
कृषिप्रधान देश भनेर चिनिएको हाम्रो देशमा हरेक वर्ष मध्यअसार तथा असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिन्छ । २१औं अन्तर्राष्ट्रिय धान दिवस ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ नेपाल सरकारले यो वर्ष पनि मनाउँदैछ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले यो दिवसलाई विविध कार्यक्रमसहित देशका ७७ वटै जिल्लामा मनाउँदैछ । उसो त असार १५ लाई नेपालमा किसानहरूले विशेष दिन ‘असार पन्ध्र’को रूपमा मनाउँदै आएका छन् । कृषि क्षेत्रको प्रवद्र्धन तथा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ०६० सालदेखि हरेक वर्ष असार १५ लाई धान दिवसको रूपमा मनाउँदै आएको छ ।
धान हाम्रो प्रमुख खाद्य बाली हो । नेपालमा सबैभन्दा धेरै खेती गरिने बालीका रूपमा धान पहिलो स्थानमा पर्छ । राष्ट्रको कूल गार्हस्थ उत्पादनमा ३८ देखि ४० प्रतिशतसम्म योगदान रहेको कृषि क्षेत्रमा असारको रोपाइँले ठूलो महत्व राख्छ । कृषिप्रधान देश नेपालमा प्रमुख खाद्यान्न धान बालीको उत्पादनमा हुने घटबढले अर्थतन्त्रमा समेत त्यसै अनुसार प्रभाव पार्ने भएकाले रोपाइँको ठूलो महत्व रहिआएको हो ।
खेतीका लागि उपयुक्त मौसम सुरु भएको दिन असार १५ लाई रोपाइँ सुरु भएको दिनको रूपमा दही-चिउरा खाएर मनाउने हाम्रो परम्परा रहिआएको छ । रोपाइँ गरी दही-चिउरा खानाले शरीरमा स्फूर्ति उत्पन्न हुने जनविश्वासमा खेतीपाती नहुनेले पनि अरूको खेतमा वा आफ्नै करेसा बारीमा रोपाइँ गरेर हिलो छ्यापाछ्याप गरी रमाइलो गर्ने गर्दछन् । पछिल्लो समय पर्यटकहरूलाई पनि यो अवसरमा संलग्न गराउने थालिएको छ ।
असार १५ लाई रोपाइँ सुरु भएको दिनको रूपमा दही-चिउरा खाएर मनाउने हाम्रो परम्परा रहिआएको छ । रोपाइँ गरी दही-चिउरा खानाले शरीरमा स्फूर्ति उत्पन्न हुने जनविश्वासमा खेतीपाती नहुनेले पनि अरूको खेतमा वा आफ्नै करेसा बारीमा रोपाइँ गरेर हिलो छ्यापाछ्याप गरी रमाइलो गर्ने गर्दछन् ।
पोखरा, चितवनलगायत स्थानमा विशेष सामारोहको आयोजना गरी धान दिवस मनाउँदै रमाइलो गर्ने चलन बढ्दै गएको छ । काठमाडौं उपत्यकामा पनि धान रोप्ने नजिकका स्थानमा पुगेर युवायुवतीले रमाइलो गर्ने गरेका छन् ।
असार १५ का दिन एक फेर हिलो टेक्नु भन्ने मान्यता छ । यस दिन रोपाइँलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलोमा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । हलगोरु र पछिल्लो समय ट्याक्टरले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरू एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् र गीतका भाकामार्फत् आपसमा माया पीरतीसमेत साट्ने गर्छन् ।
यसरी गीत गाउँदै हिलो खेल्दा एकातिर आपसमा मित्रता बढेर हर्ष खुशी छाउछ कुण्ठा हट्छन् भने अर्कोतिर छालारोग पनि निको हुन जनविश्वास छ । रोपाइँ गरेर थाकेको अवस्थामा पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही-चिउरा र अचारको खाजा खाने गरिन्छ । असारमा गाउने गीतको छुट्टै महत्व छ । तर, पछिल्लो समय असारे भाका भने निकै कम सुनिन थालेको छ ।
‘असारै खाउँला दुधिलो मकै, साउने खाउँला खीर,
घरमा छैन शीतलु वचन, मनमा छैन थीर ।
छुपुमाछुपु खेतमै रोपुँ, हातको बिउ छउञ्जेल
जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।’
लोकगायिका हरिदेवी कोइरालाले गाएको यी गीतका हरफ अब रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छन् । आजकल असारे गीत असार महिनामा पनि विरलै सुनिन्छन् । समयक्रमसँगै यस्ता गीत ओझेलमा पर्दै गएका छन् ।
छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला
जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो गर्ने चलनमा केही कमी हुँदै गएको पाइन्छ । पुराना गीतसँगै संस्कृति हराउँदै गएकोमा ज्येष्ठ नागरिकहरूले चिन्ता व्यक्त गरेका छन् । युवा पुस्ताले पुराना भाका नसुन्दा मौलिकता बोकेका गीतहरू हराउँदै गएका हुन् ।
‘असारे मासको दबदबे हिलो
छुनलाई घिन लाग्यो
पातली नानीलाई फरिया किन्दा
छ बीस ऋण लाग्यो ।’
यि असारे भाका विस्तारै उझेला पर्दै गएका छन् ।
कुनै बेला असार लागेसँगै असारे गीतहरू गुञ्जायमान हुने गाउँघरका फाँटहरूमा पछिल्लो समय धान रोपाइँमा देखिने मौलिक गीत गाउने संस्कृति हराउँदै गएको छ । पछिल्लो पुस्ताका युवाहरू विदेशी गीत, नाच र संस्कृतिमा रमाउँदा स्थानिय भाका, भेषभूषा र सस्कृति आझेलमा परेको ज्येष्ठ नागरिकहरू बताउछन् । पुरातन संस्कृतिका विकृतिलाई परिमार्जित गर्नु राम्रो हो, तर विभिन्न बहानामा पुरानो संस्कृतिका राम्रा पक्ष नामेट गर्दै जानु कदापी राम्रो मान्न सकिँदैन । हाम्रो मौलिक संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्न सरकोरावाल पक्षले समयमै ध्यान पुर्याउनुपर्छ । हाम्रो संस्कार संस्कृति भनको हाम्रा धरोहर हुन । भावी पुस्तालाई हाम्रा धरोहर सुम्पनु वर्तमान पुस्ताको जिम्मेवारी हो ।
रोपाइँ कार्य मुलुकको सामाजिक, धार्मिक र सांस्कृतिक पक्षसँग पनि निकटरूपमा जोडिएको छ । रोपाइँको पहिलो दिन देवतालाई बिउ चढाई परिपूर्ण, भरिपूर्णका लागि अन्नपूर्णको आराधना गरी रोपाइँको श्रीगणेश गरिन्छ । रोपाइँमा धेरै खेतालाको आवश्यक पर्ने भएकाले गाउँघरमा पालैपालो पर्मद्वारा रोपाइँ गरिने भएकाले यसले सामाजिक एकता र सद्भाव बढाउन पनि ठूलो टेवा पुर्याउँदै आएको छ ।
कतै-कतै ठूला खेती भएकाले रोपाइँ गर्दा बेठी लगाउने अर्थात् पञ्चेबाजाबजाई नाचगान गर्ने, भोज खुवाउने तथा खेतालाहरूलाई मसला र रूमाल बाँड्ने पनि प्रचलन छ । दोहोरी रोपाईं गीतको रन्कोमा रोपाइँ गर्नु असारको अर्को आकर्षण हो । खेत गह्रामा लाठे र रोपाहारहरू असारे गीतको भाकासँगै रोपाइँमा व्यस्त हुन्छन् । लाठे र बाउसेहरूलाई आली जोर्ने र मेलो बनाउन चटारो हुन्छ भने कोरीबाटी चिटिक्क परेर मेलामा झरेका रोपाहारहरू कोही ब्याडमा बिउ काढ्ने, कोही पखाल्ने र कोही मेलो सम्याउने तर्खरमा जुटेका हुन्छन् ।
साता-पन्ध्र दिन काम गरेर वर्षभर खाने बाली लगाउन कामको मिचो भएकाले वास्तवमा सबै किसानका लागि असारको पन्ध्र महत्वको हुन्छ । लासलाई एकछिन घुमले छोपेर भए पनि असारे भेल छोप्नुपर्दछ भन्ने जेष्ठ नागरिकको भनाइले पनि यसको महत्व दर्शाउँछ । त्यस्तै ‘असारमा डुल्ने पजनीमा भुल्ने’ अर्थात् असारमा काम गर्ने बेलामा त्यसै डुल्ने र सरकारको काम इमानदारीपूर्वक नगरी पदोन्नति अर्थात् पजनीमा नपर्ने व्यक्तिले गरी खाँदैन भन्ने बुढापाकाको अर्को उखानले पनि असारको महत्वलाई पुष्टि गर्छ ।
एक तथ्यांक अनुसार, धानखेतीको करिब ६० प्रतिशत क्षेत्र अझै पनि आकाशे पानीमै निर्भर हुनुपर्ने बाध्यता छ । पानी धेरै नपर्ने स्थानमा एक प्रकारको घ्यैया धान लगाउन सकिन्छ तर वर्षे धानभन्दा यसको उत्पादन भने कम हुने बताइन्छ ।
हाम्रो देशमा समुद्री सतहभन्दा ७० मिटर उचाइमा रहेको झापाको केचनादेखि दुई हजार ७८० मिटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धानखेती गरिँदै आएको छ । जुम्लामा लगाइने धानखेतीलाई विश्वकै सबैभन्दा उच्च स्थानमा धानखेती भएको मानिन्छ । पछिल्लो समयको एक तथ्यांक अनुसार धानखेतीको ७९ प्रतिशत क्षेत्रफलभन्दा बढी विकासे जातका धानखेतीले ओगटेको बताइन्छ । यसले हाम्रो स्थानीय उत्पादन लोप हुँदै गएको छ ।
किसानहरूका लागि एउटा उत्सव पनि हो यो असार १५ । तर, किसानहरू टाउकोमा हात लगाएर बस्न बाध्य छन्, सहज मलखाद उपलब्ध नहुनाले र सिँचाइका कारणले । वर्षेनी मनसुनले पनि किसानलाई ठग्दै आएको छ । कि अतिवृष्टि कि अनावृष्टि । सामान्यतया नेपालमा जुन १० अर्थात् जेठको अन्तिम सातादेखि मनसुन सुरु हुने गर्दछ । यो वर्ष समयमै अघि नै मनसुन सुरु भएको छ । नेपालमा कूल क्षेत्रफलको ५५ प्रतिशत क्षेत्रफल धानखेती गरिँदै आएको भनिए तापनि यसमा प्रविधि, बिउबिजनलगायत विविध विषयमा ध्यान दिन नसक्दा आयात प्रतिस्थापन हुन नसकेको हाम्रो तीतो यथार्थ हो ।
अर्को तीतो यथार्थ के हो भने गाउँघर युवाविहीन छन्, दैनिक युवाहरू विदेश पलायन भइरहेका छन् । आफ्नै देशमा पसिना बगाउनुपर्ने युवाशक्ति मरुभूमिमा पसिना बगाउन बाध्य छन् यतिबेला । कृषिप्रधान हाम्रो मुलुकमा खाद्यवस्तु आयात हुँदैआएको छ । हाम्रो भान्सामा पाक्ने चामल, तरकारी, दाल, पिठो, माछा, मासु र फलफूल गरी अर्बौंको खाद्यान्न आयात गरिन्छ ।
यसलाई न्यूनीकरण गर्न र युवाशक्तिलाई देशमै पसिना बगाउन नलगाएसम्म जस्ता दिवस मनाए पनि यी दिवसमै सीमित हुने निश्चित छ । कृषि प्रधान देश जहाँको मुख्य उत्पादन धान, हाम्रो विहान बेलुकाको खानाका रूपमा भान्सामा आउँने चामलमा परनिर्भरताले हामीलाई कहाँ पुर्याउँला ? धानलगायत प्रमुख बालीमा आत्मनिर्भरताको अवधारणा अनुुसार नेपाल सरकारले आफ्ना कामहरू गर्न आज धान दिवस मनाइँरहदा जरुरी छ । यसमा प्रविधि, बिउबिजनलगायत विविध विषयमा ध्यान दिन नसक्दा आयात प्रतिस्थापन हुन नसकेको हाम्रो तीतो यथार्थ हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच