अहिंसाको अपरिहार्यता

हिमालय टाइम्स
Read Time = 7 mins

संसारमा हिंसा गर्नु हुँदैन भन्ने भावनाको प्रबलता छ । यसको व्यापकता पनि छ तर जति नै यो भावनाको व्यापकता भए पनि त्यही अनुपातमा हिंसात्मक घटनाहरू भइरहेकै छन् । यसलाई भने विडम्बना नै मान्नुपर्छ । विश्वशान्तिका अनेकौं प्रयास भइरहँदा आतंककारीहरूका अनेकौं संगठन आतंक फैलाउन उद्यत् छन् । इतिहास साक्षी छ, सदीयौंदेखि हिंसा र शान्तिको खेल हुँदै आएको छ । एक थरीले हिंसा मच्चाउने, अर्को थरीले शान्ति स्थापनाको प्रयास गर्ने । विश्वका विभिन्न मानिसहरूले शान्तिका अनेकौं प्रयास गर्दै आए पनि हाम्रो छिमेकी राष्ट्र भारतका मोहनदास करमचन्द्र गान्धीले गरेको प्रयास भने संसारभर प्रसिद्ध बन्यो, उनी वर्तमान युगका शान्तिका अग्रणी बन्न पुगे ।

सोमबार उनकै स्मरणमा अन्तर्राष्ट्रिय अहिंसा दिवस नेपालमा पनि मनाइयो । उनी भारतका मात्र नभएर विश्वकै अग्रणी व्यक्ति हुन्, नेपाल र नेपालीका लागि प्रेरक हुन् । भारतमा गान्धीको सक्रियता रहेका बेला नेपालमा राणा शासनको निरंकुशता थियो । उक्त निरंकुशताको चंगुलबाट नेपालीहरू उन्मुक्ति चाहन्थे तर बोल्ने आँट कसैको थिएन । केही सचेत नागरिक बोल्ने प्रयास गर्थे तर सोझो शब्दमा भन्दा ज्यान सजाय हुनसक्थ्यो, घुमाउरो गरी राणाहरूको विरोध गर्नुपर्ने हुन्थ्यो । यसका लागि महात्मा गान्धीको चर्खा आन्दोनल सहायक हुनगएको थियो । पहिले कृष्णप्रसाद कोइरालाले राणाहरूको विरोध गरेका थिए भने पछि साहित्यका माध्यमबाट कृष्णलाल अधिकारी, समाजसेवाको बाटोबाट दयावीरसिंह कंसाकार, तुलसीमेहर श्रेष्ठहरूले यो बाटोको अवलम्बन गरेका थिए ।

राणा शासनको अन्त्यतिर राणाविरुद्धको विरोध व्यापक बन्दै गयो । त्यसबेला भारतमा गान्धीको सम्पर्कमा रहेर अहिंसात्मक विचारको अनुयायी बन्ने नेपालीहरू धेरै थिए । जसमा कृष्णप्रसाद भट्टराई र महेन्द्रनारायण निधिहरू अग्रपंक्तिमा थिए । प्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाएका अन्य नेपालीहरू गान्धीको विचारबाट प्रभावित थिए । भारतमा इष्ट इण्डिया कम्पनी स्थापना गरेर व्यापारको बहानामा प्रवेशगरी त्यत्रो विशाल देशलाई उपनिवेश बनाएर बेलायतीहरू शासन गर्न सफल बने । शताब्दीयौंसम्म शासन गरेका बेलायतीहरूलाई हतियार नउठाई चर्खा चलाएर त्यही अभियानकै माध्यमबाट बिदा गर्न गान्धीको चर्खा अभियान सफल भयो । सांस्कृतिक, सामाजिक, राजनीतिक रूपमा नेपाल-भारतसँग निकट छ ।

२००७ सालमा भारतकै सहयोगबाट नेपालमा प्रजातन्त्र स्थापना भएको थियो । अहिंसा नचाहनेहरू पनि संसारमा सक्रिय रहन्छन् । गान्धीको अहिंसात्मक अभियान केही मानिसलाई मन नपरेको हुनसक्छ । त्यसैले नाथुराम गोड्से नामका मानिसले गोली हानेर गान्धीको हत्या ग¥यो । गान्धीकै अभियान र प्रयासबाट स्वतन्त्र बन्न सफल भारतले गान्धीलाई राष्ट्रपतिका रूपमा सम्मान गरेको छ । भारतले अंग्रेजका विरुद्धमा सञ्चालन गरेको ‘भारत छोडो आन्दोलन’मा नेपालीहरूले व्यापक रूपमा सहयोग गरेका थिए । नेपालको राणा शासनको जरो भारतमा रहेको अंग्रेज शासन थियो । त्यो बुझेका बीपी कोइराला, मातृकाप्रसाद कोइरालाहरू भारत छोडो आन्दोलनामा सक्रिय भएर जेल पनि पर्नुभएको थियो । महेन्द्रनारायण निधि, कृष्णप्रसाद भट्टराईहरूको पनि संलग्नता थियो ।

पश्चिमाहरूका मिलमा बनेका राम्रा लुगाहरू बहिष्कार गरी घरबुना खादीका लुगाहरू लगाउने गान्धीको अभियानलाई नेपालका धेरै गान्धीवादी नेताहरूले अनुकरण गर्नुभएको थियो । महेन्द्रनारायण निधिका छोरा विमलेन्द्र निधिले आफ्ना पिताको योगदानको स्मरण गर्दै प्रतिष्ठान नै स्थापना गरेर सञ्चालन गर्दै आउनुभएको छ । प्रा.पुरुषोत्तम दाहाल अध्यक्ष रहनुभएको उक्त प्रतिष्ठानले सोमबार महात्मा गान्धीको स्मरणमा गान्धी जयन्ती तथा अहिंसा दिवस मनाएको छ । गान्धीका विचारले वर्तमान विश्वमा अझै बढी महत्व राख्ने गरेको छ । हिंसाका विभिन्न अभियानमा आतंककारी संस्था सक्रिय भइरहेको अवस्थामा शान्ति स्थापनाको आवश्यकता बढेर गएको छ । नेपालमा पनि एक दशकभन्दा बढी माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोह अन्ततः शान्तिसम्झौतामै पुगेर टुंगिएको थियो ।

संयुक्त राष्ट्र संघले केही वर्षअगाडिदेखि महात्मा गान्धीको योगदानको कदर गर्दै अहिंसा दिवस मनाउनु महापुरुषप्रतिको समर्पण हो । नेपालले पनि गान्धीलाई सधैं सम्झिँदै आएको छ । गौतम बुद्ध र महात्मा गान्धी शान्तिका प्रतीक मानिँदै आइएको छ । तर, नेता विमलेन्द्र निधिले भने झैँ भारतीय स्वतन्त्रतासंग्राममा नेपालीहरूको ठूलो योगदान छ, तैपनि भारतले नेपालीहरूको उक्त योगदानलाई सम्झिने गरेको छैन । हामीले जसरी गान्धीको योगदानको सम्झना र कदर गर्ने गरेका छौं त्यसरी नै भारतले पनि नेपालीको सहयोग, योगदानको सम्मान, कदर र स्मरण गर्नेगर्नु इतिहासको कदर गर्नु हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?