स्मृतिहरू कति गहिरो गरी बस्दारहेछन् मनको कुनाकुनासम्म पुगेर । जतिपटक जन्मस्थल जान्छु त्यतिपटक नयाँ ढङ्गले ठोक्किन आइपुग्छन् यादहरू । हरेक पटक नयाँ बनेर आइपुग्छन् बाल्यकालीन घटनाहरू । हरेकलाई यस्तै हुँदो हो कि ? म सोच्छु । अलि कोमल नै हो मन हाम्रो वा हामी काँचारागहरू बोकेरै बाँचिरहेका छौँ माधवी र गालवजस्तो । गालव गुरु महर्षि विश्वामित्रका मेधावी शिष्यपछि महर्षिकै नामले सुपरिचित अनि माधवी नहुष कुलका चन्द्रवंशी राजा ययातिकी पुत्री अप्सरा कन्याका नामले महाभारतमा प्रसिद्ध छन् । अनि त्यस्ताकामनाहरू बोकेर हिँडिरहेका छौँ जहाँ एउटाको अभावमा अर्काको जीवन अपूर्ण छ । जननी र जन्मभूमिलाई स्वर्गभन्दा पनि ठूलो ठानिएको छ । मत्र्यलोकका मानिसलाई स्वर्गको अनुभव छैन बयान मात्र सुनिएको छ त्यो पनि कहिल्यै कोही नगएका ठाउँको कल्पना गरेर बनाइएको कथाजस्तो ।
कुनै ठाउँका बारेमा अतिशय वर्णन गर्दा जेजति कुरा भन्न मिल्छ त्यति कुरा भनेर मानिसलाई स्वर्गको लोभ देखाइएको छ । असल कर्म वा पुण्यकर्म गरे स्वर्ग गइन्छ भनेर गरिएको बयानमा अटाएको, स्वर्गसँग दाँजिएको अनि स्वर्गभन्दा अझै गरीयसी जन्मभूमि निश्चय पनि त्यसै विशिष्ट बनेको होइन । जन्मभूमिसँग दाँजिएको स्वर्ग सुन्दर अवश्य होला तर यदि अहिले हामीलाई लागेजस्तै मनलाई गह्रौँ पारेर बसिरहने विषय हो भने स्वर्ग पनि यस्तै कटक्क मन खाने प्रिय अतृप्तिको नाम होला भन्ने लागेको छ । यदि यस्तै हो भने कलियुगका मानिसलाई जन्मभूमिभन्दा प्रिय स्वर्ग पनि होइन होला । यति कुरा अवश्य हो स्वर्गसँग दाँजिएको जन्मभूमि स्वर्ग हो ।
पिताजी नभएको घर कसैले कल्पना पनि गर्न सक्दैनथ्यौँ । तर, अब त्यो घरमा पाठ दिने पिताजी पनि हुनुहुन्न । पिताजीको डर पनि छैन । छ त केवल ती सबै कुराको अभावको अँध्यारो गुफा ।
हामीभन्दा पहिले पनि मानिस आफ्नो जन्मभूमि छाडेर लामो समय टाढा बसेका रहेछन् र त स्वर्गका बारेमा अनि जन्मभूमिका बारेमा यति मिठा कुरा लेख्न सकेका रहेछन् । स्वर्गमा त सुखैसुख पाइन्छ भनिन्छ तर आज मलाई जन्मभूमि सुख दिने होइन बरू मन कोक्याउने विषय बनिरहेकोे लाग्छ । लामो समय पर्खेर चारतिरका झन्झटबाटसमय मिलाएर ठुलो उत्साह लिएर गाउँ जानु अनि पुराना स्मृतिका घाउहरू कोट्याउनुको नाम जन्मभूमि बनेको छ । ‘घरमा जाने बाल्यकालका कुराहरूलाई ताजा पार्ने अनि घरको मूल ढोकामा दुई थोपा आँसु बगाउने अनि पर्किने ।’ यात्राकै क्रममा माहिला भाइ बैकुण्ठले यसो भनिरहँदा हामी अरू तीन भाइ (नारायण, उपेन्द्र र केशव) पनि भावुक बनेका थियौँ ।
चटक्क छाडेर हिँडेको तर सधैँ मनको केन्द्रमा बसिरहने अरू धेरैको जस्तै हाम्रो पनि प्यारो घर जान हामीचार भाइले बेलाबेलामा हिम्मत जुटाउनुपर्छ । किनकि घर जानु भनेको एकपटक रोएर आउनु पनि हो भन्ने हामीलाई थाहा छ त्यसैले एक्लाएक्लै जाने हिम्मत प्रायः गर्दैनौँ सँगै जाने प्रबन्ध मिलाउँछौँ । धेरैबेरदेखि हामीहरूका कुरा सुनिरहेका हाम्रा सहयात्री नुवाकोटका प्रिय भाइ सुदर्शन न्यौपानेले भन्नुभयो ‘अरू त ठिकै हो सर रुनु चाहिँ किन नि ?’ हाम्रा लागि यो सबैभन्दा अप्ठ्यारो प्रश्न थियो । त्यसको उत्तर तत्काल हामी कसैले पनि दिन सकेनौँ । हामी मुखामुख गर्यौँ ।
हिजो हामीलाई त्यो ठाउँ, त्यहाँका सेवासुविधा र सम्भावनाहरू अपर्याप्त भएरै गाउँ छोडेका हौँ । अहिले हामी जहाँ छौँ हिजोको बाल्यकालको भन्दा राम्रो अवस्थामा छौँ । जीवनलाई सहज पार्न चाहिने धेरै कुराहरू आज हामीसँग छन् । अनि पनि साँच्चै हामीलाई रुन किन परेको होला ? त्यसको उत्तर हामीसँग छँदै थिएन त्यसैले सजिलै कुनै भायको पनि मुखबाट आएन । केही छिनपछि मैले भनेँ ‘त्यसको उत्तर हामीसँग छैन भाइ ।’ यो केवल भावनाको कुरा हो शब्दले व्यक्त गर्न नसक्ने कुरा । सायद ती कुरालाई सम्बोधन गर्ने शब्द अपर्याप्त छन् ।
आफ्नै जमिनमा मोटर बाटो, घरमा बिजुली बत्ती, घरछेउमा विद्यालय, ठाउँठाउँमा पुलहरू, आधुनिक कृषि औजार, मल, बिउबिजन, चाहिएका बेला छरितो साधनद्वारा आवत जावत, रुपैयाँपैसा भए सबै चिजको उपलब्धता आज जसरी गाउँमा प्राप्त छ हिजो हामीले कल्पनै गरेका थिएनौँ । सहज जीवनको खोजीमा हामी गाउँबाट हिँडेका थियौँ । माथि भनिएका धेरै कुराहरू हिजो गाउँमा भएका भए सायद हामी बाहिर हिँड्दैनथ्यौँ । हामी मात्र होइन धेरै मानिसहरूले आफ्नो जन्मभूमि छाड्दैनथे । यी सबै सम्पन्नताहरू एकातिर जन्मभूमि अर्कोतिर राखेर दाँज्दा उही पुरानै स्मृतिहरू बलिया भएर आएपछि मानिस सायद घर गएका बेला रुन्छ । घरकी शोभा आमा सम्झेर रुन्छ, घरको छाना बाबु सम्झेर रुन्छ । बाल्यकालका अरू रमाइला दिन सम्झेर रुन्छ । तीता, पिरा, अमिला घटनाहरू सम्झिएर पनि रुन्छ । सबैभन्दा बढी आफ्नो मुटु त्यहाँको माटोसँग जोडिएकाले रुन्छ ।
यायावरीय जीवनको परम्परा निकै पुरानो हो । वैदिक कालीन जीवनका बारेमाअध्ययन गर्न थाल्ने हो भने यसका गहकिला दृष्टान्तहरू पाइन्छन् । मानिसहरू अहिलेका जस्ता धेरै प्रकारका स्वार्थले प्रेरित पनि थिएनन् । उनीहरूको बस्ने ठाउँको टुङ्गो थिएन र खाने कुराको पनि त्यस्तो खास व्यवस्था थिएन । सभ्यताको विकास हुँदै थियो । भोग्दै सिक्दै गर्ने क्रम जारी थियो । हजारौँ वर्ष त्यसरी बिताएपछि मात्र मानिसले आजको जस्तो विकसित समय पाएको हो । मानिस जन्मियो, मानिससँग भोक जन्मियो । भोकले मानिसलाई सायद धेरै कुरा सिकायो होला । सँगसँगै जन्मियो होला मन पनि । मनलाई चित्त बुझाउन मानिसलाई धेरै प्रयत्न गर्नुपरेहोला भन्ने लाग्छ ।
आज पनि मानिस तन र मनको भोकले नै त चलिरहेको छ । ज्यादै सानो भइकन धेरै कुरा अटाउने मन आजको विज्ञानभन्दा धेरै ठुलो छ । धेरै कुरा गरिसकेर पनि विज्ञानले मनको चित्त बुझाउन सकिरहेको छैन । एकपछि अर्को गरी निराकार मनको इच्छा पूरा गर्नमै व्यस्त छ विज्ञान र सायद ज्ञान पनि यही मनको अधीनमा छ । एउटा कुरा पुरा भयो भन्न नपाउँदै अर्को कुरा गर्ने इच्छा पलाउँछ । भोग र योगको पनि आधारभूमि मन नै हो । मानिससँग रहेका कर्मेन्द्रिय र ज्ञानेन्द्रियको रिमोट कन्ट्रोल मनको अधीनमा छ भनिन्छ । मनलाई वशमा राख्दा योग हुने र मनलाई खुला छाड्दा भोग हुने सिद्धान्तकै वरिपरि छौँ हामीहरू ।
मलाई धेरै मन परेका केही कृतिहरूमध्येको एक मदनमणि दीक्षितको माधवी उपन्यास त्यसमा पनि गहिरो गरी मनमा बसेको घटना माधवी र गालवको यायावरीय यात्रा । अघिअघि माधवी र पछिपछि माधवीलाई खोज्दै हिँडेका गालवको यात्राका क्रमका जेजति दृश्यबिम्बहरूको वर्णन छ त्यो वर्णन पढेर मनमा परेको प्रभाव अमीट रहेर बसेको छ । गाउँमा जाँदा गालवले माधवीका पाइलाको सुगन्ध खोजेझैँ हामीले बाल्यकालको सुगन्ध खोज्न थाल्छौँ । आमाको स्नेहपूर्ण न्यानो बोली खोज्न थाल्छौँ । तमाम अभाव र अपूर्णतामा पखेटाभित्र हामीलाई च्यापेर न्यानो दिइरहने आमाको काख अहिले त्यहाँ छैन । पिताजीको कर्तव्ययुक्त आदेश सम्झिन थाल्छौँ ।
एक प्रकारले गुरुकुल शैलीको हाम्रो घरमा पिताजीले जतिखेर पनि पाठ दिनुहुन्थ्यो । हामी साना छँदा हाम्रो घरमा पिताजीका कोही न कोही अन्तेवासी शिष्यहरू भइरहन्थे । म बेलुका आउँदा यतिओटा सूत्र याद गरिराख्नू वा अमरकोशका यति श्लोक साँझ मलाई सुनाउनू । फलानो सूत्र वा श्लोक अशुद्ध उच्चारण गर्यौ त्यसलाई शुद्ध उच्चारण गर । एवं क्रमले पिताजीले घरको काम अह्राए पनि हामीलाई कौमुदीको पाठ दिएजस्तो लाग्थ्यो । पिताजी कोमल हुनुहुन्थ्यो तर हामी पिताजीसँग असाध्य डराउँथ्यौँ, नजिक पर्न सक्दैनथ्यौँ । पिताजी नभएको घर कसैले कल्पना पनि गर्न सक्दैनथ्यौँ । तर, अब त्यो घरमा पाठ दिने पिताजी पनि हुनुहुन्न । पिताजीको डर पनि छैन । छ त केवल ती सबै कुराको अभावको अँध्यारो गुफा ।
चाहँदैमा रुन कहाँ पाइन्छ र ! न हाँस्न नै पाइन्छ । त्यसको निम्ति कारण चाहिन्छ । त्यो आँसुको उपहार हामीलाई समयले दिएको हो । गाउँ छोडेर पनि सन्तोषपूर्ण जीवन नभएको भए ती आँसुको भिन्नै अर्थ लाग्थ्यो आज भिन्नै अर्थ लागेको छ ती आँसुको ।
त्यो स्मृतिको गुफाभित्र छिर्न कठिन भएर नै हामी भावुक बन्छौँ र रुन्छौँ । प्रिय सुदर्शन बाबु हामी रुने कुरा सुनेर तपाईंलाई आश्चर्य लाग्नु स्वाभाविक पनि होला । तपाईंले अहिलेसम्म आमा नामको संस्थाको स्नेह पाइरहनुभएको छ । आफूमाथि छानो बनेर आमाका न्याना पखेटा रहुन्जेल तपाईंलाई हामीलाई जस्तो रुन मन लाग्दैन । रुने कुरा पनि सायद अचम्म लाग्दो हुन सक्छ । ईश्वरका अनुकम्पाले धेरै समयसम्म तपाईंलाई माताजीको आशीर्वाद प्राप्त भइरहोस् । समयले गर्ने यस्ता धारिला प्रश्न अनि समयले नै दिने तिनको पेचिलो उत्तर पाउन हामीले समयको प्रतीक्षा गर्नैपर्छ ।
त्यो ठाउँ जहाँ पहिलो पटक आँखा खुल्यो, आमाको काखमा च्याँ गरेर पहिलो वाणी निस्कियो त्यही त हो ब्रहृमदृष्टि, त्यही त हो ब्रहृमवाक्य । आज जति पनि ज्ञान गरियो भनेका छौँ त्यसको बीज चेतना त्यही पहिलो रुवाइ नै त हो । जन्मभूमिमा गएर आज रुनु भनेको पनि त्यही चेतनाको स्पष्टीकरण त हो नि सुदर्शन बाबु ! घरमा हिजोका अरू धेरै कुरा थिएनन् जुन कुरा हिजो हामी छँदा थिए । घरभरि दिदीबहिनी दाजुभाइ सधैँ उत्सव मनाउने घरजस्तो, सधैँ चाडबाड आएजस्तो रमाइलो हाम्रो विशाल परिवार, परिवार अनुसारको सबैको आ–आफ्नै दायित्व आज ती सबै कुराहरू पनि छैनन् आज हाम्रो घरमा तर ती धेरै कुराले पनि छोएनन् ।
घरमा बा हुनुहुन्न, आमा हुनुहुन्न यति विशाद नै पर्याप्त थियो हाम्रा लागि । एक प्रकारले हाम्रो संसार नै छैन त्यो ठाउँमा अहिले सायद हामी रुनुको एउटा कारण त्यही थियो । अनि अरू कारणहरू जहाँ पहिलोपटक वामे सरियो त्यो माटो, पहिलो पटक पाइला राखियो त्यो भूमि, पहिलो थोपा आमाको स्तनबाट निस्किएको अमृतस्वरूप दुधको थोपा, यस्तै यस्तै अनगिन्ती यादहरूको कोलाज हो हामीलाई हाम्रो घर । त्यसैले त रुन मन लागे होला । चाहँदैमा रुन कहाँ पाइन्छ र सुदर्शन बाबु ! न हाँस्न नै पाइन्छ । त्यसको निम्ति त कारण चाहिन्छ । अकारणजस्तो लाग्ने त्यो आँसुको उपहार हामीलाई समयले दिएको हो । गाउँ छोडेर पनि सन्तोषपूर्ण जीवन नभएको भए ती आँसुको भिन्नै अर्थ लाग्थ्यो आज भिन्नै अर्थ लागेको छ ती आँसुको ।
यस यात्रामा केही आफन्तसँग भेट्दा मलाई आमा हुने समयको एउटा घटनाको सम्झना भयो । आमा जीवनको अन्तिम समयको वरिपरि हुनुहुन्थ्यो । केएमसीको एउटा बेडमा उपचाररत हुनुहुन्थ्यो । आमाको अन्तिम अवस्थाको सूचना पाएर धेरै आफन्तजन आमालाई भेट्न अस्पतालमा आउने क्रम बढिरहेको थियो । आमा आफ्ना हरेक आफन्तलाई भेट्दा रोइरहनुभएको थियो । आमा किन रुनुभयो त्यो कुरा आमाको देहावसानसँगै समाप्त भयो । तर, त्यही समयको भेटमा आउनुभएका एकजना आफन्तले बाहिर आएर अरू आफन्तसँग ‘बिचरा निकै दुःख दिएछन् छोराहरूले हामीलाई देख्दा रुनुभयो’ भनेछन् । ती आफन्तसँग पनि यसपटक भेट भयो । सायद आमा त्यो कारणले भन्दा पनि अन्य कारणले रुनुभएको थियो । जसोतसो आफ्नो गच्छे अनुसारको हेरचाह हामीले गरेका थियौँ । सायद आमालाई जीवनको समाप्तिको बोध भएर रुनुभएको थियो ।
त्यस्तै यसपटक पिताजीले हाम्रो लालनपालनको निम्ति गुरुकुल चलाएर बसेको जैमिनि घाट (जसलाई मीमांसा दर्शनका प्रतिपादक महर्षि जैमिनिले तपस्या गरेको ठाउँ भनिन्छ । स्थानीय जनबोलीमा ज्यामिरघाट) को बाटो हुँदै आउँदा मन ढक्क फुलेर आयो । दुई थोपा श्रद्धाका आँसु त्यहाँ पनि विसर्जन भए । यस्तै घटना परिघटनाहरूले हामी रुन्छौँ अनि आफन्तका स्वकीय बुझाइ र तिखा प्रतिक्रियाले नै हामीलाई बाँच्ने र निरन्तर आगो बन्ने प्रेरणा प्राप्त हुन्छ । गाह्रो नमान्नु प्रिय सुदर्शन बाबु तपाईंको प्रश्नको चित्तबुझ्दो उत्तर अहिले हामीसँग छैन । जननीजन्मभूमिश्च स्वर्गादपि गरीयसी !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच