ता कुरामा लोभलालच देखाएर वा आफ्नो प्रभाव कायम गरेर आफ्ना संस्कार, संस्कृति, धर्म र भाषा लाद्ने प्रयास हुन्छ । हाम्रो देशमा पनि यस्ता प्रयास हुँदै आएका छन् ।
हाम्रो भाषामा पनि यस्तो प्रयास भइरहेको छ । हाम्रा नापतौलका एकाइहरू, जग्गाजमिनका नापहरू, बहुमूल्य धातुहरूको मापन क्रमशः हराएर गएका छन् । एक रूपताका नाममा हाम्रा मौलिकतामाथिको अतिक्रमणपछि भाषिक अतिक्रमणको चपेटामा पनि हामी पर्दै आएका छौं । यसका लागि कहिले गाडीको एम्बोस्ड नम्बरका नाममा त कहिले शब्दकोशमा समावेश शब्दलाई लिएर अनेकौं विवाद हुने गरेका छन् । नेपालीमै राखिएको नम्बरबाट पनि नेपाली जनजीवन चलिरहेकै अवस्थामा विदेशीहरूले पनि पढ्न सक्ने भनेर एम्बोस्ड नम्बर राख्ने काम भयो । यसको विरोध भएपछि यसलाई स्थगित गरिएको अवस्था छ । पहिले लगाउनेहरूले भने लगाइसकेका छन् । यस्ता कार्यमा करोडौंको चलखेल हुने गरेको छ ।
पुनः भाषाको चर्चा सुरु भएको छ । हुन त यो धेरै पहिलेदेखि नै चर्चाका आएको प्रसंग हो । विशेषगरी त्रिभुवन विश्वविद्यालयका अग्रणी केही प्राध्यापकले नेपाली भाषाको व्याकरणमा फेरबदलको नियम बनाए । केही गोष्ठीहरू भएर कार्यपत्रमाथि छलफल भई घोषणापत्र जारी भए । नेपाल प्रज्ञाप्रतिष्ठान र पाठ्यक्रम विकास केन्द्र जस्तो ठाउँमा उहाँहरूको भावना अनुसारको व्यारकणलाई स्वीकार्न लगाएर यसलाई राष्ट्रव्यापी बनाइयो । अर्काथरि साहित्यकार लेखक तथा पत्रपत्रिकाले भने अहिलेसम्म पनि उहाँहरूले घोषणापत्र जारी गरेर लागू गरेको व्याकरणलाई स्वीकार नगरिरहेको अवस्था छ । नेपाली भाषा अहिलेसम्म दोहोरो मारमा परिरहेका बेला यससम्बन्धी विवाद अदालतसम्म पनि पुगेको छ ।
यसभन्दा पहिले पनि भाषाको विवाद अदालत पुगेको थियो । एम्बोस्ड नम्बर विवाद पनि अदालत पुगेरै स्थगन भएको हो । हाल ॐ शब्दका बारेमा परेको रिटका कारण अदालतले विज्ञको एमिकस क्युरी (अदालतको साथी) बोलाएको छ । नब्बे प्रतिशतभन्दा बढी ॐ कार परिवार भएको नेपालमा तिनलाई छिन्नभिन्न पार्ने योजनाका साथ ॐमाथि अतिक्रमणको प्रयास भएको नहोला भन्न सकिँदैन । वास्तवमा ॐ एक यस्तो शब्द हो जसको उच्चारण मात्रले पनि मानिस स्वस्थ हुने गर्छ । मुख खुला गरेर ‘ओ’ भनिन्छ जुन बेला बाहिरबाट अक्सिजन तान्ने गरिन्छ र मुखभरि अक्सिजन लिएपछि दुई ओठ बन्द गरेर ‘म’ भन्न थालिन्छ जसले गर्दा तानेको प्राणवायु (अक्सिजन) मानिसको मष्तिष्कलगायत सम्पूर्ण अंगमा सञ्चार हुन पुग्छ ।
त्यसकारण यो कुनै जातको, कुनै धर्म, वर्ग, सम्प्रदायको शब्द नभएर सम्पूर्ण मानव जातिका लागि प्राणवायु शरीरमा संप्रेषण गराउने शब्द हो । यसलाई शब्दकोषबाट हटाउनै पर्छ भन्ने जुन आवाज उठाइएको छ त्यो हाम्रो धर्मविरोधी अतिवादीहरूकै प्रयास हो । नेपाल र नेपाली भाषालाई कमजोर पार्न चाहनेहरूको कुत्सित नियतबाट यस्ता प्रयास हुने गरेका छन् । यो शब्द भाषाको एउटा शब्दमात्र होइन यो त एउटा पवित्र मन्त्र नै हो । त्यसैले यसमाथिको आक्रमण भाषामाथिको आक्रमणमात्र होइन धर्म संस्कृतिमाथिको समेत आक्रमण हो ।
कानुनको विज्ञ हुँदैमा सोही व्यक्ति भाषाको पनि विज्ञ हुन्छ भन्ने छैन । त्यस कारणले अदालतले माग गरेका विज्ञ व्यक्ति बारले पनि सोच विचार गरेरमात्र पठाओस् । धर्म, भाषा र संस्कृतिको अवसान भयो भने मानिस बाँचेर पनि अस्तित्वविहीन अवस्थामा पुग्छ । त्यसैले भाषा, धर्म र संस्कृतिलाई बचाउने जिम्मा हाम्रो पनि हो भन्ने सबैले ठान्नु आवश्यक छ र एमिकस क्युरीका रूपमा जाने विज्ञहरूले यसलाई स्वार्थका आँखाले होइन भाषिक मर्मका आँखाले हेरेर व्याख्या गर्नुपर्ने हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच