
०८० हामीबाट बिदा भएको छ । आज शनिबारदेखि हामी ०८१ मा प्रवेश गरेका छौँ । अर्को एक नयाँ वर्षमा प्रवेश गरेका छौँ । संसारभरका देशमा आ-आफ्नै प्रकारका नयाँ वर्ष हुने गरेका छन् । हामीले वैशाख १ गते राष्ट्रिय रूपमा नयाँ वर्ष मनाउँदै आएका छौँ भने साउन १ गतेबाट नयाँ आर्थिक वर्ष । यसका अलावा हाम्रो देशमा एकै वर्षमा दर्जन नयाँ वर्ष मनाउने गरिन्छ । धार्मिक, सरकारी र संस्कृतिको दृष्टिले फरक-फरक किसिमका नयाँ वर्ष हामी मनाउँछौँ । विक्रम सम्वत्, ईश्वी सम्वत्, नेपाल सम्वत्, शक, तमु ल्होसार, ग्याल्वो ल्होछार, सोनाम ल्होछार, हजिरी, कृष्ण सम्वत्देखि सृष्टि सम्वत्सम्म नयाँ वर्ष हाम्रो अस्तित्वमा छन् । त्यस्तै, थारू समुदाय र मगर समुदायले माघ-१ लाई पनि नयाँ वर्षका रूपमा मनाउँदै आएका छन् । राष्ट्रिय सम्वत् मानिएको विक्रम सम्वत् अन्तर्राष्ट्रिय ईश्वी सम्वत् तथा विभिन्न जात, धर्म, समुदाय, समूह र सम्प्रदायका सम्वत्ले हामीलाई एकै वर्षमा थुप्रै नयाँ वर्ष दिएको छ ।
नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८० लाई फर्केर हेर्दा सुखद मान्न सकिँदैन । कमाइको गणना २०८१ मा हुने भए पनि यही वर्ष रिलिज हुने दुई चलचित्र ‘डिग्री माइला’ र ‘रेड सुटकेस’ (चैत ३० मा प्रदर्शन)लाई जोड्दा यो वर्ष नेपाली बक्स अफिसमा ५३ वटा नेपाली चलचित्र सिनेमा घरमा आएका छन् । वर्षभरि चलचित्र हेर्दा यो वर्षका सुरुवातमा ‘जारी’ले राम्रो सुरुवात गरेको थियो भने वर्षको अन्त्यमा चलचित्र ‘महाजात्रा’ले दर्शकको साथ पाएको छ ।
यतिबेला ०८० लाई फर्केर विभिन्न कोणबाट समीक्षा भइरहेको छ । नेपाली चलचित्र क्षेत्रमा पनि ०८० मा विभिन्न चर्चा र परिचर्चा भए । केही समय कोरोना महामारीले थला परेको यो क्षेत्र जसरी ०७९ मा केही हदसम्म जुर्मुरायो तर ०८० मा त्यसको रफ्तार त्यहीअनुरूप अघि बढ्न भने सकेन ।
५३ चलचित्र सिनेमा घरमा
नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८० लाई फर्केर हेर्दा सुखद मान्न सकिँदैन । कमाइको गणना २०८१ मा हुने भए पनि यही वर्ष रिलिज हुने दुई चलचित्र ‘डिग्री माइला’ र ‘रेड सुटकेस’ (चैत ३० मा प्रदर्शन)लाई जोड्दा यो वर्ष नेपाली बक्स अफिसमा ५३ वटा नेपाली चलचित्र सिनेमा घरमा आएका छन् । वर्षभरि चलचित्र हेर्दा यो वर्षको सुरुवातमा ‘जारी’ले राम्रो सुरुवात गरेको थियो भने वर्षको अन्त्यमा चलचित्र ‘महाजात्रा’ले दर्शकको साथ पाएको छ ।
दयाहाङदेखि दयाहाङसम्म
०८० मा चलचित्र ‘जारी’ र ‘महाजात्रा’ सुपरहिट देखिन्छन् भने अन्य ६ वटा चलचित्रले लगानी सुरक्षित गरेको देखिन्छ । २०८० वैशाख १ मा दयाहाङ राई अभिनित ‘बिहे पास’ र ‘जारी’ बाट सुरु भएको नेपाली चलचित्र प्रदर्शन २०८० चैत ३० मा पनि दयाहाङकै ‘डिग्री माइला’ रिलिजसँगै वर्षको अन्त्य भएको छ । नेपाली चलचित्रमा ०८० दयाहाङदेखि दयाहाङसम्म रहेको छ । यो वर्ष दयाहाङका मात्रै नौवटा चलचित्र सिनेमा घरमा आएका छन् । उहाँका नौ चलचित्रमा चार चलचित्रले निर्मातालाई सुरक्षित राखेका छन् । यद्यपि, दयाहाङकै ‘जारी’ सर्वाधिक कमाइ गर्ने चलचित्र बन्न सफल भयो । अब हिजो शुक्रबारदेखि सिनेमा घरमा आएको दयाहाङकै चलचित्र ‘डिग्री माइला’ले के कस्तो व्यापार गर्ने हो, एक–दुई दिनमा थाहा नै हुनेछ । अहिले भने यो चलचित्रले सुखद व्यापार गर्नेमा निर्माण पक्ष ढुक्क देखिन्छन् । ०८० मा चलचित्र ‘बिहे पास’, ‘हात्तीछाप’, ‘नीरफूल’, ‘रंगेली’ जस्ता दयाहाङका चलचित्रले भने निर्मातालाई निराश बनाए । चलचित्र ‘दिमाग खराब’, ‘दयारानी’, ‘नांगो गाउँ’ले निर्मातालाई सुरक्षित राख्न सफल भए ।
०८० मा चलचित्र ‘परदेशी-२’, ‘अगस्त्य : च्याप्टर १’ ‘गोर्खा वारियर’, ‘पशुपति प्रसाद-२’, ‘बगान’, ‘उपहार’ जस्ता चलचित्रले पनि निर्मातालाई सुरक्षित राख्न सफल भए । यो वर्ष सिनेमा घरमा केही चलचित्र भने कहिले आए कहिले गए पत्तो पनि भएन । केही चलचित्र निकै राम्रो भनिए पनि दर्शकलाई सिनेमा घरसम्म तान्न सकेनन् । चलचित्र ‘बद्री बहादुर’, ‘चित्रा’, ‘हात्तीछाप’, ‘बुलाकी’, ‘कैदीको पत्र’, ‘हलकारा’, ‘नाइँ नभन्नु ल–६’, ‘ए साथी सुन’, ‘हुक्का’, ‘जय हो’, ‘ऐँचो पैँचो’, ‘जिग्री’, ‘दुई कदम’, ‘रंगेली’, ‘एक भगवत् र एक गीता’, ‘ज्याकी : आई एम ट्वान्टी वान’ जस्ता चलचित्रले दर्शकको मन जित्न सकेनन् र निर्मातालाई निराश बनाए । यस्तै, चलचित्र ‘लुंगा’, ‘कौसिद’, ‘परस्त्री’, ‘बगान’, ‘अदृश्य’, ‘गणपति’ले पनि दर्शकको साथ पाउन सकेनन् ।
‘महाजात्रा’ ले तोड्ला त ‘जारी’ को रेकर्ड ?
चैतको ९ गतेदेखि सिनेमा घरमा आएको चलचित्र ‘महाजात्रा’ले बक्स अफिसमा बम्पर व्यापारलाई कायमै राखेको छ । चलचित्र रिलिजको तेस्रो सातामा पनि यसको व्यापार आक्रामक रहृयो । दुई सातामा १० करोड १४ लाख ग्रस कलेक्सन गरेको चलचित्रले तेस्रो सातामा पनि करिब चार करोडको व्यापार गरेको निर्माण पक्षले जनाएको छ । निर्माण पक्षका अनुसार चलचित्रको व्यापारले तेस्रो सातामा १४ करोड ग्रस गरेको छ ।
यो चलचित्रलाई तेस्रो सातामा दर्शकले झनै उत्साहजनकरूपमा साथ दिए । यसैले, चलचित्रले नयाँ–नयाँ रेकर्ड बनाइरहेको छ । चलचित्र ‘महाजात्रा’बाट निर्देशक प्रदीप भट्टराईले ‘शत्रु गते’ले कमाएको १४ करोडको व्यापारको आँकडा तोडेको छ । साथै, विपिन कार्की, वर्षा राउतदेखि हरिवंश आचार्यसम्मको करिअरमा सर्वाधिक ग्रस कलेक्सन गर्ने चलचित्र ‘महाजात्रा’ बनेको छ ।
यो वर्ष सर्वाधिक कमाइ गर्ने चलचित्र ‘जारी’ले करिब साढे १७ करोड ग्रस कलेक्सन गरेको थियो । अब, ‘महाजात्रा’लाई यो रेकर्ड ब्रेक गर्नका लागि साढे तीन करोडमाथिको ग्रस कलेक्सन आवश्यक छ ।
नयाँ वर्षमा पनि चलचित्रले हलमा राम्रो सोज पाएको छ । दर्शकको बाक्लो उपस्थिति झनै बढेका कारण यो चलचित्र अझै केही साता हलमा चल्नेछ । जसको फाइदा यसको व्यापारिक आँकडामा हुनेछ ।
चलचित्रले नेपाली बक्स अफिसमा मात्र होइन, ओभरसिजमा पनि आक्रामक कमाइ गरिरहेको छ ।
एक अर्बभन्दा बढी लगानी
वर्षभरि चलचित्र हेर्दा सबैभन्दा बढी सिनेमा घरमा वैशाख, भदौ, फागुन र चैत महिनामा आए । लगानीका हिसाबले धेरै थोरै गरेर ५३ चलचित्र निर्माण गर्न यो वर्ष एक अर्बभन्दा बढी लगानी भएको देखिन्छ । तर, सुपरहिट र औसत चलचित्रको व्यापारसमेत जोड्दा मुस्किलले ८५ करोड हाराहारी उठेको देखिन्छ । त्यसमा पनि सुपरहिट चलचित्र ‘जारी’ र ‘महाजात्रा’ले मात्रै ३० करोड व्यापार गरेका छन् ।
फेस्टिभलमा नेपाली चलचित्र
२०८० सालमा केही नेपाली चलचित्र विदेशी महोत्सवमा देखापरे । मीनबहादुर भामको ‘शाम्बाला’ बर्लिनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा विधामा छनोट हुने पहिलो नेपाली मात्र होइन दक्षिण एसियाली चलचित्र बन्यो । टोरन्टोमा वल्र्ड प्रिमियर भएको नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ पहिलोपटक बेइजिङमा छनोट भएको थियो । टोरन्टो, बुसान, साओ पाउलो, मुम्बईमा यो चलचित्र स्क्रिनिङ भएको थियो ।
यस्तै, चलचित्र ‘द रेड सुट्केस’ भेनिस प्रिमियर हुँदै मुम्बई, हेडेलवर्ग, जेनेभिया, सर्बियामा स्क्रिनिङ भएको थियो । ‘गुराँस’ बुसान, मुम्बई, केरला, कोलकाता, कार्लोभो भारीमा स्क्रिनिङ भएको थियो । ‘ढोरपाटन’ सेफिल्ड डकफेस्ट, ‘साक्षी रूख’ बुसान, रोट्रड्याम, क्लेरमोन्ट फेराडमा छनोट भएको थियो । अन्तर्राष्ट्रिय फेस्टिभलमा छोटा चलचित्रको उपस्थिति पनि राम्रै देखियो ०८० मा । केसाङ छेतेनको ‘डाइभर्सिटी प्लाजा’ डकुमेन्ट्री, सुनिल गुरुङको ‘विन्डहर्स’, विदूषी गिरीको ‘चिसो घर’ र ‘हेलेना’ले चर्चा पाए ।
अन्तर्राष्ट्रिय बजार
नेपाली चलचित्र अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन हुन थालेका छन् । अहिले प्रविधिले सहजता दिएको हो । एउटा सर्भरमा इन्कोडिङ गरे विश्वभर चलचित्र प्रदर्शन गर्न सकिन्छ । पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा प्राप्त गर्न थालेको छ । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार भइरहेको छ । मौलिक कथा र कलात्मक प्रस्तुति रहेको नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायत देशमा बजार बनिरहेको छ । पहिलोपटक चलचित्र ‘गोर्खा वारियर’लाई लण्डनमा प्रिमियर गरियो । पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत गर्न थालेको छ । नेपालमा राम्रो भनिएका र राम्रा ब्यानरले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शक हेर्न लालायित हुने भएकाले पनि विदेशबाट राम्रै मुनाफा स्वदेश भित्रिने गरेको छ । मुनाफासँगै यसले बजार विस्तारमा टेवा पुर्याइरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले हलमै दर्शकले हेर्न पाउँछन् । विदेशमा नेपाली चलचित्रको बजार बढेको सन्दर्भ जति तारिफयोग्य छ, त्यति नै नेपालमै बजार विस्तार नहुनु दुःखद छ ।
नयाँ अनुहार
२०८० मा नेपाली चलचित्रमा थुप्रै नयाँ अनुहार पर्दामा आए । चलचित्र निर्माणसँगै यो क्षेत्रमा नयाँ अनुहारको आकर्षण बढ्दो छ । २०८० मा पनि केही नयाँ कलाकारले सम्भावना देखाएका छन् । ०८० को वैशाखमा प्रदर्शन भएको चलचित्र ‘नाइँ नभन्नु ल–६’ बाट आशीर्वाद क्षेत्री ठूलो पर्दामा देखिनुभयो । यस्तै, असारमा सिनेमा घरमा आएको चलचित्र ‘बगान’मार्फत् अभिनेत्री प्रमिला कार्कीले आफूलाई दर्शकमाझ प्रस्तुत गर्नुभयो । मंसिरको अन्तिम साता प्रदर्शन भएको चलचित्र ‘दुई कदम’बाट दुई नयाँ अनुहार इओन लिम्बू र सिमोन गिरीले अभिनयको सुरुवात गर्नुभयो । माघे संक्रान्तिलाई लक्षित गर्दै पुसको अन्तिम साता प्रदर्शन गरिएको चलचित्र ‘पर्खी बसेँ तिमीलाई’मार्फत् अभिनयमा रक्षा बुढाथोकी र किरण श्रेष्ठले आफूलाई प्रस्तुत गर्नुभयो ।
यस्तै, पुसमा प्रदर्शन भएको चलचित्र ‘चित्रा’मार्फत् सन्तोष अधिकारीले आफूलाई ठूलो पर्दामा प्रस्तुत गर्नुभयोे । फागुनको दोस्रो साता प्रदर्शन गरिएको चलचित्र ‘गोर्खा वारियर’मार्फत् रितेश चाम्सले अभिनयको सुरुवात गर्नुभयो ।
नयाँ वर्ष विसं २०८१ मा चलचित्र ‘११ः५५’मार्फत् सागर खनाल, चलचित्र ‘फर्की फर्की’मार्फत् रवि काफ्ले र समृद्धि अर्याल, चलचित्र ‘बलिदान’मार्फत् अभिनेता विराज भट्टका छोरा समीर भट्टलगायत नेपाली चलचित्रमा डेब्यु गर्दै हुनुहुन्छ । उहाँहरूले आफूलाई कसरी प्रस्तुत गर्नुहुन्छ, त्यो उहाँहरूका आगामी दिनले तय नै गर्नेछ । अहिलेलाई भने नेपाली चलचित्रले नयाँ-नयाँ कलाकार पाइरहेको छ । नयाँ पुस्ताले चलचित्रको विभिन्न विधामा रुचि देखाउनु र अध्ययन गरेर आउनुले यस क्षेत्रको भविष्य उज्ज्वल रहेको संकेत गर्दछ । उनीहरूको सक्रियताले नेपाली चलचित्र अझै परिवर्तन हुनेमा विश्वस्त हुन सकिन्छ । ५८ वर्षे इतिहास बोकेको नेपाली चलचित्रलाई अझ समृद्ध बनाउने जिम्मा नयाँ पुस्ताकै काँधमा छ ।
नयाँ वर्ष नयाँ उमंग लिएर आएको छ । यो वर्ष विगतका वर्षमा जस्तो देशले अनेक झमेलाको सामना गर्न नपरोस् । नयाँ वर्ष नयाँ दिनजस्तै वर्षैभरि उमंग छाओस् । आमनेपालीलाई शान्ति र विकासको बाटोमा डोर्याउन सफल होस् । नेपाली भाषा, साहित्य, कला, संस्कृतिको मार्ग अझ फराकिलो होस् । नेपाली चलचित्रले अझ फड्को मारोस् । नयाँ वर्ष नयाँ किरण भन्ने कुराको स्मरण पछिसम्म रहोस् । यही कामना नयाँ वर्ष २०८१ मा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच