
काठमाडौं । नेपाल र श्रीलंकाबीच तय आइसिसी ट्वान्टी-२० विश्वकपको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडामा बुधबार बिहान हुने तय भएको खेलमा अत्यधिक वर्षा भएपछि खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले समान एक/एक अंक पाएका छन् । श्रीलंका तीन खेलबाट एक अंक जोड्दै प्रतियोगिताबाट लगभग बाहिरिएको छ । तर, गणितीय सम्भावना भने बाँकी नै छ ।
दोस्रो खेलमा एक अंक जोडेको नेपालको सम्भावना भने श्रीलंकाको भन्दा बढी छ तर सहज भने छैन । सुपर आठमा छनोट हुन नेपालले आगामी दुई खेलमा दक्षिण अफ्रिका र बंगलादेशलाई हराउनुपर्नेछ । बलिया राष्ट्र दक्षिण अफ्रिका र बंगलादेशलाई हराउन भने सहज छैन । यसबाहेक नेपालले नेदरल्याण्ड्स र बंगलादेशको हारको कामना गर्नुपर्नेछ । उनीहरू दुवैले समान दुई/दुई खेल खेल्न बाँकी छ । बाँकी दुई/दुई खेलमध्ये उनीहरूले कम्तीमा एक/एक खेल हार्नुपर्नेछ ।
नेदरल्याण्ड्स र बंगलादेशले दुवै खेल जितेमा वा नेपालले एक खेल हारेमा पनि नेपालको सुपर-८ मा पुग्ने सम्भावना सकिनेछ । नेपाल समूह चरणको पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको थियो । बाँकी दुई खेल खेल्न नेपाली टोली अब वेष्ट इण्डिज जानेछ । वेष्ट इण्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बंगलादेशसँग खेल्नेछ । नेपाल र श्रीलंका रहेका समूह ‘डी’मा दक्षिण अफ्रिका, बंगलादेश र नेदरल्याण्ड्स पनि छन् । समूह ‘डी’ बाट दक्षिण अफ्रिका यसअघि नै सुपर-८ मा प्रवेश गरिसकेको छ ।
यसपालि विश्वकपमा खराब सुरुवात गरेको श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो । सन् २०१४ को विजेता श्रीलंकाली टोलीलाई नेपालविरुद्ध सबैभन्दा ठूलो धक्का लागेको छ । सन् २०१४ मा भारतलाई हराउँदै श्रीलंकाले टी-२० विश्वकपको उपाधि जितेको थियो । त्यसयता श्रीलंकाको टोली कुनै पनि टी-२० विश्वकपको सेमिफाइनलमा पुग्न सकेको छैन । टोलीको नेट रन रेट पनि -०.७७७ छ । समूह ‘डी’ मा श्रीलंका पुछारमा छ । अब श्रीलंकाको एकमात्र खेल १७ जुनमा नेदरल्याण्ड्ससँग हुनेछ । त्यो खेल जितेर मात्रै श्रीलंका क्वालिफाइ गर्न सक्ने छैन ।
अब एक स्थानका लागि बंगलादेश, नेदरल्याण्ड्स, नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । अन्तिम खेल जितेमा श्रीलंकाले अधिकतम तीन अंक जोड्न सक्छ । बंगलादेश र नेदरल्याण्डको दुई/दुई अंक छ । उनीहरूबीचको खेलको नतिजा आउनेबित्तिकै श्रीलंका बाहिरिनेछ । श्रीलंकाले बंगलादेश र नेदरल्याण्डको खेल वर्षाका कारण रद्द हुने आशा राख्नुपर्नेछ । अझै यतिले मात्रै पुग्ने छैन । यससँगै नेपालले बंगलादेशलाई हराउनुपर्नेछ र दक्षिण अफ्रिकाले नेपाललाई ठूलो अन्तरले हराएर नेट रन रेटमा उल्लेख्य गिरावट आएमात्रै श्रीलंका क्वालिफाइ गर्न सक्छ ।
जारी विश्वकपमा पाकिस्तानले पहिलो जित निकालेको छ । मंगलबार क्यानडालाई ७ विकेटले हराउँदै पाकिस्तानले तेस्रो खेलमा पहिलो जित हासिल गरेको हो । पाकिस्तान यसअघि अमेरिका र भारतसँग पराजित भएको थियो । क्यानडाको भने दोस्रो हार हो । अमेरिकासँग पराजित भएको क्यानडाले आयरल्याण्डमाथि जित निकालेको थियो । अन्तिम आठमा पुग्न अन्य खेलको नतिजा कुर्नुपर्ने अवस्थामा रहेको पाकिस्तानले क्यानडाले दिएको १०७ रनको लक्ष्य ३ विकेटको नोक्सानीमा १५ बल बाँकी छँदै पूरा गर्यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । अमेरिकाले भारत र आयरल्याण्डसँगको दुवै खेल गुमाएर आफूले समूह चरणको अन्तिम खेल जितेको अवस्थामा मात्र पाकिस्तानको सुपर आठमा जाने सम्भावना जीवित रहन्छ ।
यस्तै, टी-२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले हराएको छ । बुधबार बिहान नामिबियाले दिएको ७३ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले ५.४ ओभरमा केवल एक विकेट गुमाएर पूरा गर्यो । यससँगै अस्टे«लिया सुपर आठमा पुगेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच