कविता : छोरी कहिल्यै छोरी भइन

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 2 mins

छोरी जन्मने दिन
आमालाई बेजोड कौतुहल थियो
सन्तान जन्माउन होइन
छोरा हेर्नलाई
आमाले जन्म दिइन् र हेरिन्
तिमी छोरा थिएनौँ, छोरी थियौ ।

समय चक्रसँगै
तिमी जन्मियौ
हुर्कियौ र बढ्यौ
तिमी असरल्ल भएको साँझ
बिल्कुल तिमीलाई होइन
उसलाई आफैं सम्हालिने
नितान्त हतारो थियो ।

साँच्चै साँझ परेर तिमी
पराइको घर पुग्दा
पराइलाई सुहागरातको
नसा चढेको थियो
तिमी बेहुली भएर भिँत्रदै गर्दा
उसलाई आफ्नै अपराधहरु
ढाकछोप गर्न
नितान्त अर्को हतारो थियो ।

बिचरी !
तिमीलाई के थाहा ?
पुरुष एकाङ्की हुन्छ भनेर ।
एउटा शिशु जन्मन्छ
त्यो प्राकृतिक नियम हो
प्रक्रियामा औस फरक छैन
तर, तिमी घर सम्हाल्न तयारिँदै गर्दा
पुरुष बेसुरा बनिरहेको हुन्छ ।

एउटा नारी घरमा जन्मन्छे
त्यो माइत हुन्छ
पराइ घर जान्छे
आफ्नो घर हुन्छ
गुलाम गर्न सके प्रिय हुन्छे
प्रतिवाद गरे अलच्छिनी ।

यति मात्र होर !
उसका उपमै उपमा हुन्छन्
व्यक्त गर्न नै संकोच लाग्ने
कहिले उ उखरमाउली हुन्छे
कहिले उ नखर्माउली हुन्छे
कहिले उ नक्कली
हुँदाहुँदा उ कहिले पात्तर्नी
कहिले पातकी त
कहिले उ वेश्या हुन्छे।

दिक्कार छ पुरुष
तिम्रो पुरुषोत्वले
एउटा छोरीलाई
सबै बनायो
तिमी बाउ बन्यौं
हजुरबाउ बन्यौं
अपशोच !
छोरी कहिल्यै छोरी भइन।

( धुलाबारी, झापा )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?