
मड्रिड । स्पेनिस ला लिगामा रियल मड्रिडले गेटाफेविरुद्ध सहज जित दर्ता गरेको छ । जुड बेलिङघमको उत्कृष्ट प्रदर्शनमा मड्रिडले आइतबार राती गेटाफेविरुद्ध २-० को जित हात पारेको हो । जितसँगै रियलले शीर्षस्थानको बार्सिलानासँगको अंक दूरी घटाएर एकमा पुर्याएको छ । रियलको १४ खेलमा ३३ अंक रहँदा एक खेल बढी खेलेको बार्सिलोनाले ३४ अंक जोडेको छ । पराजित गेटाफे १५ खेलबाट १३ अंकका साथ १७औँ स्थानमा छ ।
केलियन एमबाप्पेले रियल मड्रिडका समर्थकसामु आफ्नो प्रदर्शन सुधारको संकेत दिनुभएको छ । खेलमा एमबाप्पेले पनि गोल गर्नुभएको थियो । यो सिजन रियलमा आबद्ध भएयता उहाँ आलोचनाको सामना गरिरहनुभएको थियो । उहाँले ३८औँ मिनेटमा गोल गर्दै सान्टियागो बेर्नाबेउ रंगशालामा रियलको जित सुनिश्चित गर्नुभयो ।
यसअघि बुधबार च्याम्पियन्स लिगमा लिभरपुलविरुद्ध एमबाप्पेले पेनाल्टी गुमाउनुभएको थियो । एमबाप्पेले पछिल्ला ६ खेलमा मात्र एक गोल गर्नुभएको थियो । रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भन्नुभयो, ‘उनले निकै राम्रो खेले । सक्रिय थिए र सधैंजस्तै खतरनाक देखिए । उनले गोल गरे र अवसर सिर्जना गरे । हामी उनलाई यस्तै देख्न चाहन्छौँ ।’ तर, एमबाप्पे आफ्नो उत्कृष्ट लयमा अझै फर्किनुभएको छैन ।
त्यस्तै, एथ्लेटिको मड्रिडले भालाडोलिडलाई ५-० को फराकिलो अन्तरले हरायो । एथ्लेटिकोले च्याम्पियन्स लिगका पाँचमध्ये तीन खेलमा हार बेहोरेको छ भने ला लिगामा लगातार तीन जित हात पारेको छ । अन्य खेलमा भिल्लारियलले जिरोनासँग २-२ गोलको बराबरी खेलेको छ । एथ्लेटिक बिल्बाओले रायो भालेकानोमाथि २-१ को जित निकाल्दा रियल सोसिडाडले रियल बेटिसलाई २-० ले पराजित गर्यो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच