
काठमाडौं । आज विक्रम सम्वत् २०८१ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । नेपाल र विदेशमा रहेका नेपालीहरूले एक–आपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउँदै छन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख संक्रान्ति अर्थात् मेष संक्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।
नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भलाई भनिन्छ । नेपाललगायत विक्रम सम्वत् मान्ने स्थानहरूमा वैशाख १ गतेका दिन र इस्वी सम्वत् मान्ने स्थानहरूमा जनवरी १ तारिखका दिन नयाँ वर्ष मनाइन्छ । हामीकहाँ विभिन्न जात जातिका आ–आफ्नै नयाँ वर्ष रहेका छन् । यस दिनमा प्रचलित परम्पराअनुसार विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गरिन्छ ।
सरकारले नयाँ वर्षको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता–असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन आज नयाँ योजनाको संकल्प गर्दछन् । आजको दिनमा नयाँ ठाउँमा घुम्ने, नयाँ कपडा लगाउने, साथीभाइ भेटघाट, परिवार आफन्तसँग बसेर खुसी साथ मनाइने गरिन्छ ।
विक्रम संवत् २०८१ मा तीनवटा दशैँ परेका छन् । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने २ वटा चैते दशैँ परेको छ । वैशाख ४ गते मंगलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।
बडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ यस वर्ष असोज १७ गते बिहीबार घटस्थापना गरेर सुरु हुने भएको छ ।असोज २४ गते बिहीबार फूलपाती, २५ महाअष्टमी र महानवमी तथा असोज २६ गते शनिबार विजयादशमी परेको छ ।
त्यसैगरी, चैत्र २३ गते शनिबार चैते दशैँ परेको छ । चैते दशैँ नेपालका अधिकांश भागहरूमा धूमधामसँग देवीको पूजाआजा गरेर मनाउने गरिन्छ । चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच