
भन्ने नै हो भने कुनै पनि युद्ध मानवीय हुँदैनन् । त्यसमा राजाको, धर्म गुरुको, सेना प्रमुखको, निरंकुश शासकको कसैको न कसैको अहंकार र तुष्टि निहित हुन्छ । उनीहरूको अहंकारको आगोमा सर्वसामान्य नागरिकहरू होमिनुपर्ने हुन्छ तर कुनै–कुनै युद्धहरू यस्ता हुन्छन् जुन बाध्यताले गर्नैपर्ने हुन्छ । धर्मयुद्ध, राष्ट्रियता बचाउनका लागि गरिने युद्धहरू अनिवार्य हुन्छन् । प्राचीन र मध्यकालमा प्रायः युद्ध भइरहन्थे । एकले अर्काको सार्वभौमिकताको सम्मान गर्ने प्रचलनको अभावमा राष्ट्रहरूको सिमाना हेरफेर भइरहन्थे । आधुनिक कालमा पनि अझै भयानक युद्धहरू भए । प्रथम र द्वितीय विश्वयुद्धको क्षति अवर्णनीय छ । यी लगायत अरू दुई देश, तीन देश र विभिन्न समूहबीच हुने युद्धहरूको लेखाजोखा गर्नै मुस्किल हुन्छ ।
नेपाली जातिले यी दुई महायुद्धमा रगत बगाएकै हुन् । ती युद्धबाट नेपालीले गोर्खाली वीर भनेर नाम त कमाए तर ज्यानको आहुति दिने र अपाहिज हुनेहरू पनि त्यत्तिकै ठूलो संख्यामा थिए । हराएकाहरू मलेशिया र बर्मामा स्थानीयहरूसँग विवाह गरेर बसेका, ज्यामी, मजदुर, कुल्लीका रूपमा जीवन बिताएकाको खोजी हुनै सकेन । हालसम्म नेपाली जातिका सन्नतिहरू ती देशमा छरिएर रहेकै छन् । मलेशियाका केही गाउँहरूमा नेपाली मूलका मानिसहरूको वर्चश्व छ र त्यहाँका नेपाली मूलका स्थानीय नेताले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला नेपाल आएरै उहाँसँग भेटघाट गरेको र उनीहरूको समुदायमा केही मानिसहरूले अलिक फरक लवजमा भए पनि नेपाली भाषा बोल्ने गरेको सन्दर्भ पनि चर्चामा आएको थियो ।
त्यसबेला युद्धका कारणले यसरी नेपालीहरू अन्य देशको नागरिक बन्न पुगेका थिए भने हालका दिनहरूमा नेपालीहरू स्वेच्छाले केही सम्पन्न देशको नागरिक बन्न मरिहत्ते गरेर गइरहेका छन् । अमेरिकी बन्न डिभी पारेर, वर्किङ भिसामा गएर वा स्टुडेन्ट भिसामा गएर अनेक उपाय गरी उतैको नागरिक भइरहेका छन् । अर्काको देशको ग्रीनकार्ड लिएर आफ्नो देशमा फर्किँदा भिसा लिएर आउनेहरूको संख्या ठूलो भइसकेको छ भने कतिपय त देशै नफर्की आफ्ना सन्ततिहरूलाई विदेशी बनाइरहेका छन् । पनामा र मेक्सिकोको बाटो भएर अनेकौं हण्डर खाएर अमेरिका पुग्नेहरूको संख्या निकै ठूलो छ भने भुटानी शरणार्थी बनेर अमेरिका जान प्रयास गर्नेहरूको प्रयासको पर्दाफास भएको घटना सेलाइसकेकै छैन ।
अर्कातिर इराक जस्ता देशमा सेक्युरिटी गार्ड बनेर जानेदेखि खाडी मुलुकहरूमा कामदारका रूपमा जानेहरूको लर्को दिनप्रतिदिन बढिरहेकै छ । कोरिया जानेहरूको संख्या त्यत्तिकै छ र यही कारणले हालै दुई युवाहरूको ज्यानसमेत गएको छ । घरको दरुण आर्थिक कारणले विदेशमा गएर जस्तोसुकै जोखिमपूर्ण काम गर्नसमेत अग्रसर बनेर संसारका विभिन्न देशमा नेपाली पुगेका छन् । कुनै देशको सेना बनेर विदेश जानका लागि सरकारीस्तरबाट भारत र बेलायतमा मात्रै अनुमति छ । ती देशमा गएर ज्यान गएका खण्डमा सम्बन्धित देशबाट तिनले सम्झौता अनुसारको क्षतिपूर्ति पाउँछन् र त्यस्तो रकम वा सहयोग तिनका परिवारलाई दिइन्छ । तर, हालका दिनमा सरकारी सम्झौता अनुसार नभई प्रलोभन वा दलालको कारण गरिबीबाट गुज्रिरहेका केही युवकलाई रुस-युक्रेन युद्धको सिपाहीका रूपमा भर्ना गर्ने गरिएको छ ।
यस क्रममा रुसका पक्षबाट युक्रेनविरुद्ध युद्धमा संलग्न केही नेपाली युवाहरूको मृत्यु भइसकेको छ । कतिको अवस्था अझै अज्ञात छ । सरकारी सम्झौता अनुसार नगएका कारण ती देशहरूमा के कति संख्यामा नेपालीहरू छन् भन्ने तथ्यांक छैन र मारिएकाहरूको संख्या पनि निश्चित हुन सजिलो छैन । मृत्युपछि तिनले सम्बन्धित देशबाट बेलायत वा भारतीय सेनाले पाउनेजस्तो सहयोग पाउने पनि होइनन् । यो नै विडम्बनाको कुरा छ । एकातिर यस्ता युद्धहरू मानिसको जिउज्यानको क्षतिको कारक हुने नै भए भने अर्कातिर मानवीय सहयोगका लागि प्रयोग हुने संशाधन युद्धसामग्री निर्माण र सेनाका लागि प्रयोग गर्नुपर्ने भयो । यसले गर्दा मानिसका दैनिक उपभोग्य सामग्रीको मूल्य अत्यन्त धेरै मात्रामा वृद्धि हुन पुगेको छ ।
नेपालीहरूका भान्साका कतिपय उपभोग्य सामग्री युक्रेनदेखि आउने गरेका छन् । यो युद्ध सुरु हुनासाथ तोरीको तेलको मूल्य भारी मात्रामा वृद्धि भएको थियो र त्यहाँबाट तोरी नआएकाले मूल्यवृद्धि भएको भनिएको थियो । हालको विश्व एक प्रकारले अन्तरसम्बन्धित हुँदै गएको छ र एक देशको निर्भरता अर्को देशसँग जोडिन पुगेको छ । त्यसले गर्दा मानवका लागि समर्पित बन्नुपर्ने मानिस शासकीय अहंकारमा जकडिने हो भने युद्ध द्विपक्षीयमात्रै बन्दैन यसको असर बहुपक्षीय बन्न जान्छ । यसले मानवीय क्षतिका साथै भौतिक क्षतिसमेत गराउँछ र बाँचेका मानिसहरूको जीवन अझै कठिन बनाइदिन्छ । त्यसकारण यस्ता युद्धहरू निरुत्साहित बन्नुपर्छ र त्यसका लागि युद्धविरोधी सबै देशले एकै स्वरमा अभियान चनाउनुपर्ने आवश्यकता छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच