काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा एकपछि अर्को अनियमिततामा मुछिएका सुनील पौडेल र विकल पौडेलविरुद्ध अख्तियारमा मुद्दा दायर भएसँगै पौडेलद्वयको भ्रष्टाचार संरक्षणको आडका विषयमा प्रश्नहरू उठ्न थालेका छन् । पावर सिष्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांकको खरिदमा बदनियतपूर्वक मिलेमतो गरी ठूलो कमिसनको चलखेलमा लागेका पौडेलद्वयको अनियमितताको जालो कसरी मौलायो भन्ने चौतर्फी प्रश्न उठेको हो ।
विकल पौडेल र सुनील पौडेल नेपालको सूचना प्रविधिका क्षेत्रमा पावर सेन्टरलाई प्रभावमा पारी एकपछि अर्को फड्को मार्न सफल हुँदै आएका थिए । पौडेल बन्धु एक करोड लागतमा हुने काम एक अर्ब बनाउँदै त्यसबाट अथाह लाभ लिने र त्यही लगानी शक्ति केन्द्रमा बुझाएर राज्यका सूचना प्रविधिसम्बन्धी संस्थाको प्रमुखमा नियुक्ति लिन सफल पात्र हुन् ।
सुनील पौडेलले ६ वर्षअघि देशका लागि आवश्यक नै नभएको नेसनल पेमेन्ट गेटवे २५ करोडमा खरिद गरे, जुन प्रणाली अहिलेसम्म पनि त्यत्तिकै थन्किएको छ । सुरक्षण मुद्रण विकास समितिको कार्यकारी निर्देशक हुँदादेखि नै विकल पौडेलले सेक्युरिटी प्रेसको लागत आठ अर्बबाट २७ अर्ब रुपैयाँ पुर्याउने काम गरेका थिए । जुन पार्टीको सरकार आए पनि ती पार्टीका शीर्ष नेतालाई नै प्रभावमा राख्नसक्ने खुबी भएका पौडेल बन्धुले सूचना प्रविधि क्षेत्रमा राष्ट्रलाई अर्बौं हानि नोक्सानी पु¥याएको कुरा त महालेखा परीक्षकको प्रतिवेदनले औँल्यायो, तर उनीहरूको भ्रष्टाचारको यात्रा रोकिएन । गोकुल बास्कोटा सञ्चारमन्त्री हुँदा उनका भित्रिया बनेका पौडेल बन्धु मोहनबहादुर बस्नेतदेखि ज्ञानेन्द्र कार्की हुँदा पनि उत्तिकै हावी थिए । यी पौडेल बन्धुमध्ये विकल पौडेल त अमेरिकाका ग्रिनकार्ड होल्डर हुन् ।
टेलिकमको एमडी नियुक्ति गराउँदा चार करोडको गाडी उपहार
पौडेल बन्धुलाई पावर सेन्टरमा पुर्याउने मुख्य पात्र हुन्, साबिक धनकुटाको मुगा र हाल मालीगाउँ घर भएका सिद्धार्थ थापा । सिद्धार्थ थापा पञ्चायत कालदेखि बहुदल कालमा समेत प्रधानमन्त्री हुन सफल सूर्यबहादुर थापाका नाति, राप्रपा हुँदै हाल कांग्रेसका नेता भएका सुनील थापाका छोरा हुन् । सिद्धार्थ पछिल्लो दशकमा राजनीतिक परिवारमा हुर्केका सबैभन्दा प्रभावशाली बिचौलिया हुन्, उनले नै विकल र सुनीललाई डा. आरजू राणा, केपी शर्मा ओलीदेखि ज्ञानेन्द्रबहादुर कार्की, मोहन बस्नेत र हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ जीवन आचार्यसँग कनेक्सन मिलाएर सूचना प्रविधि क्षेत्रमा एकपछि अर्को नियुक्ति दिलाउने काम गरेको तथ्य उनीहरूलाई नजिकबाट चिन्ने सबैलाई जानकार छ ।
सिद्धार्थ थापाले नै विकल पौडेल र सुनील पौडेललाई बालुवाटारमा लगेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीर देउवासँग निकट बनाएका थिए । त्यही कनेक्सनका आधारमा सुनील पौडेललाई नेपाल दूरसञ्चार संस्थान (टेलिकम)को प्रबन्ध निर्देशक नियुक्त गराइयो । सेक्युरिटी प्रेस खरिदमा विवादमा परेका विकल पौडेललाई पुनः नियुक्ति गरियो ।
स्रोतका अनुसार सुनील पौडेललाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाउनका लागि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र त्यतिबेलाको बालुवाटारलाई मिलाउन भनी सिद्धार्थ थापाले चार करोड मूल्य बराबरको बिएमडब्लु गाडी उपहार लिएका थिए । सुनील पौडेललाई नियुक्ति गराएबापत पाएको उपहारको त्यही गाडी प्रयोग गरी सिद्धार्थ थापा अहिले पनि ठूला ठेक्कामा सेटिङमा हिँड्ने गरेका छन् ।
विकल पौडेलमार्फत सूचना प्रविधि पार्क बनेपाको भवन निर्माणको ठेक्का मिलाइदिन्छु भनी केसी कन्ष्ट्रक्सनका रोहन केसीसँग डिल गर्ने पनि उनै हुन् । तर, काम नमिलाउँदै विकलमाथि भ्रष्टाचार मुद्दा दर्ता भएर निलम्बनमा परेपछि एडभान्सबापत रोहनसँग लिएको रकम अझै फिर्ता नगरेको स्रोतको दाबी छ । बरु प्रधानमन्त्रीकी छोरी तथा बालुवाटारकी शक्तिशाली प्रमुख स्वकीय सचिव गंगा दाहाल र उनका पति जीवन आचार्यमार्फत उक्त ठेक्का उक्त कम्पनीलाई दिलाएरै छाड्ने आश्वासन रोहन केसीलाई दिँदै आएका छन् ।
जुन पार्टी सरकारमा आए पनि बालुवाटारमा अटुट पहुँच
त्यसो त जुन पार्टी सरकारमा आए पनि सिद्धार्थ थापाहरूको पहुँच बालुवाटारका शक्ति केन्द्रमा पुग्ने गरेको छ । ठूला ठेक्का, नियुक्ति र सरुवामा उनीहरूकै बोलवाला रहँदै आएको छ । वर्तमान सरकारका दुवै घटक नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैतिर सिद्धार्थले सेटिङ मिलाउने गरेका छन् । सिद्धार्थ थापा जस्ता बिचौलियाको उद्योग, व्यापार र आयस्रोतको बाटो भने केही पनि देखिँदैन । तर, करोडौँ पर्ने गाडीहरूदेखि जीवनशैली अर्बपति व्यापारीको भन्दा पनि बढी देखिन्छ । उनी ठेक्कापट्टा, कर्मचारी सरुवा र नियुक्तिको मोलतोल गर्न होटल होटलमा डिल गर्न तल्लीन छन् । कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसँग पनि सिद्धार्थ थापाको उठबस बाक्लो छ ।
त्यसो त स्यानिटरी प्याडको व्यापारतिर लागेका देउवापुत्र जयवीर सिद्धार्थ थापाकै डिजाइनमा अफ्ठेरोमा परेका छन् । अघिल्लो वर्षको बजेटमा जयवीरकै लागि स्यानिटरी प्याड आयातमा ९० प्रतिशत भन्सार छुट दिने प्रावधान ल्याइएको थियो । ९० प्रतिशत भन्सार छुट दिएर स्वदेशी स्यानिटरी प्याड उत्पादन बन्द गराउन लागिएकोमा विरोध हुँदै आएको छ । देउवा शक्तिहीन भएपछि यही स्यानिटरी प्याड प्रकरणले जयवीरलाई अख्तियार जस्ता निकायले अप्ठेरोमा पार्नसक्ने खतरा उत्तिकै छ ।
सुनील थापा कांग्रेसको राजनीतिमा छन् भने उनका छोरा सिद्धार्थ अहिले पनि बाबु कांग्रेसको नेता भएकाले उनको आडमा बिचौलिया धन्दा गर्ने गर्दछन् । माओवादी केन्द्रमा राष्ट्रिय ज्वाइँको उपमा पाएका कोशी प्रदेश सभाका सांसद जीवन आचार्य र उनकी पत्नी गंगा दाहालसँग कनेक्सन भएका रामेछापका मनोज ढुंगेलले विभिन्न ठेक्कादेखि नियुक्ति र सरुवा बढुवाको बिचौलियाको काम गर्ने गरेका छन् । प्रचण्ड प्रधानमन्त्री भएपछि सिद्धार्थले मनोज ढुंगेलमार्फत जीवन आचार्यबाट काम लिने गरेका छन् ।
पौडेलले एक दशकदेखि सबै ठूला दलका शीर्षनेता र उनीहरूका पारिवारिक सदस्यका अतिरिक्त तत्कालीन मुख्यसचिव शंकरदास वैरागीलाई मुठ्ठीमा राख्दै देशको सूचना प्रविधि क्षेत्रका अर्बौंका ठेक्कामा सेटिङ गर्दै आएका थिए । सेक्युरिटी प्रेस खरिदमा अस्वाभाविक लागत स्टिमेट तयार गर्ने विकल पौडेल नै थिए । २०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आठ अर्ब रुपैयाँमा खरिद गर्ने र हेटौँडामा राख्ने भनिएको सेक्युरिटी प्रेसको लागत मूल्य विकल पौडेलकै डिजाइनमा ३ गुणा बढाएर २७ अर्ब रुपैयाँसम्म पुर्याइएको थियो । पौडेलले नै सबै फिचर थप्ने भनेर उक्त प्रेसको बढाउँदै बढाउँदै ३३ अर्ब पुर्याएका थिए ।
केन्द्रका कार्यकारी निर्देशक पौडेलले सेक्युरिटी प्रेस खरिद गर्ने निश्चित नहुँदै २० करोड रुपैयाँको भूमिगत इन्धन भण्डारण ट्यांकी निर्माण गरेका थिए । प्रेस खरिद नहुँदै विद्युत् प्रसारण लाइन, ट्रान्सफर्मर जडान, भूमिगत इन्धन भण्डारण ट्यांकी निर्माण भएका थिए । यी तीनवटै योजनामा करिब ६९ करोड रुपैयाँ अनियमितता भएको अख्तियारको ठहर छ ।
सेक्युरिटी प्रेस स्थापना गर्ने सम्बन्धमा गुरुयोजना र लागत अनुमान स्वीकृत नै नगरी अघि बढाइएको मेसिन तथा उपकरणको खरिद प्रक्रिया त्रुटिपूर्ण रहेको महालेखा परीक्षकको ५८औँ प्रतिवेदनमा औँल्याएको थियो । खरिद योजनाबिना ८६ करोड २७ बढी खर्च भएको देखिएको हो । जसमा एक करोड ९९ लाख चार हजारको गाडी किनिएको थियो । खरिद भएका कतिपय उपकरणहरू उपयोगविहीन रहेको महालेखा परीक्षकको प्रतिवेदनले औँल्याए पनि पौडेलमाथि कुनै कारबाही भएको थिएन । त्यसो त राज्यका सबै पावर सेन्टरलाई मुठ्ठीमा राखेको र अख्तियार जस्ता निकायले आफूलाई छुन नसक्ने भ्रममा पौडेल थिए । तर, नीतिगत भ्रष्टाचार गरेर अर्ब जम्मा गरेका पौडेललाई अन्ततः अख्तियारले कानुनको कठघरामा उभ्याएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच