अहिले बजारमा निकै चर्चा कमाएको बाह्र फेल हिन्दी सिनेमाको कथाले मलाई पनि बेस्सरी छोयो । दुईतीन ठाउँ सिनेमाको मूल पात्रको दुःख, सङ्घर्ष र असफलता देखेर मनैदेखि रोएँ । दुःखको पनि सहन सकिने सीमासम्म मानिसलाई ठीकै लाग्दोरहेछ त्यसपछि पीडाले आँसु आउँदोरहेछ । त्यस्तै सुखको पनि एउटा तह हुँदोरहेछ त्यो तहको सुखले आँसु निकाल्दो रहेछ । साँच्चै यस सिनेमाबाट दुःख र सुख दुवैको चूडान्त स्थिति अनुभव गरिँदोरहेछ । सुख पनि स्वाभाविक तहसम्म सुख मानिँदो हो त्यसपछि त बिझाउने खालको नै हुन्छ । सिनेमा हेर्दा आफ्नै पनि दुःख र सुखका कथाहरू सुम्झनामा आए । कता-कता ती धेरै ठाउँमा आफैँ उपस्थित छु कि जस्तो लागेर म त्यसरी रोएँ ।
मनको गहिराइमा जमेर बसेका च्वास्स छुने केही आफ्नै जीवनका घटनाहरू ताजा भए । मेरो मात्रै होइन धेरैको जीवनमा यस्तै प्रकृतिका दुःखका दिन आएका हुन्छन् । कतिले तिनलाई धैर्यपूर्वक सामना गरेर उचाइ छुन्छन् कतिपय दुःखबाट भागेर पलायन हुन्छन् । सिनेमाले नहार्ने प्रेरणा दिएको छ जुन ज्यादै सुन्दर छ । यसरी सिनेसंसारले रुवाउनु साँच्चै जीवन्त लाग्यो कथावस्तु । जीवन पनि त्यस्तै सिनेमाजस्तै न हो मिहिनेत, मिहिनेत अनि मिहिनेत त्यसपछि पनि असफलता फेरि मिहिनेत त्यसपछि सफलता । सफलता र असफताका बीचमा अर्को पनि विषय थियो हिरोसँग रहेको स्वाभिमानको भूत जसले उसलाई ठाउँकुठाउँ सम्झौता गर्न दिएको छैन । बरू मर्न राजी हुनु अन्याय नगर्नु, अन्याय नसहनु झुटो नबोल्नु त्यसको प्रतिफल जाहे जस्तोसुकै आओस् पर्वाह नगर्नु । र, सफल हुनु त्यस सिनेमाको सार थियो ।
विचारलाई विषय बनाएर धेरै लेखिसकियो तापनि विचार नै विषय बनाउन मन लागिरहन्छ । कहिलेकाहीँ लाग्छ यो गह्रौँ भारी बिसाएर हलुको जीवन बाँचौँ तर त्यसो हुन पनि सजिलो लागेन । जीवन त केही बोझिलो नै राम्रो हो कि झैँ लाग्छ ।
कमजोर मानसिकता भएर मात्रै म रोएको होइन । सायद धेरै मानिसलाई यस सिनेमाको कथा र दृश्यले रुवाउँछ । अनुभूतिको साधारणीकरणका कारणले आँसु आए । दुःखले मात्र रोएको पनि होइन उसको सफलतामा पनि आँसु आए । जीवनको सौन्दर्य निहित भएका ठाउँ अचाक्ली अप्ठ्यारा छन् तर पाएपछि मीठा छन् । जीवनलाई कलामा उतार्न मनग्गे कुराहरू चाहिन्छन् । हामीले सोचेजस्तै सुखैसुख वा दुःखैदुःख पनि जीवनको सौन्दर्य होइन । जीवनलाई सिँगार्ने सहायक तत्वहरूको पनि त्यत्तिकै मूल्य हुन्छ । आज रमिता छ भन्ने उपन्यासमा इन्द्रबहादुर राईले जीवनमा धेरै कुरा आवश्यक नभएरै पनि अँगालिरहन्छन् ।
त्यसैगरी यस उपन्यासमा केही त्यस्ता पात्रहरू छन् जसको यस उपन्यासमा कुनै काम छैन तर काम छैन भन्ने जनाउनकै निम्ति ती पात्रहरू उपन्यासमा राखिएका छन् भनेका छन् । त्यस्तै धेरै आवश्यक र केही अनावश्यक घटना, विषय र पात्रहरू मिलेर बनेको सिनेमा यस कारणले पनि जीवनको नजिक भएको लाग्यो । सिनेमाको नायक धेरैपटक बाह्र फेल भएको छैन । एक पटकमात्र ऊ फेल भएको छ तर त्यही बाह्र फेल उसको स्वाभिमान र इमानदारीलाई जाँच्ने कसी बनेको र जिन्दगीको गहकिलो परीक्षामा त्यही बाह्र फेलको विषयलाई मुद्दा बनाइएकाले शीर्षक सान्दर्भिक भएको छ । त्यसरी नै कोही पनि किन नहोस् परीक्षामा धेरै पटक फेल हुन पर्दैन एकै पटकको परीक्षा नै महँगो पर्न सक्छ ।
सिनेमाको हिरो बाह्र कक्षामा फेल भएझैँ जीवनमा कुनै कक्षामा फेल त भइएन तर मैले पनि सबै प्रकारका श्रेणीहरू बेहोर्नु परेको छ । अनि अन्तर्वार्ताहरूमा प्रत्यक्ष अप्रत्यक्ष श्रेणीको खप्की खानुपरेको छ । अब ती दिन पनि हटेर गए । जीवनको एउटा बिन्दुमा आइपुगेपछि यी सबै कुराहरू पनि मिथ्या लाग्ने रहेछन् । सिनेमाको हिरोझैँ विचारसहित बाँच्छु भन्यो भने सायद धेरै कुराको जोहो गर्नुपर्दोरहेछ । सामान्य बाँच्नको निम्ति विचारभन्दा बढी खाँचोले बाध्य पार्छ । खाँचोलाई पनि चुनौती गरेर बाँच्न खोजियो भनेमात्र विचारको कुरा आउँदो रहेछ । तर धेरैको जीवन खाँचोले गर्दा विचारलाई चुनौती गर्न बाध्य छ । विचारले बाँच्न खोज्नु नबाँच्न रहर गर्नु पनि हो । आवश्यक परे नबाँच्न पनि पछि हट्नुहुँदैन भन्ने सन्देश दिने क्षमता राख्नु पनि हो ।
विचारलाई विषय बनाएर धेरै लेखिसकियो तापनि विचार नै विषय बनाउन मन लागिरहन्छ । कहिलेकाहीँ लाग्छ यो गह्रौँ भारी बिसाएर हलुको जीवन बाँचौँ तर त्यसो हुन पनि सजिलो लागेन । जीवन त केही बोझिलो नै राम्रो हो कि झैँ लाग्छ । विचारविहीन भएर बाँच्नु हलुका जीवन बाँच्नु हो सायद केही हदसम्म तर भारी बोकेर हिँड्न अभ्यस्त जीवनले भारी नै सजिलो मान्दोरहेछ । हलुको जीवनलाई त बेलाबखतमा हुइँकिने उत्ताउलो हावाले पनि उडाई लैजाला र ठाउँकुठाउँ फ्याँकिदेला । त्यसो हुन पनि स्वीकार्य छैन भने भारीको बोझलाई अन्यथा मान्नै भएन । जब विचार उभिन्छ आफूभन्दा अग्लो चुनौती बनेर त्यसपछि मानिसलाई सङ्घर्ष प्रिय वस्तु बन्न जान्छ ।
जुन देशमा राजनीति गर्ने नेता अनि इमानको बेचबिखन गर्ने एजेन्टहरू गरिखाने जनताभन्दा बढी हुन्छन् त्यो देशको हविगत यस्तै हुन्छ ? भन्ने दृष्टान्त बन्दैछ अहिले देश । राजनीति हिजो समाजसेवा मानिन्थ्यो आज उर्वर किसिमको पेशा वा व्यवशाय बनेको अवस्था छ । जब राजनीति पेसा हुन्छ तब उज्यालाको पक्षमा बोल्न निडर हुनुपर्ने समय भनेको लोकतन्त्रको निम्ति त्यति सुखद् हो जस्तो लाग्दैन । अँध्यारोलाई अँध्यारो हो भन्नको निम्ति सङ्कोच मान्नुपर्ने यो समय उज्यालोसँग डराएर हिँड्नुपर्ने परिस्थितिलाई हामीले आजको गणतन्त्र मानेका छौँ ।
सम्बन्धलाई हलुका किसिमले कत्ति नलिऔँ । सम्बन्धको गहिराइ छामेर व्यवहार गर्न सिकौँ । तिनै सम्बन्धीका शुभेच्छा, प्रेम र सद्भावले गर्दा नै हामी हामी रहेका हुनसक्छौँ । कहिलेकाहीँ लाग्छ सबै प्रकारका सम्बन्धहरूमा स्वार्थको गन्ध हुन्छ । स्वार्थमा उचितभन्दा बढी अनुचितको मात्रा बढी हुनाले त्यसले आफैँलाई मात्र घाटा हुन्छ । तसर्थ यो स्वार्थको सम्बन्धबाट टाढै बसौँ न लेना न देना । जबसम्म हामी सामूहिक स्वार्थको नाताबाट गाँसिँदैनौँ । विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा म यही देशको नागरिक हुँ । मसँग भएको नागरिकताले मेरो दिएको मेरो परिचय अनुसार अब मैले आफ्नो परिचयको खोजी गर्दै जानुछ । म अर्थात् पहाडको कुनै अनकन्टार भूगोलमा जन्मिएको एउटा साधारण नागरिक ।
उमेरले पचास वर्ष काटेको, पेशाले विश्वविद्यालयमा पढाउने प्राध्यापक, विचारले स्वतन्त्रताको हिमायती गहुँगोरो पाँच फुट तीन इन्च अग्लो ऐजन ऐजन । मलाई चिनाउन प्रयोग गरिने यी हुलियाहरूले मलाई नै चिनाए भन्ने बुझ्न खोज्दैछु । उज्यालामा दिनहरू ब्युँझेको हेर्न सबैलाई मन लाग्छ । मनै त हो उज्यालोमा रहरहरू झांगिने, फैलिने क्रम रहन्छ नै । उज्यालो हाँस्नको निम्ति उचित समय हो । मनले धेरैलाई हँसाएको छ । धेरैलाई रुवाएको पनि छ । मन सानो हुनेहरू उज्यालोमा पनि रम्न नसकेको पाइन्छ । मन जति फराकिलो बनेको छ उज्यालो त्यति नै मनभित्र छिर्न सजिलो हुन्छ र त्यति नै उज्यालोमा रहरहरू हाँसेका हुन्छन् ।
अहिलेको समयमा हर्षका कुराहरूभन्दा विस्मात्का कुराहरू धेरै भएको बेला हर्षभन्दा विस्मात बढी लेखिनु स्वाभाविक हुने भयो । यो समयको विचार, दर्शन, साहित्य, समस्या र समाधान पनि हो । लेख्नेहरूलाई विषयको कहिल्यै कमी हुन्छ र ? जताततै विषयमात्रै देख्छन् लेख्नेहरूले ।
कतिपय व्यक्तिहरूका बारेमा जति लेखे पनि कम हुन्छ । कसैले केही देला वा कसैले मेरो योगदानको कदर गरिदेला र मलाई अमुक लाभ मिल्ला भनेर कहिल्यै सपनामा पनि नचिताएर देशकै निम्ति काम गरिरहनेहरूका कुरा बेग्लै छन् । अहिलेको समयमा हर्षका कुराहरूभन्दा विस्मात्का कुराहरू धेरै भएको बेला हर्षभन्दा विस्मात बढी लेखिनु स्वाभाविक हुने भयो । यो समयको विचार, दर्शन, साहित्य, समस्या र समाधान पनि हो । लेख्नेहरूलाई विषयको कहिल्यै कमी हुन्छ र ? जताततै विषयमात्रै देख्छन् लेख्नेहरूले । साहित्य लेख्नु सजिलो कुरा त हुँदै होइन तर आम मानिसहरूको दृष्टिमा साहित्य लेख्नु त्यति गहिरो कुरा लेख्नु हो भन्ने सायद लागेको हुँदैन ।
उपेक्षा गर्नेहरूका बीचमा दरो थामिन सक्नु नै सायद अहिलेको समयमा उभिन सक्नु हो । मैले जानेको भनेको यो विश्वजगत्बाट अत्यन्त सीमित शब्दहरू र तिनका पनि ज्यादै थोरैमात्र अर्थको बोध मात्र हो । तापनि आफूलाई पढेलेखेको वर्गमा सामेल हुने अवसर प्राप्त हुनु म र मजस्ता केही व्यक्तिहरूको सौभाग्य हो भन्ने लाग्दछ । पिताजीको न्यानो काखमा सस्नेह बसेर धुलौटे पाटीमा जीवनको पहिलो वर्ण असामै ‘अ’ लेखेको दिन पिताजीको अनुहारमा चम्किएको उज्यालोको आभाले आजसम्म आभासित भइरहेको छु । मेरो आस्था र विश्वास नै आफू उभिनुको दृष्टान्त हो भन्नेमा मलाई कत्ति पनि संकोच र सन्देह छैन ।
जीवनका कथा कताबाट थाल्ने भन्ने विषयमै अलमल भएर धेरैको साहित्य मनमै अड्केर सकिन्छ । साहित्य भन्नु छुट्टै ग्रहको अभिव्यक्ति हो कि भन्ने कुरामै अल्झिएर कतिपयको साहित्य बाहिर आउन सङ्कोच मान्छ । कतिपय व्यक्तिमा जे जस्तो विषयलाई पनि साहित्य बनाउने कलाले गर्दा जीवनभोगाइ नै साहित्य बनिरहेको हुन्छ । साहित्य बन्न के कुरा हुनु बढी आवश्यक हो भन्ने विषयको टुङ्गो कसले कसरी लगाउने ? भन्ने विषय स्वयं अध्ययनको विषय हो । सबैको जीवन कुनै न कुनै सम्बन्धमा बाँधिएकै हुन्छ ।
तीमध्ये कतिपय कुरा सम्झनयोग्य भएर बाहिर आउँछन् धेरै कुरा मनमै बिलाउँछन् । मानिसलाई उत्तेजित वा भावुक बनाउने धेरै कुरा पनि सम्बन्धको डोरीमै बाँधिएर रहेका हुँदारहेछन् । अतीत सायद सम्झिनुको नाम पनि हो । सम्बन्ध जोडिँदा धेरै प्रकारका आदर्शहरू पनि जोडिँदा रहेछन् । त्यसरी नै सम्बन्ध टुट्दा धेरै प्रकारका आदर्शहरू पनि टुट्नेरहेछन् । प्रत्येक पाइला चेतनाका यसरी नै उभिँदै जानु छ । जीवनका परीक्षाहरूमा पासफेलको हिसाब मिलान गर्न के सकिएला र सञ्चेतना ! त्यसैले जिन्दगीको गणित सधैँ नमिलेको लाग्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच