
संसारको कुनै पनि व्यक्तिलाई उसको आफ्नो भाव र उसले गरेको कर्मले गतिशील तुल्याएको हुन्छ । व्यक्ति गतिहीन भयो भने उसको जीवनमात्र होइन उनले प्रतिनिधित्व गरेको संस्था वा परिवारले पनि उन्नति र प्रगति गर्न सक्दैन । प्रगति मानिसको सक्रियता र उसले गर्ने कर्ममा स्थिर बनेर बसेको हुन्छ । कर्मका आधारमा जीवन र जीवनका हरेक पक्षलाई जीवन्त बनाउने हाम्रो भावनाले जहिले पनि मानिसको भावनालाई कदर गर्नु अनिवार्य मानेको छ ।
अरूलाई दोष दिएर आफू चोखो बन्ने राजनीतिका कारण देश र जनताको हितका कुनै पनि काम भएको देखिँदैन । जनताले विकासको अनुभूति पाउन सकेका छैनन् । जनताको सुविधाका लागि गठन भएका स्थानीय सरकार भ्रष्टाचार र बेरुजुको चाङमा डुबेका छन् ।
राजनीतिक जीवन व्यक्तिगत होइन । सामाजिक जीवन हो । जीवनको समाजसित घुलमिल हुने आधार पनि हो । व्यक्तिगत चाहना, मान्यता र रहरलाई राजनीतिक जीवनले धेरै पर छोडिसकेको हुन्छ । सामाजिक जीवनसितको भावना जोडिएको हुन्छ राजनीतिक जीवनमा । मानिसको व्यक्तित्वका धेरै पाटाहरू राजनीतिक जीवनसित गाँसिएर आएका हुन्छन् । सार्वजनिक जीवनको सजिलो हिस्सा राजनीतिक जीवन होइन । राजनीतिक जीवन त व्यक्तिगत जीवनलाई होइन सार्वजनिक जीवनलाई प्रतिनिधित्व गर्ने आधार हो । राजनीति गर्ने व्यक्तिको जीवन व्यक्तिसित मात्र सम्बन्धित हुँदैन । उसको जीवन त सार्वजनिक भएर समाजका व्यक्ति र व्यक्तिको चरित्रसित गाँसिएर आएको हुन्छ । सार्वजनिक जीवनलाई चिन्न आग्रह गरेको हुन्छ राजनीतिको जीवनचक्रले पनि । व्यक्तिलाई व्यक्तिका माध्यमबाट होइन सामाजिक र सार्वजनिक व्यक्तिका आधारमा हेर्न राजनीतिक जीवनले औँल्याएको हुन्छ ।
सचेत बनौं
राजनीति गर्ने व्यक्तिको जीवन सार्वजनिक हुने गरेको हुन्छ । उसका हरेक क्रियाकलाप, रहन सहन, उसले भोगेको जीवनको हिस्सा नै सार्वजनिक बनेर आएको हुन्छ । यदि राजनीति गर्ने व्यक्ति सचेत बनेन भने उसको जीवनका हरेक क्षेत्र समाप्त हुने गरेका हुन्छन् । राजनीति गर्ने व्यक्तिको जीवनका हरेक क्षेत्र र तिनले बाहिर ल्याउने आधारलाई मानिसले हेरिरहेका हुन्छन् । सामान्यतया राजनीतिलाई सचेत वर्गको साधन मानिएको हुन्छ । राजन्ीति गर्ने व्यक्ति सम्पन्नशाली भएमा भ्रष्टाचार हुँदैन भन्ने विश्वास पनि कता कता जन्मेको देखिन्छ जनताको विश्वासमा । यो पनि राजनीतिको सत्य अवस्था भने होइन । राजनीति गर्ने व्यक्तिले आफूबाहेक कसैलाई पनि विश्वास गर्नु हुँदैन भन्ने तथ्यलाई भने राजनीतिका पण्डितले स्वीकार गरेका छन् । राजनीतिमा मानिसले कसैको पनि विश्वास गर्नुलाई उचित मानिएको छैन । महाभारतमा भनिएको छ :
न विश्वसेदविश्वस्ते विश्वस्ते नातिविश्वसेत्
विश्वासाद् भयमुत्पन्नं मूलान्यपि निकृ्न्तति ।।
जो विश्वास योग्य पात्र छैन त्यो माथि कहिले पनि विश्वास नगर्नु । जो विश्वासयोग्य पात्र छ त्यो माथि पनि अति विश्वास नगर्नु । अति विश्वासबाट प्राप्त भय नै शासकको नाशको कारण बनेको हुन्छ । यो श्लोक राजा धृतराष्ट्रलाई कणिकले भनेका हुन् । राजनीतिमा सचेत बन्नु पर्दछ सत्य हो । तर सचेतता त्यतिसम्म काम लाग्ने योग्य मानिन्छ जतिसम्म जनताको हित जोडिएको हुन्छ । राजनीति जनहितका लागि हुनुपर्दछ । व्यक्ति हितको राजनीतिले व्यक्तिलाई फाइदा हुन सक्ला तर जनताको हितका कुनै पनि कुरा व्यक्ति राजनीतिले दिन सक्दैन । व्यक्ति राजनीतिका माधयमबाट गरिने राजनीतिलाई जनताले सदा तिरस्कार गरेका हुन्छन् ।
नेपालको राजनीति व्यक्तिहितमा केन्द्रित रहेको तथ्य बाहिर आएको पाइन्छ । जनताको हितका लागि राजनीति हुन सकेन नेपालका सन्दर्भमा किन हो ? यो चुरो पत्ता लागेको पनि छैन । अरूलाई दोष दिएर आफू चोखो बन्ने राजनीतिका कारण देश र जनताको हितका कुनै पनि काम आज नेपालको सन्दर्भमा भएको देखिँदैन । विकासका पूर्वाधारहरू गतिलो तरिकाले अघि बढ्न सकेका छैनन् । जनताले विकासको अनुभूति पाउन सकेका छैनन् । जनताको सुविधाका लागि गठन भएका स्थानीय सरकार भ्रष्टाचार र बेरुजुको चाङमा डुबेका छन् । कतिपय स्थानीयतहमा विकास र जनताको कामलाई सहज बनाइएको छ ।
तर, सबै स्थानीय तहको अवस्था एकनाशको हुन आवश्यक देखिन्छ । स्थानीयतहको विकासले मात्र जनताका पूर्वाधार र आवश्यकतालाई पूर्ण गर्न सक्छन् अरूले होइन । स्थानीय तहलाई हामीले राजनीतिका आधारमा सरकारको जिम्मेवारी त दियौं तर स्थानीय तहका पदाधिकारीले आफ्नो हैसियत नै बिर्सेर निर्णय गर्न थाले । जसले गर्दा स्थानीय तहमा भ्रष्टाचार मौलायो । जनताको विकासलाई लिएर राजनीतिक दल र दलका कार्यकर्ता सचेत बन्नु आवश्यक मानिन्छ । राजनीतिक दल र दलका कार्यकर्ता सचेत बनेनन् भने आउँदो निर्वाचनले देखाउने छ हैसियत राजनीतिक दलको पनि ।
जनतालाई सम्झौं । नेपालको विकासलाई हेरौं । हाम्रो सभ्यता संस्कृतिमा धावा नबोलौं । यही संस्कृतिमा हुर्केका हाम्रा पुर्खालाई र तिनले दिएको नेपाललाई सम्झौं र राजनीतिको बाटो अख्तियार गरौं । राजनीति जनहितको पहिचान हो । यो जनहित गर्ने वर्ग, जसलाई देश र जनताको चिन्ता छ । राजनीति जनहितमा हुनुपर्दछ व्यक्तिहितमा होइन । सचेत बनौं र सचेत पूर्वक राजनीतिको बाटोलाई गतिशील बनाऔं ।
जनमतको कदर
जनताको बालिक मताधिकारलाई जनमत भनिएको हुन्छ । जनताले आफूले चाहेको र जनताको चिन्ता गर्नसक्ने नेतालाई मत दिएर छानेका हुन्छन् । छानेर पठाएका नेताले पनि जनता र देशको हितका लागि जनमतको कदर गर्नु अनिवार्य मानिएको हुन्छ । जनमतको कदर भएन भने बालिग मताधिकार अर्को निर्वाचनमा पार्टी तथा व्यक्ति केन्द्रित नहुन पनि सक्छ । व्यवस्थाको पहिचान र व्यवस्थाले जनतालाई दिएको अधिकारका बारेमा केन्द्रित हुनेछ अबको राजनीति । केही दिनपूर्व संसदमा एकजना सांसदलाई एसइई उच्चारण गर्न आएन । यदि उक्त सांसद प्रत्यक्ष निर्वाचनबाट आएको भए उनमा भाषण गर्न सक्ने र जनताको भावलाई बुझ्न सक्ने अवस्था अनिवार्य हुन्थ्यो । ती सांसद सायद समानुपातिकबाट आएको हुनुपर्दछ ।
ती सांसद कुन र पार्टीकी हुन् त्यो जानकारी राख्नु हाम्रो दायित्व होइन । नेपालको शिक्षा प्रणालीलाई ग्रेडसिट प्रणालीले कमजोर बनाए जस्तै समानुपातिक निर्वाचन प्रणालीले सांसद्को गरिमालाई कमजोर बनाएको पक्कै पनि हो । उनले पढेको समेत असुद्ध र नेपालीलाई लाजलाग्दो छ भने त्यस किसिमको निर्वाचन प्रणाली किन ? यो प्रणालीले सबै पार्टीमा यही किसिमका सांसदको उपस्थिति संसदमा देखिएको छैन र ? पाँच वर्षसम्म एउटा शब्द र वाक्य संसद्मा नबोलेर निस्कने यो निर्वाचन प्रणाली किन ? समानुपातिक प्रणालीमा दिइएको मतले व्यक्ति चिनेको हुँदैन पार्टी चिनेको हुन्छ । पार्टीले पठाएका सांसदलाई एक वाक्य पनि बोल्न आउँदैन भने त्यो निर्वाचन प्रणालीको आवश्यकता किन ?
रवि र उनको पार्टीलाई सत्तामा जाने अधिकार जनताले दिएका थिएनन् । सत्तामा बसेर जथाभावी गर्ने दल र व्यक्तिलाई सचेत बनाऊ । अर्को निर्वाचनमा तिम्रो अवस्था अझ सुधारिने छ भन्ने अवस्थामा उनलाई र उनको पार्टीलाई जनताले मत दिएका थिए । उनले जनताको अभिमतलाई बुझेनन् ।
जनताले गएको निर्वाचनमा प्रत्येक दललाई आफ्नो हैसियत देखाएका थिए । जनताको मतलाई अपमान गर्दै विभिन्न गठबन्धनका नाममा जनमतको कदर गरिएन यो दुई वर्षको अवधिमा । जनमतको कदर पनि नगर्ने जनताले दिएको विश्वासमा पनि खरो उत्रन नसक्ने पार्टीलाई आउँदो निर्वाचनमा जनताले पुनः कुन अवस्थामा लैजाने हुन त्यो हेर्न बाँकी नै छ । छोटो समयमा नै आफूलाई राजनीतिको शक्तिका रूपमा उभ्याएको रास्वपाको हालत पनि कमजोर भइसकेको देखियो । पार्टीले खटाएको काम गरेका महामन्त्रीले पार्टी व्यक्तिवादी भयो यसलाई संस्थागत गरौंभन्दा निस्कासनको पीडा भोगेका छन् । महामन्त्री मुकुल ढकाल आज उक्त पार्टीका सबल कार्यकर्ता भए पनि कमजोर देखिए ।
उनले उठाएका कुरामा कोही पनि बोल्न सकेनन् । उनी एक्लो परे । रास्वपाले नेपाली कांग्रेस एमाले तथा अन्य राजनीतिक दलका कार्यकर्ता भएर पनि दलप्रतिको असन्तोषको मत पाएको हो । टेलिभिजनमा उफ्रेका लामिछानेले नेपालको राजनीतिमा नया फड्को मार्ने हुन् कि भन्ने विश्वास उनका मतदातामा थियो । नेपाली जनतामा होइन । उनी पनि यो देशमा गृहमन्त्री बने तर केही पनि गर्न सकेनन् । सुरक्षा संयन्त्रमा भाँडभैलो मच्चाए । काम गर्न दिएनन् भन्दै कुर्लिए । फायल खोल्न आँटेको थिएँ गठबन्धन भत्कियो भने । उनी पनि आत्मरतिमा रम्ने व्यक्ति रहेछन् भन्ने तथ्यलाई उनका अभिव्यक्तिले देखाएका छन् ।
उनी र उनको पार्टीलाई सत्तामा जाने अधिकार जनताले दिएका थिएनन् । तिमी सबल बनेर जनताका मागलाई संसद्मा उठाऊ । सत्तामा बसेर जथाभावी गर्ने दल र व्यक्तिलाई सचेत बनाऊ । अर्को निर्वाचनमा तिम्रो अवस्था अझ सुधारिनेछ भन्ने अवस्थामा उनलाई र उनको पार्टीलाई जनताले मत दिएका थिए । उनले जनताको अभिमतलाई बुझेनन् । उनी र उनको पार्टीका सदस्यलाई लाग्यो हामी त यो देशका सबैभन्दा शक्तिशाली बनेका शक्ति हौं ।
उक्त पार्टीभित्र अलिकति पनि प्रजातान्त्रिक व्यवस्था अवशेष भएको भए महामन्त्रीको प्रतिवेदन कार्यान्वयनतर्फ केन्द्रित हुन्थ्यो कारबाहीतर्फ होइन । यो निर्वाचनले उनी र उनको पार्टीलाई सत्तासीन हुन आग्रह गरेको थिएन । उनी सत्ताको स्वादमा लमतन्न परे । जनताका लागि के गरे एउटा उदाहरणीय काम भनौं त ? केही गरेनन् । सत्ताको स्वादमा रमाए । यो उनी र उनको पार्टीको सच्चिन नसक्ने भुल थियो ।
नेकपा माओवादीलाई पनि निर्वाचनमा जनताले सारै कमजोर बनाएर पठाए । उक्त पार्टीका अध्यक्षले आफूलाई सत्ताको गल्लीमा दौडाइरहे । आफू पनि दौडिए पालैपालो कांग्रेस र एमालेलाई पनि दौडाए । कांग्रेस र एमाले दौडिएपछि ससाना दलहरू आफंै नै सत्ताको डोरेटोमा कुदे । जनताको र जनताले दिएको जनमतको कदर माओवादी तथा रास्वपाले गर्न नसकेका पक्कै पनि हुन् । अबको बाटो कांग्रेस एमालेको हो । यो बाटोले नेपाली जनलाई गोरेटोबाट निकालेर घोडेटोमा लैजाने विश्वास आजका नेपालीले सोचेका छन् । शिक्षित नेपाली देशबाहिर छन् । साक्षर नेपालीले समेत अस्वीकार गरेको प्रादेशिक प्रणालीलाई आउँदो निर्वाचनमा मत दिने व्यवस्थाको अन्त्य आज नेपालमा भएका नेपालीले चाहेका छन् । यो कुरालाई आत्मसात गरी एक ढिक्का भएर संविधानलाई संशोधन गरौँ र देशलाई स्वस्थ राजनीतिको बाटोमा लैजाऊँ भन्ने आशासहित ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच