
मोतीराज बम
नेपालकै ठूलो ताल रारा कर्णालीमै पर्छ । मैले बोल्ने राष्ट्र भाषाको उत्पत्ति पनि कर्णालीको सिंजामा भएको हो । खसआर्य सभ्यता र संस्कृतिको उद्गमस्थल त्यहीँ हो । त्यसकारण यो पवित्र भूमिलाई नजिकैबाट स्पर्श गर्ने मन छ मेरो । माथिका यी मर्मस्पर्शी वाक्यांश हुन् नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिका । घरमै बोलाएर कर्णालीको यात्रा बारे मसँग केही परामर्श गर्नुभएको थियो उहाँले । उक्त प्रारम्भिक छलफलमा मैले केही सुझाए उहाँलाई । दाइ ¤ नेताले गाउँबस्ती पुग्नु अत्यन्त आवश्यक र सुन्दर पक्ष हो तर कांग्रेसभित्रको जुन रोग छ त्यो त्यहाँ झन् डरलाग्दो तरिकाले फैलिएको छ । हामी जिल्ला जिल्लामा सङ्लो आस्था उच्च मनोबल बोकेर जाँदा पनि यी यी मान्छेहरू आइदिएनन् भने के गर्ने ? यात्रा अलिनो हुने त होइन ?
मेरो सुझाब उहाँलाई बिल्कुलै मन परेन र अलि झर्किँदै भन्नुभयो आएनन् भने आएनन् उनको इच्छा हो । म बाटोमा गाई चराउनेलाई भेट्छु, भैंसी चराउनेलाई भेट्छु भेडाबाख्रा चराउनेलाई भेट्छु के उनीहरू मान्छे होइनन् ? तर म कर्णाली जान्छु जान्छु । त्यसपछि मलाई ठूलो आत्मग्लानि भयो कतै म गोयबल्स पथमा त छैन ? हाम्रो सरसल्लाहपूर्व नै उहाँको कर्णाली घुम्ने, त्यहाँका नेता कार्यकर्तासँग भेटघाट गर्ने, सुखदुःख सेयर गर्ने र कर्णालीका दाजुभाइ दिदीबहिनीसँग आत्मीयता साँट्ने उत्कट चाहनाले पाइला उचाल्न भनिसकेको आभास भयो मलाई । अब कर्णाली जाने पक्काभयो र कहिले साइत सार्ने मिति तयका लागी फेरि भेट्ने निधो गरेर म फर्के । नेपाली कांग्रेसका भद्र, बौद्धिक र सरल नेताको समीप रहेपश्चात् मेरो पहिलो अवसर जुरेको थियो उहाँसँग भ्रमण गर्ने ।
मधेसमा जन्मिए पनि पहाडसँग उहाँको निकै पुरानो र ऐतिहासिक सम्बन्ध छ । १४ वर्षकै उमेरमा लोकतन्त्र प्राप्ति आन्दोलनमा धनुषामा पक्राउ परेर पूर्वी पहाडी जिल्ला रामेछाप र सिन्धुलीमा जेल जीवन बिताउनु भएको हो । महाकवि विद्यापति जस्ता विद्वान, रामराजाप्रसाद सिंह, महेन्द्रनारायण निधि, रामनारायण मिश्र, दुर्गानन्द झाजस्ता तमाम क्रान्तियोद्धाहरूको जन्मभूमि हो मधेस । यही गौरवशाली मधेसको धनुषा जिल्लामा जन्मिएका नेपाल गौरवका नामले विभूषित, नेपालका गान्धी अर्थात अहिंसावादी नेताको रूपमा प्रतिष्ठित, लोकतान्त्रिक आन्दोलनका नायक महेन्द्रनारायण निधिका सुपुत्र विमलेन्द्र निधिको साथमा ‘हिमाल, पहाड, मधेस जोडौं-गुटउपगुट छोडौं’ भन्ने सद्भावना भेटघाट र संगठन सुदृढीकरण अभियानका साथ हाम्रो कर्णालीको यात्रा तय भयो ।
साथमा थियौं उहाँकी धर्मपत्नी अनामिका निधि, कांग्रेस नेता तथा ट्रेड युनियनका पूर्वअध्यक्ष खिलानाथ दाहाल, ललितपुरका पूर्वपार्टी सचिव रविन्सकुमार घिमिरे (रविन्स शर्मा) धादिङका पूर्वपार्टी उपसभापति अर्जुनबहादुर थापा, नेविसंघ केन्द्रीय सदस्य सुरेश शाही र म । दैलेखबाट महिला नेता दीपा बोहरा माझी थपिनुभयो । धेरै विशेषणले मण्डित गर्नुभन्दा पनि सरल र सहज नेताको उपमाले सम्बोधित गर्नु सुहाउँदो नेता हुनुहुन्छ विमलेन्द्र निधि ।
हामीले अमूर्त रूपमा बाचा गरिसकेका थियौं । हरेक जिल्लाको यात्रा गर्दा नेता कार्यकर्तासँगको भेटघाटमा अधिवेशनका कुरा नगर्ने, पार्टीको चुनावका कुरा नगर्ने, भोटको कुरा नगर्ने, गुट उपगुटका कुरा नगर्ने । मात्र जनतालाई रूखमा भोट हाल्न प्रेरित गर्ने, संगठन बलियो कसरी हुन्छ उपाय सिक्ने र सिकाउने, गुटबन्दीको राजनीति निराकरण गर्ने, अनेकताभित्र एकता खोज्ने, हिमाल, पहाड, मधेस जोड्ने र कदमजमको उदाहरणसहित व्याख्या गर्ने यात्राको मूल धेय थियो ।
जेठ २४ गते श्रीएअरबाट सुर्खेत झ¥यौं । सुर्खेत एअरपोर्टमा विमल दाइको स्वागतार्थ नेका प्रदेश सभापति ललितजंग शाही, सुर्खेत सभापति खड्गबहादुर पोखरेल, उपसभापति टोपबहादुर रावत, सचिव बालदीप कँडेल, प्रदेश माननीयहरू राजिवविक्रम शाह, हिक्मतबहादुर विष्ट, पूर्णबहादुर खत्री, देवेन्द्रबहादुर शाही युवा नेता महेन्द्र शाहीलगायत थुप्रै कार्यकर्ता र शुभचिन्तकको उपस्थिति थियो । पारिवारिक सोधपुछ, राजनीतिक छलफल र सामान्य भलासुकाली पछि आ-आफ्नो बासस्थानतिर लाग्यौं । त्यस रात होटल सिद्धार्थ र टास्कइनको बसाइ सुखद्पूर्ण रहृयो । २५ गते बिहान आठ बजे प्रेस युनियन सुर्खेत शाखाले गोरेटो रेष्टुरेन्टको मिटिङ हलमा प्रेस मिट आयोजना गर्यो ।
त्यहाँ पनि सयौं नेता कार्यकर्ताको उपस्थितिमा विमल दाइले देशको वर्तमान राजनीतिक अवस्था र भ्रमणको उद्देश्यबारे प्रष्ट पार्नुभो । करिब १ घण्टाको प्रेस मिटपछि हामी सुर्खेतबाट बिदा भयौँ । अगाडि विमल दाइको गाडी पछाडि हाम्रो । विमल दाइको गाडी महेन्द्र शाही आफैंले हाँक्नुभएको थियो भने हाम्रो स्कर्पियो हाँक्ने पनि गाडी मालिक नै थिए चित्रबहादुर बिसी । बिसिजी बडो मजाको हुनुहुन्थ्यो धेरै कुराको जानकार पनि, वयस्क र फन्नी पनि । रानिमत्ता पुगेपछि ड्याड्स पराइड रिसोर्टमा चिया खायौँ । मैले मेरा साथीहरूलाई रानिमत्ताको अर्थ लगाएँ । साथीहरू खुब हाँस्नुभयो ।
आज साँझ म विमल दाइलाई यो कुरा सुनाउँछु भन्नुहुन्थ्यो रबिन्सजी खोइ के गर्नुभयो । दिउँसो १ बजेको हुँदो हो दैलेख पुग्यौं । प्रकाश न्यौपानेको पञ्चकोसी होटलमा खानपिन र बासको व्यवस्था गरेका थिए साथीहरूले । भोजनपछि पार्टी कार्यालयमा कार्यक्रम भयो । कार्यक्रमस्थल पुग्दा सभापति मणिराम रेग्मी प्रतिनिधिसभा सदस्य दिक्पालकुमार शाही, जिल्ला समन्वय प्रमुख नवराज शाही, खगेन्द्र शाही, पूर्वसचिव भूपेन्द्रबहादुर शाही, महाधिवेशन प्रतिनिधि भूपेन्द्र शाही, मीना थापा, एलिजा थापा, नरप्रपताप काफ्ले, निर्मला खड्का, दुर्गा श्रेष्ठलगायत तमाम साथीहरूले भव्य स्वागत गरेका थिए । हल खचाखच भरिएको थियो । सबै अनुहार म्याचुअड देखिन्थे ।
परिचयात्मक कार्यक्रमकै सिलसिलामा ८० कटेका बयोवृद्व काङ्ग्रेस नेता नरप्रताप काफ्लेले मञ्चमा विमल दाइको अनुहार देख्ने बित्तिकै बरर आँसु खसाल्नुभयो । गला अवरुद्ध पार्दै म उहाँको पिता महेन्द्रनारायण निधिको साथी हुँ आज छोराको अनुहार देखेर उहाँको सौराइ मेटियो भन्दा त्यहाँ उपस्थित हरेक मान्छेका आँखा टिल्पिलाएका थिए । एकछिन त हल स्तब्ध नै बन्यो । सभापति मणिराम रेग्मीले रुलिङ गरेपछि कार्यक्रम सुरु भयो । फ्लोरबाट धेरै साथीको एकैस्वर गुञ्जियो । सबैले भने अब हामीलाई अरूको चिहृनमा भोट हाल्न नपरोस् । आफ्नो मन्तव्यमा विमल दाइले अब २०८४ को चुनावमा ढुक्कसँग रूखमा छाप लगाउनुहोला अरूको चिहृनमा छाप लगाउने अवस्था अब आउँदैन भनेपछि हलका भित्ताहरूसमेत हर्षबिभोर तालीले मच्चिएका थिए ।
त्यस रात त्यतै बस्यौं । साँझको खाना महिला नेता बास्ना थापाको घरमा हुनेभयो । निम्तो स्वीकारेर बास्नाको घरमा गयौं । घरका भित्ताहरूमा स्वदेशी बास्ना मग्मगाइरहेको थियो । अरू साथीले खासै मन गरेनन् । काउन्टरका सोकेशहरूबाट विभिन्न ब्राण्ड मलाई हेर्थे म उनीहरूलाई । जिब्रो र ओठले नभेटे पनि मनभित्रको इन्द्रियले स्वाद लिएरै छाड्यो । ब्राण्डको ठाउँमा अर्गानिक फल तिल्खुणोको रसले सबैको गला भिजाउने काम भयो । मिठो परिकारका साथ भोजनपान गरेपछि बास्ना र रूपकजीलाई धन्यवाद दिँदै सुत्न पञ्चकोसी आयौँ ।
२६ गते दैलेख क्षेत्र नम्बर-२ नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन विमल दाइको हातबाट उद्घाटन गर्ने कार्यक्रम थियो । क्षेत्रीय सभापति तथा दुल्लू नपाका मेयर भरत रिजाल यस पुनित घडीको व्यग्र प्रतीक्षामा थिए । पञ्चकोशी होटलमा बिहानको नास्ता रोटी तरकारी सुरुप्प पारेर प्रकाशजीबाट छुट्टियौं । जाहारकोटको ओरालो झरेर हाम्रा भेइकल दुल्लूतिर लम्किए । रुद्रमती खोलामा अवस्थित पञ्चकोसीमध्ये दुईवटा मन्दिर शीरस्थान र नाभिस्थानमा हजारौं वर्षदेखि अविछिन्न बलिरहेका ज्वालाको दर्शन ग¥यौं । त्यहीँ विमलदाइले भन्नुभयो मेरो पनि कुलदेउता ज्वालादेवी हुन् ।
अब उकालो यात्रा सुरु हुन्छ हाम्रो । जलजलेमा चाइनाको एड र प्राविधिक सहयोगमा पेट्रोलियम पदार्थको अन्वेषण र उत्खनन हुँदै रहेछ । यसबारे भूगर्भ विभागका एक अफिसरसँग विमल दाइले विस्तृत जानकारी लिनुभयो । गाडीबाट झर्ने बित्तिकै परसम्म पुगेका रबिन्स शर्मालाई विमल दाइ ठानेर पुलिस भाइले सलाम ठोकिहाल्यो । मैले पूर्वमन्त्री उहाँ होइन उहाँ हो भनी हातले इशारा गरेपछि उतैतिर लाग्यो भाइ । यो दाह्रीको साइनो र महत्व पनि कतै रोमाञ्चित बन्दो रहेछ म मनमनै हाँसे । अलि अबेरै दुल्लू पुग्यौं । दुल्लूमा पनि भव्य स्वागत भयो । दैलेखबाट हामीसँग नै हुनुहुन्थ्यो सभापति मणिराम रेग्मी, माननीय दिक्पाल शाही, समन्वय प्रमुख नवराज शाही र खगेन्द्र शाही ।
दुल्लूमा खाना खाइवरी कार्यक्रम स्थल जानैलाग्दा विमल दाइलाई भेट्न केन्द्रीय सदस्य द्वय एनपी सावद र अब्दुल सतार आउनुभयो । उहाँहरू कर्णाली यात्राबाट फर्केर जाजरकोट जाँदै हुनुहुन्थ्यो । छोटो भेटपछि कार्यक्रम स्थलतिर लाग्यौं । त्यहाँ पनि बाक्लो उपस्थिति थियो । विमल दाइको आगमनले दैलेखी नेता कार्यकर्तामा हौसला बढाएको भान हुन्थ्यो । त्यो सम्मेलनमा पुराना नेता मातृका रिजाललाई बोल्न नदिएकोमा मेरो पनि चित्त दुख्यो ।
विमल दाइले उद्घाटन गरेपछि छोटोमिठो सम्बोधन भयो । सबैको ध्यान विमल दाइकै वक्तव्यमा थियो । केन्द्रबाट केही नौला कुरा ल्याएका छन् कि भनेर सुन्न उत्सुक देखिन्थे सबै । त्यहाँ गरिएको विमल दाइको उद्घाटन भाषण धेरैजसोले मोबाइलमा रेकर्ड र प्रत्यक्ष प्रशारण गरिरहेका थिए । यसर्थ यो दुल्लूको भ्रमण अपेक्षाकृत सार्थक बन्यो । द्रोणाचलतिर सन्ध्याको रवि र पादुकातिर हामी ओरालो झर्यौं एकसाथ । साँझको हाम्रो बास थियो राकम कर्णाली । हामीसँग साथमा हुनुहुन्थ्यो दीपा बोहरा माझी, खगेन्द्र शाही र अर्जुन शाही । उहाँहरू तीनैजना त्यस भेकका जल्दाबल्दा नेता । जम्बुकाँधसम्म माननीय दिक्पाल शाही र राजेश शाही पनि आउनुभयो । हाम्रो व्यवस्था गरिएको थियो राकम सृष्टि होटलमा । कोदाको रोटी र माछाको तरीले विमल दाइलाई अलि असहज बनायो ।
२७ गते बिहान होटलको प्रांगणमा राकमका साथीहरूलाई विमल दाइको संक्षिप्त सम्बोधनपछि कालीकोट लाग्यौं । महेन्द्र शाही त्यहाँबाट फिर्ता हुनुभयो । मान्म पुग्दा लगभग १ बजिसकेको थियो क्यार ! एमिदीप होटलमा खानाको व्यवस्था थियो । साथीहरूले खादामालाले भव्य स्वागत गर्नुभयो । खानालगत्तै पार्टी कार्यालयमा कार्यक्रम भयो । सभापति अम्बबहादुर शाही, उपसभापति नन्दबहादुर शाही, सचिव मातृका सिंह, कोषाध्यक्ष केशरसिंह बम, प्रदेश प्रवक्ता दमन शाही, प्रदेश सदस्य सुशीला गिरी, वयोवृद्व नेता विष्णुबहादुर शाही, पूर्वउपसभापति पदमबहादुर शाही, महासमिति सदस्यहरू टेकराज शाही, तारा शाह, यशोधा शाही, शिक्षक संघ अध्यक्ष यमुना बम, तरुण र नवि संघ अध्यक्ष क्रमशः दमनराज शाही, दीर्घ शाही, किसान संघ अध्यक्ष लोकबहादुर अधिकारी, किसान प्रदेश सदस्य हरिचन्द्र देवकोटालगायत थुप्रै नेता कार्यकर्ताको उपस्तिथि थियो ।
मैले सम्बोधन गरिनँ । परिचयपछि विमल दाइले सम्बोधन गर्नुभयो । सम्बोधन अत्यन्त सान्दर्भिक र समयसापेक्ष भएको साथीहरूको टिप्पणी थियो । त्यय दिन जुम्ला जानै पर्ने थियो । हामी चार बजेतिर जुम्ला प्रस्थान गर्यौं । साँगुरो गल्लीमा बिदाइका हातहरू मज्जैले हल्लिरहेका देखिन्थे । एकछिनमै ओझेल पर्यौं हामी । सिधै नाग्म पुगेपछि खाजा खायौं । खाजाको व्यवस्था तिलागुफाका मेयर शंकरप्रसाद उपाध्यायले गर्नुभएको थियो ।
त्यहाँ जुम्लाका विद्यार्थी नेता भरत शाही भेटिए । कृष्णजीसँग बिदा मागेर जुम्ला पुग्ने हतारमा छुट्टियौँ । पुल तर्ने बित्तिकै जुम्ला लाग्यो । जुम्लाको बाटो, भूगोल र भूवनोट देखेपछि कालीकोटको भीरदेखि आत्तिएका साथीहरूले खुल्ला र हल्का महसुस गरे । जुम्ला यत्ति सुन्दर कालीकोट किन भीरैभीर ? किन ढुंगैढुंगा ? भन्न थालेपछि आफ्नो जन्मभूमिप्रतिको साथीहरूको तितो यथार्थले मलाई बिझाइरहृयो केही बोलिनँ । जुम्लाका साथीहरूको प्रतीक्षा बडो लोभलाग्दो र प्रसंशायोग्य थियो । हाम्रो स्वागतार्थ अबेरसम्म बाटो कुरेर बसेका थिए ।
हामी रमरम साँझमा जुम्ला पाइला टेक्यौ । मानसरोवर होटलमा गाँस र वासको व्यवस्था गरिएको थियो । त्यस्तो झम्के साँझसम्म पनि विमलदाइको स्वागत संमानका लागि साथीहरू पर्खिरहेको देख्दा शहरमा भनिएजस्तो गाउँमा नेता प्रतिको क्रेज नघटेको पाइयो । सभापति कर्ण शाही, माननीय देवेन्द्र शाही, पूर्वसभापति दीपबहादुर शाही, समन्वय प्रमुख गौरिनन्द आचार्य, मेयर राजुसिंह कठायत, उपमेयर रामदेवी खड्का, युनियन नेता चन्द्र खड्का, प्रदेश सभापति लक्षिमन बोहरा, महासमिति सदस्य दीलबहादुर महत, पूर्वराज्यमन्त्री भक्तबहादुर रोकाया, पुराना नेता गोविन्द शाही, किसान महासंघ केन्द्रीय सदस्य खड्गबहादुर सेजुवाल, नेता वीरेन्द्र मल्लसहितको समूहले फूलमाला अविर र खादाले सम्मान गर्दाको क्षण निकै भावुक बनेको थियो । भोलिपल्ट बिहान चन्दननाथ भैरवनाथ बाबाको दर्शन गरियो ।
विमलदाइले त्यहाँस्थित दत्तात्रेयको मूर्तिको रहस्य बारे महन्तसँग जानकारी लिनुभो । तत्पश्चात होटलको हलमा कार्यकर्ता भेटघाट गरेर अर्को कार्यक्रमका लागि उर्थुचौतारा पुग्यौं । त्यहाँ पनि जनसहभागिता राम्रै थियो । विभिन्न पार्टीबाट नौजना नेपाली कांग्रेसमा प्रवेश गरे । नवप्रवेशी साथीहरूलाई स्वागत गर्दै विमलदाइले मलाई यसरी नै तपाईंहरूले माया गर्नुभो भने जति पटक बोलाउनुहुन्छ म आउँन तयार छु भन्नुभो । पाताराशीतिर कांग्रेसको गज्जब माहौल रहेछ लक्षिमनजीलाई धन्यवाद । युवानेता रमन बुढाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । रमा भण्डारीको घरमा एकएक बटुको मइ पिएर हामी नाग्म हुँदै सिंजातिर सोझियौ ।
हिमा गाउँपालिकामा स्वागत कार्यक्रम राखिएको थियो । अध्यक्ष लक्ष्मणबहादुर शाही र उपाध्यक्ष सुर्पना शाहीले खादाले स्वागत गरे । चिया र बिस्कुटले भोक मेटाएर अत्यन्त प्रफुल्लित हुँदै कनकासुन्दरी गापाको गोठिज्यूलाको दरबार होटलमा पाइला टेक्यौ । हाम्रो साथ नछोडी त्यहीँ पुग्नुभो जुम्लाका सबै नेता असाध्यै खुशी लाग्यो । त्यहाँको सम्पूर्ण जिम्मेवारी अध्यक्ष दामोदरप्रसाद आचार्यले लिनुभएको थियो । २९ गते बिहान त्यहाँ पनि भव्य कार्यक्रम भयो । त्यहाँ पनि त्यही आवाज दोहोरिए अब हामीले अन्त भोट हाल्न नपरोस् । सम्बोधनमा विमलदाइले अब यस्तो अवस्था आउन नदिने बताउँदै कदमजमको वास्तविकता र धार्मिक स्वतन्त्रताको बारेमा चित्त बुझ्ने गरी व्याख्या गर्नुभो । त्यसपछि लाग्यौं कनकासुन्दरी माइको दर्शन गर्न । विमलदाइ र अनामिका भाउजुले सुकेको भाटोलाई लौरो बनाएर उकालो हिँडेको दृश्य बडो रोमाञ्चक थियो । त्यसैमाथि भरतले हातले पग्याएर तान्दै गरेको दृश्य झन कौतुकमय लाग्थ्यो । मन्दिरको प्रदक्षिणा गरेर पूजापाठ गर्यौं । केही भाकल गर्यौं, वर माग्यौ पुजारीले तथास्तु भनेपछि जयजयकार गर्दै फर्कियौ र मुगुको बाटोतिर पाइला बढायौ । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच