दक्षिण एसियाली कराते च्याम्पियनसिपमा खोटाङका तीन खेलाडीले पाँच पदक जिते

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा खोटाङका तीन खेलाडीले पाँच पदक जितेका छन् ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा गत शनिबार र आईतबार भएको प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्दै उक्त पदक जितेका हुन् ।

प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाकी युमासाम राईले माइनस ६८ केजी तौल महिला कुमिते र महिलाटीम कुमितेमा २ स्वर्ण जितेकी हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपाका रुरीहाङ दुमी राईले ७५ केजी तौलको पुरुष कुमिते र पुरुष टीम कुमितेमा २ रजत पदक र हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका दिपेश राईले ५० केजी तौल पुरुष कुमितेमा १ कास्य पदक जितेको नेपाल कराते महासंघ खोटाङका अध्यक्षसुमन राईले जानकारी दिए ।

अब यीतीन खेलाडीले सन् २०२४ मा थाइल्याण्डमा हुने इन्डोर मार्सल आर्टमा खेल्न पाउनेछन् । यसैबिच, नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष मिलन कसजु र सचिव मोतिचन्द्र राईले एसियाली कराते महासंघले १२ मंसिरदेखि १४ मंसिर सम्म लिएको परीक्षा उतिर्ण गरेका छन् ।

योसँगै कसजु र राई एसियन कराते कोच बनेका छन् । उनीहरुले एसियाभरी प्रतियोगिता आयोजना हुँदा नेपालको प्रतिनिधित्व गर्दै प्रशिक्षक भूमिका निर्वाह गर्न पाउनेछन् ।

एसियाली कराते महासंघले लिएका परीक्षामा खोटाङबाट सहभागी भएर प्रशिक्षकको परीक्षा पहिलो पटक कसजु र राईले उतिर्ण गरेका हुन् ।
खेलकुद मध्ये विभिन्न जिल्ला, प्रदेश र नेपालको नेतृत्व गर्नमा खोटाङ करातेका खेलाडीहरु अघिदेखि नै अब्बल रुपमा देखिएको प्रमाणित गरिसकेका छन् । तर, उनीहरुलाई लगानी र हौसलामा स्थानीय सरकारहरुले कन्जुस्याँई गर्ने गरेको नेपाल कराते महासंघका केन्दीय सदस्य सन्जयकुमार राईले बताए । कराते खेलप्रति स्थानीय सरकारहरुको यथेष्ट सहयोग मिलेमा अझ उत्कृष्ट नतिजा ल्याउनमा दुईमत नरहेको राईकाे भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?