राष्ट्रका साझा मुद्दाहरुमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु एक हुन जरुरी छ : सभामुख घिमिरे

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं ।  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राजनीतिक दलहरुले संसदको चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानून निर्माण गर्ने र संसदीय गतिविधिहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी रहेको बताउनुभएको छ ।

सोमवारबाट शुरु भएको प्रतिनिधि सभाको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सभामुख घिमिरेले राष्ट्रका साझा मुद्दाहरुमा संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई एकतावद्ध भएर अघि बढ्न पनि आग्रह गर्नुभयो ।

विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण तथा विषयगत समितिहरुले पूर्णता पाएसँगै संसदीय गतिविधिहरु क्रियाशील र जीवन्त हुँदै गएको उल्लेख गर्दै उहाँले चालु अधिवेशन मुलुकका लागि आवश्यक कानून निर्माणमा केन्द्रित हुनुपर्ने बताउनु भयो ।

सभामुख घिमिरेले जनताको प्रतिक्रिया र सुझावलाई आत्मासात गर्दै संसदका चालु अधिवेशन नतिजामुखि हुने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले संसदलाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन चालू अधिवेशनदेखि केही नयाँ अभ्यास तथा संसदीय गतिविधि समयवद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने पनि बताउनु भयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘संसदीय प्रणालीमा संसदको काम कानून निर्माणसँगै सरकारको गठन र नियन्त्रण गर्ने, जनसरोकारका मुद्दाको सम्बोधन गर्ने, सरकारलाई नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कानून बनाई सहयोग गर्ने पनि हो । विगतका दुई अधिवेशनमा संसद नियमावलीको निर्माण तथा विषयगतसमितिहरुले पूर्णता पाएसँगैसंसदीय गतिविधिहरु क्रियाशील र जीवन्त हुँदै गएको महशुस गरेको छु । ऐन निर्माणमा संख्यात्मक नतिजा प्राप्त हुन नसके पनि एक वर्षको बीचमा पर्याप्त गृहकार्य भएका छन् । चालु अधिवेशनमा मुलुकलाई आवश्यक कानून निर्माण गर्ने र संसदीय गतिविधिहरुलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रण गर्न जरुरी देखेको छु । राष्ट्रका साझा मुद्दाहरुमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको एकतालाई निरन्तरता दिनैपर्दछ । विधिको शासन, पारदर्शिता र जवाफदेहिता आधुनिक लोकतन्त्रका आधारस्तम्भ हुन् । संसद्मा अवलम्वन गरिने विधि, प्रक्रिया र अभ्यासहरूलाई परिष्कृत, उन्नत र जनमुखी बनाउन हाम्रो सामुहिक प्रतिवद्धता जरुरी छ । संसदलाई प्रभावकारी, क्रियाशीलर जीवन्त बनाउन चालु अधिवेशनदेखि केही नयाँ अभ्यास गर्दैछौं । संसदीय गतिविधि समयवद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने र विगतमा बजेटमाथिको छलफलमा उठेका टिप्पणी समेतलाई ध्यानमा राखेर यसै अधिवेशनमा बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दैछौं । संसदीय क्रियाकलापको समीक्षा र कमजोरीको सुधारले यस संस्थाप्रतिको विश्वास र भरोसा वृद्धि हुँदै जान्छ । किनभने लोकतन्त्रमा जनता सबैभन्दा माथि हुन्छन् । जनताको प्रतिक्रिया र सुझावलाई आत्मसात गर्दै आगामी अधिवेशन नतिजामुखी हुने विश्वास व्यक्त गर्दछु ।’

सभामुख घिमिरेले लोकतन्त्रमा जनता सबैभन्दा माथि हुने भएकाले उनीहरुको भावनाअनुसार सबै राजनीतिक दलहरुले अघि बढ्नुपर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?