काठमाडौं । नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नु गलत भएको जिकिर गरेका छन् । एमालेबाट विभाजन भएर बनेको पार्टीका अध्यक्ष, वरिष्ठ (सम्मानित) नेता र महासचिवले जबजलाई मार्गदर्शक सिद्धान्त मान्न नसकिने बताएका हुन् । आइतबार काठमाडौंमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रियामा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले जबजलाई मार्गदर्शक सिद्धान्त मान्न नसकिने बताउनुभएको हो ।
अध्यक्ष नेपालले जबजको मार्गदर्शक सिद्धान्त चलेकामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दोष दिन नहुने बताउनुभयो । यस्तै, सम्मानित नेता खनालले समाजवादी क्रान्तिको युगमा जबज मार्गदर्शक सिद्धान्त भन्नु लज्जास्पद भएको टिप्पणी गर्नुभयो । महासचिव घनश्याम भुसालले यसअघि नै अब ‘जबज’को सन्दर्भ सकिएको बताउँदै आउनुभएको छ । २०४९ सालमा मदन भण्डारीले अघि सारेको जबजको च्याप्टर क्लोज भएको भुसालको भनाइ छ । उहाँले जबज मात्रै होइन माओवादको पनि सन्दर्भ सकिएको बताउँदै आउनुभएको छ ।
जबज चलेकामा ओलीलाई दोष दिनु हुँदैन : नेपाल
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जबजको मार्गदर्शक सिद्धान्त चलेकामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दोष दिन नहुने बताउनुभएको छ । ‘हिजो आठौँ, नवौँ महाधिवेशनले धेरै गलत कुरा अगाडि सार्यो, जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त भनेर । अनि, त्यही मार्गदर्शक सिद्धान्तमा केपी ओली चलिरहेका छन्, केपी ओलीलाई के दोष दिनु ? महाधिवेशनले पास गरिसकेपछि उनलाई दोष दिने कुरो पनि भएन,’ उहाँले भन्नुभयो, ‘त्यो बेलामा गलत विचार अगाडि सारिएको थियो । तर, हामीले मार्गदर्शक सिद्धान्त भन्ने पनि होइन । त्यसको औचित्य समाप्त भयो भनेर...। त्यसका कतिपय पक्ष छन्, बहुदलीय प्रतिस्पर्धा र लोकतान्त्रीकरणको पक्ष छ । यी पक्षलाई बेवास्ता गर्ने होइन ।’ मदन भण्डारी र मनमोहन अधिकारीलाई सम्मान गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पार्टीको महाधिवेशनले नै पारित गरेर त्यही विचारलाई अघि सारेकामा दोष दिन नमिल्ने उहाँले बताउनुभयो । ‘अरू दलले समाजवादी कार्यक्रम अघि सार्न नसकेको उहाँले टिप्पणी गर्नुभयो । ‘हाम्रो पार्टीले समाजवादी क्रान्तिको कार्यक्रम लिनुपर्छ भन्ने विचार अघि सा¥यो । अरू पार्टीले भन्न सकेका छैनन्,’ उहाँले भन्नुभयो ।
समाजवादी क्रान्तिको युगमा जबज भनेर हिँडिरहेका छन् : खनाल
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी क्रान्तिको युगमा जनताको बहुदलीय जनवाद (जबज) मार्गदर्शक सिद्धान्त भन्नु लज्जास्पद भएको टिप्पणी गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीमा देखिएको परिवर्तन अधोपतन भएको उहाँले टिप्पणी गर्नुभयो । ‘१४ वर्ष जेल बसेका मान्छे अहिले समाजवादी क्रान्तिको युगमा जबज हाम्रो मार्गदर्शक सिद्धान्त भनेर हिँडिरहेका छन् । लज्जास्पद कुरा हो,’ उहाँले भन्नुभयो, ‘माक्र्सवाद, लेनिननवाद पनि होइन, सबैभन्दा पहिले के आउँछ भन्दा जबज हो ।’ एमालेसँग एकीकृत समाजवादीको सैद्धान्तिक र वैचारिक भिन्नता प्रष्ट पारिनुपर्नेमा उहाँले जोड दिनुभयो । समाजवादी संगठन निर्माण गर्न शक्तिशाली पार्टी चाहिने उहाँले बताउनुभयो । ‘समाजवादी संगठन निर्माण गर्दै अघि जानुपर्ने छ । त्यसका लागि अत्यन्त शक्तिशाली क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्ने छ । अहिले नेकपा (एकीकृत समाजवादी) सानो होला, तर हामी यो क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्त लिएर गयौँ भने दिन दुई गुना रात चार गुना बढ्दै जानेछ,’ उहाँले भन्नुभयो, ‘हामीले सही कार्यदिशा लिएर जानुपर्ने हुन्छ । हामी ढुलमुलाउन थाल्यौँ भने न पार्टी बन्छ न क्रान्ति ।’
दक्षिणपन्थी अवसरवाद नतोडेसम्म समाजवादी क्रान्ति अघि बढ्न नसक्ने उहाँको भनाइ छ । पार्टी तीन वर्ष पुग्न लाग्दा पनि हिजोको धङधङीबाट अघि बढ्न नसकेको उहाँले टिप्पणी गर्नुभयो ।
‘एमाले र माओवादीले समाजवाद ल्याउन सक्दैनन्’
एकीकृत समाजवादीका नेताहरूले कुनै पनि कम्युनिष्ट पार्टीले समाजवादी कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरेका छन् । एकीकृत समाजवादीका महासचिव भुसालले एमाले र माओवादी केन्द्रले नेपालमा समाजवाद ल्याउन नसक्ने ठोकुवा गर्नुभयो । एमाले समाजवादी क्रान्ति ल्याउन बनेको पार्टी नै नभएको उहाँले जिकिर गर्नुभयो । एमाले व्यक्ति पूजामा अझै केही समय अल्झिरहने उहाँको भनाइ थियो । माओवादीको समाजवादी क्रान्ति ल्याउने उमेर नै नपुगेको र बुझ्न अझै धेरै समय लाग्ने भुसालको टिप्पणी थियो । नेपालमा समाजवादी क्रान्ति आफ्नो पार्टीले मात्रै ल्याउन सक्ने भुसालको दाबी थियो । ‘यो महाधिवेशनबाट कतै न कतै समाजवादी क्रान्तिमा पुग्ने एउटा सन्देश दिनुपर्छ । यो सारा क्रान्ति नेकपा एमालेले गर्दैन । किनभने त्यो नगर्नका लागि बनेको पार्टी हो,’ उहाँले भन्नुभयो, ‘त्यहाँ व्यक्ति पूजा छ ।
आगामी दिनमा व्यक्ति पूजाको अझै ठूलो प्रयत्न गर्नेछ । माओवादीले यो कुरा बुझ्न अझै धेरै समय लाग्छ । उसको सिद्धान्त बुझ्ने उमेर भएको छैन । हाम्रो यो सानो पार्टीका काँधमा गम्भीर जिम्मेवारी छ । महासचिव भुसालले नवौँ महाधिवेशनबाट नीति आफूहरूको पारित भए पनि नेतृत्वमा केपी ओली आएपछि पार्टी विघटनमा गएको दाबीसमेत गर्नुभयो । ‘हाम्रो (तत्कालीन एमाले) नवौँ महाधिवेशनले गलत निर्णय गरेको हुँदैनथ्यो भने २०७५ सालमा नेपाली विशेषताको कार्यक्रम बनिसकेको हुन्थ्यो । कमरेड माधवकुमार नेपालले जितेको भए र हामीले पाँच महिना पाएको भए त्यतिबेलै कार्यक्रम ल्याउने थियौँ,’ उहाँले भन्नुभयो, ‘त्यो काम ०७५ सालमा गर्नु पर्दथ्यो, अहिले २०८१ मा हामी गर्दै छौँ । मुलुकले भयंकर ठूलो क्षति व्यहोरेपछि नेकपा एसले आज गर्दै छ । यो सारा काम यो महाधिवेशनले एकैपटक गर्दैन ।’
‘संसद् विघटन सामान्य कुरा थिएन’
महासचिव भुसालले संसद् विघटन गरेर आफूले एमाले जोगाएको भनी केपी ओलीले दिएको अभिव्यक्ति सामान्य नरहेको टिप्पणी गर्नुभयो । पार्टी जोगाउन संसद् विघटन गर्ने र प्रधानमन्त्री जोगाउन पार्टी विघटन गर्ने असामान्य काम ओलीले गरेको भुसालले बताउनुभयो । ओलीले शनिबार मात्रै एमाले जोगाउन तत्कालीन अवस्थामा आफूले संसद् विघटन गरेको बताउनुभएको थियो । ‘एकजना कम्युनिष्ट पार्टीका नेताले हिजो मात्रै संसद् विघटन गरेर एमाले जोगाएँ भनेका छन् । यो सामान्य कुरा होइन । कम्युनिष्ट पार्टी जोगाउन जनताको अधिकार र संविधान नै मिचेर बहुमत रहेको संसद् विघटन गर्ने कुरा सामान्य होइन,’ उहाँले भन्नुभयो, ‘उहाँले पार्टी जोगाउन संसद्, प्रधानमन्त्री जोगाउन पार्टी र गुट जोगाउन विधि पद्धति सिध्याउनुभयो र त्यसमा गर्व गर्दै हुनुहुन्छ ।’
झलनाथलाई माधवको जवाफ- कुराले चिउरा भिज्दैन
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै पार्टीलाई शत्रु किटान गरेर जान नहुने बताउनुभएको छ । प्रधान अन्तरविरोध र शत्रु तोकेर जानुपर्ने अडान लिएका पार्टीका सम्मानित नेता झलनाथ खनाललाई जवाफ फर्काउँदै उहाँले नेपाली राजनीतिको यथार्थ बेग्लै रहेको दाबी गर्नुभयो । ‘शत्रु त्यत्तिकै किटान गरेर हुँदैन । चीन र रुस हेरेर हुँदैन । किनभने, नेपाली राजनीतिको यथार्थ बेग्लै छ । यहाँ कम्युनिष्टको विरोधी कम्युनिष्ट भनिएकाहरू नै छन्,’ उहाँले भन्नुभयो । राजनीतिक प्रतिवेदन लेख्न नेतृत्वले खेताला खोजेको खनालको टिप्पणीको पनि उहाँले जवाफ दिनुभयो । प्रतिवेदन मस्यौदा तयार पार्न २७ जनाको टोली बनाइएको र चार नेतालाई जिम्मेवारी दिइएको स्मरण गराउँदै उहाँले भन्नुभयो, ‘त्यसैले यो साझा विचारको समष्टिगत प्रतिवेदन हो ।’
‘भ्रष्टाचार र जाँडको घैँटोमा डुब्नेलाई छुट दिन सकिँदैन’
अध्यक्ष नेपालले युवाका नाममा जाँड रक्सी खाएर घैँटोमा चुर्लुम्म डुब्नेहरूलाई पार्टीमा छुट दिन नसकिने स्पष्ट पार्नुभयो । त्यस्तालाई पार्टीमा स्थानसमेत दिन नसकिने उहाँको भनाइ थियो । पार्टीको अस्तित्व जोगाउनु पहिलो कर्तव्य भएको उहाँले बताउनुभयो । असल चालचलन भएका युवाहरूलाई पार्टीले जहिल्यै अवसर दिने उहाँको भनाइ थियो । ‘युवा भनेर भ्रष्टाचारमा डुब्नेहरू र जाँड रक्सीको पूरै घैँटो नै समाप्त पार्ने प्रवृत्तिलाई कुनै हालतमा छुट दिन सकिँदैन’, उहाँले भन्नुभयो ।
‘एमसिसी अनुमोदन नेपालको कम्युनिष्ट आन्दोलनकै ब्लण्डर’
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसिसी सम्झौता अनुमोदन गर्नु गम्भीर त्रुटि (ब्लण्डर) भएको बताउनुभएको छ । पूर्व–प्रधानमन्त्रीसमेत रहनुभएका खनालले एमसिसी अनुमोदन नेपालको कम्युनिष्ट आन्दोलनकै ब्लण्डर भएको टिप्पणी गर्नुभयो । ‘हाम्रो देशको राष्ट्रियतामाथि खतराहरू बढिरहेका छन् । साम्राज्यवादी र प्रभुत्ववादी शक्तिहरू अनेकन प्रकारले घुसपैठ गरिरहेका छन् । त्यो घुसपैठविरुद्ध नेपाली जनतालाई देशभक्तिपूर्ण भावनाबाट हर बेलामा उठाउनुपर्छ’, खनालले भन्नुभयो, ‘हामी यसरी हिँड्ने क्रममा यो एमसिसी सम्झौतालाई अनुमोदन गर्ने जुन काम ग¥यौँ त्यो हाम्रो तर्फबाट भएको बलण्डर हो ।’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा २०७८ फागुन १५ गते एमसिसी संसद्बाट अनुमोदन भएको थियो । एमसिसी अनुमोदनमा प्रमुख कम्युनिष्ट पार्टीहरूले साथ दिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच