हालै राउटेका महामुखिया महिमबहादुर शाहीको निधन भएको छ । नेपालमा राउटे अल्पसंख्यक सीमान्तकृत जाति मानिन्छ । आदिवासी जनजाति वर्गमा सूचीकृत भएको यो जाति अझैसम्म ज्यादै पछाडि परेको वर्गमा पदर्छ । पछाडि परेको मात्र होइन यो जाति जंगली अवस्थामै रहेको छ । नेपाल सरकारले उचित संरक्षण र बसोवास गराउन सकेको छैन । गणतन्त्र आएपछि जातीय पहिचानका साथ नेपाल जनजाति प्रतिष्ठान तगा जनजाति आयोगहरू बनेका छन् । यी निकायहरूबाट सूचीकृत गरिएका नेपालका आदिवासी जनजाति ५९ वटा रहेकोमा फ्री, छ्योरोटन जस्ता केही लोप भइसकेका जातिहरू समावेश गरिएको र आफूहरू छुटेको भनेर केही जातिले जनजातिको सूचीमा आफ्नो संलग्नता चाहिरहेका छन् ।
अत्यन्त सीमान्तकृत कुसुण्डा, हायु, वनकरिया, राजी, किसानलगायत जातिहरू पनि आदिवासी जनजातिमा सूचीकृत छन् । आफ्नै भाषा, संस्कृति, रीति र धर्म भएका जातिहरूलाई जनजाति र आदिकालदेखि नेपालमै बसोवास गर्दै आएका जातिलाई आदिवासी मानिएको छ । नेपालको आदिवासी जनजातिमा सूचीकृत राउटे अति विपन्न र सीमान्तकृत जातिमा परेको छ । सुदूरपश्चिमको चुरे तथा महाभारत पर्वत इलाकाका वनजंगल क्षेत्रमा ठाउँ सरीसरी बसोवास गर्ने राउटेहरू आफूलाई जंगलको राजा तथा भगवान् रामका छोरो लवकुशका सन्तान मान्छन् । नेपाल सरकारले यो जातिको दक्षिण अफ्रिकाको तीन फिटमात्र उचाइका पिग्मी जातिलाई जसरी नै संरक्षण गरी राख्नसके यिनीहरू पनि नेपालको पर्यटकीय दृष्टिले आकर्षणमा रहन सक्छन् ।
रूपैयाँ पैसाको व्यवहार नगर्नु, हिँडेको बाटो पछाडि फर्केर नहेर्नु, मूलको पानीमात्र खानु, बगेको पानी नखानु, अरू सबैले खाने गरेको जनावरको मासु नखानु र कसैले नखाने लंगुरको मासु खानु, बिरामी हुँदा घरेलु जडिबुटी र झारफुकमात्र गर्नु, आधुनिक औषधोपचार नगर्नु राउटेको परम्परा हो । हाल अरू जातले जसरी नै तिनले पनि विस्तारै आफ्ना परम्परा त्याग्दै गएका छन् । विशेषगरी माओवादी सशस्त्र विद्रोहपछिको शान्ति प्रक्रियापछि राउटेहरू पनि परिवर्तन हुँदै आएका छन् । केही राउटे युवाहरूलाई नेपाल प्रहरीमा भर्ना गरिएको छ । नेपाल सरकारले राउटेहरूका लागि मासिक भत्ताको व्यवस्था गरेको छ । आजकाल अरूले जसरी नै चाडपर्व मनाउन थालेका छन् र रूपैयाँ पैसाको प्रयोग गर्ने गरेका छन् ।
काठका भाँडावर्तनमात्र प्रयोग गर्ने यो जाति हाल सबै प्रकारका भाँडावर्तन प्रयोग गर्छ र काठका भाँडामा अन्न साटेर जीविका गर्दै आएका राउटेहरू हाल वस्तु विनिमयमात्रै नगरी नगद कारोबार पनि गर्छन् । मानिस मरेपछि आफू बसोवास गरिरहेको ठाउँबाट बसाइँ सर्ने घुमन्ते जाति राउटेका लागि सरकारले-२०६८ सालमै स्थायी बसोवासको व्यवस्था गर्न चाहेको हो । तिनको निवासका लागि सरकारले घर बनाइदिएको भए पति तिनीहरू त्यसरी बस्न चाहिरहेका छैनन्, घुमन्ते रूपमै रहन चाहन्छन् । हालसम्म घुमन्ते भएरै जीवन धानिरहेका छन् । वास्तवमा राष्ट्रका सम्पूर्ण जातजातिलगायत सबै कुरा त्यस राष्ट्रका सम्पत्ति हुन्, तिनको जगेर्ना गर्नु राष्ट्रको दायित्व हो । दक्षिण अफ्रिकाले पिग्मी जातिको फोटो खिच्नसमेत दिँदैन, तिनको अध्ययन गर्न चाहनेहरूबाट राजस्व अशुल गर्छ ।
नेपालले आफ्ना सीमान्तकृत यस्ता जातजातिहरूको न संरक्षण गर्न सकेको छ न त तिनका माध्यमबाट आयआर्जन गर्न सकिने खालका कुनै योजना अघि सार्नै सकेको छ । केही नेपाली विद्यार्थीहरूले तिनको भाषा र संस्कृतिको अध्ययन गरी शोध गरेका छन् । थोरै संख्यामा विदेशीहरूले पनि थेसिस लेखेका छन् । यसबाहेक अन्य कुनै काम हुन सकेको छैन । यतातिर गहिरो दृष्टि पुर्याइ राउटेहरूको उचित संरक्षण र तिनका माध्यमबाट नेपालको पर्यटन प्रबद्र्धन गर्नेतर्फ सरकारको ध्यान जानु जरुरी छ । अल्पसंख्यक जाति राउटे वनजंगलमा बसोवास गर्ने भएकाले उनीहरू सुरक्षित छैनन् । गाउँबस्तीमा ठूलो समूहमा बस्नेहरू जस्तो सहज उनीहरूका लागि अवश्यै छैन ।
राउटे समूहका छोरी-चेलीहरूको सुरक्षा चिन्ताको विषय बनेको छ । केही व्यक्तिले तिनको गरिबीको फाइदा लिएर राउटे चेलीहरूमाथि अभद्र व्यवहार गरेको उदाहरण छ भने जंगली जनाबरबाट पनि उनीहरू सुरक्षित छैनन् । विवाहका लागि कुटुम्ब नपाइने भएकाले असमान उमेरका बीच विवाह हुनेगरेको छ भने विविधकारणले जन्मदर घट्ने र बालमृत्युदर बढ्ने, राउटेहरूको संख्या घटिरहेको छ । अब उनीहरूको संख्या १४१ जनामा सीमित हुन पुगेको छ । अल्पसंख्यक जातिको संरक्षण सबैको दायित्व हो । राष्ट्रले उचित संरक्षण र सुरक्षा व्यवस्था गरी जातीय पहिचानका लागि यथासम्भव प्रयास गर्नु आवश्यक छ । यसो भयो भने राउटे लोप हुन पाउँदैन र फरक प्रकृति र प्रवृत्तिको यस जातिको उपस्थिति र अस्तित्व कायम रहिरहन सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच