नयाँ गठबन्धन सुरु भएको छ । ०७९ को चुनावदेखि नै नेपालमा सर्प, विच्छी र भ्यागुताको जस्तो गठबन्धन चलिरहेको छ । न सिद्धान्त छ न आदर्श । न मूल्य छ न मान्यता । एक सूत्रीय लक्ष्य छ : अन्तिम सत्य सत्ता हो । यो अन्तिम सत्य सत्ताको खेल र विश्वासमा नेताहरूका भनाइ, विचार, नीति, सिद्धान्त सबै ‘गइल भैंस पानीमें’ भएका छन् । हामीले सानै उमेरदेखि सुन्ने गरेको सर्प, विच्छी र भ्यागुताको यो कथा निरन्तर पुनरावृत्त भइरहेको छ । एकअर्कामा विश्वास छैन, तर विश्वास नगरी भएको पनि छैन । सर्प कुद्नासाथ भ्यागुताले विच्छीलाई खान्छ, भ्यागुतो भाग्नासाथ विच्छी सर्पको विनाश गर्छ । विच्छी भाग्यो भने भ्यागुताको मृत्यु निश्चित हुन्छ । यो कथा हामीले सानै उमेरमा सुनेको हो । तर यसको कार्यरूप वर्तमानमा पुष्टि हुँदैछ । सर्प, विच्छी र भ्यागुता को हुन्, कुन् बेला परिवर्तन हुन्छन् कसैले मुख खोलिरहनु पर्दैन । हरेक वर्ष ती तीन जीवको लीला हामीले देख्ने गरेका छौं । त्यस लीलामा केही छेपारा र चमेराहरूको प्रवेश हुनेगरेको छ, तर त्यो प्रवेश मौलिक होइन ।
मानव स्वभावको प्रथम संक्रमण पशुपक्षी, किट, पतंग, जलचर, स्थलचर, स्थावर जंगमहरूबाट नै निःसृत होला । पशु, पक्षी वा किटपतंगले आफ्नो स्वभाव अनुसार आचरण गरे भने त्यो अप्राकृतिक र असहज हुँदैन । तर, मानव मस्तिष्कले ती व्यवहारको अनुशीलन गर्न लागेमा, तदनुरूप आफ्नो मार्ग तय गर्न लागेमा भने असाध्य अनौठो र अव्यावहारिक लाग्ने रहेछ । बाघले शिकारको मासु नपकाई लुच्छ्यो भने कोही पनि अनौठो मानेर हेर्दैन । तर, यदि मानिसले काँचो मासु खाएको देखियो भने त्यो आश्चर्यपूर्ण र दर्शनीय रमिताको विषय हुन्छ । अर्थात् कुनै पनि प्राणीसंग स्वभावजन्य सिद्धान्त हुन्छ र मानवलाई भने निर्मित वा परम्परित सिद्धान्तले निर्देशित गर्दछ ।
नेपालमा राजनीति गर्नु छ भने पहिलो सर्त हुन लागेको छ : कुनै पनि खाले अपराधवृत्तिमा सफलता पाउनु । अपराध वृत्ति पहिलो सर्त हुँदै गएको छ राजनीतिमा । जति बढी अपराधको भारी पिठ्यूँमा बोक्न सक्यो त्यति बढी जनविश्वास प्राप्त हुने, नेतृत्वमा पुग्न सकिने र राष्ट्रको मुहार परिवर्तनको सपना बाँड्न सकिने सिद्धान्त स्थापित भएको छ । हिजोका व्यवस्थाहरू के कस्ता थिए, ती जस्ता भए पनि नेपाली जनताले तिनलाई अस्वीकार गरेका हुन् । हिजोको ऐनामा आजको तस्वीर खोज्नु हुन्न । हिजोसँग आजको तुलना आफैंमा एक वञ्चना हो । आफूले आफैंलाई ठग्नु हो । हिजो भएन भनेर आजको खोजी भएको हो । हिजोको ठीक भएन भन्नेहरूले आजलाई ठीक प्रमाणित गर्नुपर्छ । हिजोका कुकृत्य, ठगी वा पाखण्डका केही उदाहरण देखाएर आजका पाखण्डलाई सिद्ध गर्न खोज्नु दुष्टतापूर्ण पाखण्ड नै हो ।
लोकतन्त्रका विषयमा चिरस्थायी चर्चित परिभाषा दिनु हुने तत्कालीन अमेरिकी राष्ट्रपतिको एउटा अर्को भनाइ शास्वत छ । उनी भन्छन् : तिमी केही समयका लागि सबै मानिसलाई झुक्याउन वा मूर्ख बनाउन सक्छौ र केही मानिसलाई सदा मूर्ख बनाउन सक्छौ । तर तिमी सबै मानिसलाई सधंैभरी मूर्ख बनाउन वा ढाँट्न सक्दैनांै । नेपालको राजनीतिक सन्दर्भलाई लिएर लोकतन्त्रका विषयमा उनले भनेजस्तो जनताद्वारा, जनताका लागि जनताले चुन्ने पनि भएन र सदाकालका लागि सदा मानिसलाई मूर्ख बनाउन सकिँदैन भन्ने पनि सिद्ध भएन । लोकतन्त्रलाई नागरिक आफैंले उपहास गरिरहेको छ भने नेताहरूले सबै नागरिकलाई सदाकालका लागि मूर्ख बनाउन सफलता पाइरहेका छन् । असल काम गर्ने, जनताका सामु सत्य कुरा गर्ने, असल नियत भएका राजनीतिक नेताहरू देशमा नभएका होइनन् । तर, अधिकांश नेता र दलहरूको फोहोरी आहालमा तिनीहरूको समेत पृथक अस्तित्व देख्न सकिँदैन । सरकारमा सहभागीमध्ये कतिपय असाध्य संभावना भएका अनुहार छन् तर तिनीहरूको पृथक अस्तित्व रहन्छ/रहँदैन अहिले नै भन्न सकिँदैन ।
माधवकुमार नेपालको घरमा पुगेर केपी ओलीले उहाँको नाम लिनुभयो वा भएन । यदि लिनु भएको हो भने कुल्ला गर्न बिर्सनु भएको छैन होला । प्रतिक्रियावादी केपीको मुखमा मुख मिलाउने बेला प्रचण्डले प्रगतिशील सुगन्धित कुन रसधाराको अनुभव कति गर्नुभयो ? पाँच वर्षसम्म सरकारमा नजाने प्रतिज्ञा गर्ने रवि लामिछानेजीलाई अनेक आरोपको भारीकासाथ गृह मन्त्रालय नै किन आवश्यक भयो होला ? सुन तस्करीका आरोपीहरूसँग मिष्ठान्न भोजन गर्दा स्वर्गानुभूति गर्ने अर्थमन्त्रीले भोलि के गर्नु होला ? थोरै पनि आदर्शका गफ गर्ने मधवकुमार नेपालजीले सत्तासख्खरको स्वाद कसरी ग्रहण गर्नु होला ? यी प्रश्नहरू अब सान्दर्भिक देखिँदैनन् । निरर्थक पनि छन् । किन भने नेपाली लोकतान्त्रिक गणतन्त्रको पर्याय गठबन्धनतन्त्रमा परिणत भएको अवस्था छ । गठबन्धनतन्त्रको हिजोका पात्र शेरबहादुर देउवा हुनुहुन्थ्यो आज केपी ओली । अर्थात् पात्रतामा फरक तस्वीर देखिए पनि प्रवृत्तिमा कुनै अन्तर छैन ।
हिजोका दिनमा गृहमन्त्री नारायणकाजीको काम मानिसहरूले निकै रुचाएका थिए । उनमा दाग थिएन । तर, दाग नलागेको गृहमन्त्री दुर्भाग्यपूर्ण होला र नै अहिले फेरिनुपर्ने भयो । कांग्रेसका केही मन्त्रीहरू निकै सक्रिय थिए, उनीहरू काममा विश्वास गर्थे तर मूल पात्रहरूका बीचमा कुरा मिलेन, उनीहरू बाहिर भए । माओवादीका पनि केही असल रहे, केही असल गए । तिनका स्थानमा को कस्ता आए कामबाट मात्रै थाहा हुनेछ । मन्त्री वा मन्त्रालयभन्दा पनि चरित्र र प्रवृत्ति प्रथम विषय हो । प्रवृत्ति र चरित्रमा लोकतन्त्र निर्जीव हुँदैछ, संस्कृति पलायन हुँदैछ । त्यो रिक्त स्थानमा क्रमशः सर्प, विच्छी र भ्यागुताको हालीमुहाली चल्न लागेको छ । नेपाली जनता आफ्नो भाग्य आफैंले निर्माण गर्न असमर्थ परालम्बी भएको हुनाले यस्तो विपरीत चरित्र सबल हुन पुगेको हो । तथापि हिमालय टाइम्सका तर्फबाट नवजिम्मेदारीमा पुग्ने सबैमा हार्दिक शुभकामना छ । उहाँहरू सबैले आ-आफ्ना अन्तरनिहीत उद्देश्यमा सफलता पाउनु होस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच