देवकी गौतम
के तपाईं सामाजिक सञ्जाल चलाउनुहुन्छ ? मनमा लागेको विचार खुलस्त सहीलाई सही र गलतलाई गलत भन्ने सामथ्र्य राख्नुहुन्छ ? उसो भए तयार हुनुहोस्, पेटभरि खानलाई शब्दका भारीहरू हार्दिक श्रद्धाञ्जलि !!! हार्दिक श्रद्धाञ्जलिको अर्थ हो मृतकप्रति गहिरो भावनात्मक सम्मानका साथ गरिने श्रद्धा र स्मरण । सामान्यतया यो शब्द मृत व्यक्तिकाप्रति आदरभावका साथ शोक सन्देश वा अन्तिम बिदाइ दिन प्रयोग गरिन्छ तर आजभोलि यो शब्द सामाजिक सञ्जालमा तपाईंका पेजभरि अरू कसैको कानले सुन्न नचाहेको शब्द लेख्दा वा बोल्दा पनि तपाईंले सुन्न, हेर्न वा देख्न अनि सहन गर्न सक्नुपर्ने हुन्छ ।
भनिन्छ, राजनीति समाजको ऐना हो । राजनीति समाज वा राष्ट्रभित्र शक्ति, निर्णय र स्रोतहरूको व्यवस्थित बाँडफाँट गर्ने प्रक्रिया हो । जसले विभिन्न विचारधारा नीति, नेतृत्वको आधारमा समाजलाई सही दिशा प्रदान गर्दछ र समाजमा सामाजिक सन्तुलन कायम गर्दछ । राजनीतिमा विशेषगरी तीनवटा पक्ष महत्वपूर्ण हुन्छन् । पहिलो पक्ष हो नेतृत्व-जसले राष्ट्र र समाजलाई सही मार्गमा लैजान सक्षम हुन्छ । दोस्रो पक्ष नीतिनिर्माण-जनताको अल्पकालीन र दीर्घकालीन समस्या समाधान गर्ने सामथ्र्य राख्दछ, तेस्रो पक्ष हो सहभागिता-राजनीतिमा जनताले सक्रिय रूपमा सहभागी भएर मतदान गर्ने, सुझाव दिने र विरोध गर्ने अधिकारको सुनिश्चितता भएको हुन्छ । यसको अर्थ हो राजनीतिमा मन नपरेका कुराको विरोध खुलेर अनि खुलेआम गर्न पाइन्छ ।
हिजो प्रतिपक्षविहीन सरकार हुन सक्दैन भनेर नेपाली कांग्रेसका नेता बीपी कोइरालाले भरत शमशेरलाई प्रतिपक्षी दलको नेता बनाएर सम्मान गरेको राजनीतिक इतिहास बोकेको मेरो देशमा मन नपरेका विचारको पनि फरक तर महत्वपूर्ण स्थान थियो । तर, आज फरक मत व्यक्त गर्ने बित्तिकै हार्दिक श्रद्धाञ्जलि भन्ने गरिन्छ ।
हामी जुन लोकतान्त्रिक व्यवस्थाको वकालत गर्दछौं, त्यस व्यवस्थाले नै विरोधको अधिकारलाई सुनिश्चित गर्दछ । अल्पमतको कदर गर्दछ । हिजो प्रतिपक्षविहीन सरकार हुन सक्दैन भनेर नेपाली कांग्रेसका नेता बीपी कोइरालाले भरत शमशेरलाई प्रतिपक्षी दलको नेता बनाएर सम्मान गरेको राजनीतिक इतिहास बोकेको मेरो देशमा मन नपरेका विचारको पनि फरक तर महत्वपूर्ण स्थान थियो । तर, आज फरक मत व्यक्त गर्नेबित्तिकै हार्दिक श्रद्धाञ्जलि !! केही समययता राजनीतिमा नयाँ नेतृत्वको उदय सँगसँगै देखिएको पछिल्ला पुस्ताको राजनीतिक कार्यकर्ताको विचारमा आएको स्खलन, दरिद्रता देखेर दया र चिन्ता लागेको छ । सँगसँगै लाग्दछ कि, हामीले यो देशमा कस्तो राजनीतिक संस्कारको विकास गरिरहेका छौं ?
एउटा समाजलाई सभ्य र सुसंस्कृत बनाउने राजनीतिभित्रका असंख्य सकारात्मक पाटालाई बिर्सेर जब राजनीति विकृत र छाडापनको बाटो समाउँछ तब समाज अराजकतातिर धकेलिन्छ । केही समय आगाडिको कुरा हो । मेरी सानी छोरीले एक दिन सामाजिक सञ्जालमा लेखिएको तल्लो स्तरको कमेन्ट देखेर आत्तिँदै ममी अरूलाई यस्तो स्तरहीन गाली गरेर लेख्नेहरू के नेपाली नै होलान् त ? भनिन् । त्यो बाल मस्तिष्कले भनेका कलिला शब्दहरू मेरो मनमा समुद्रको छाल झैँ उकालीओराली गरिरहृयो । सन्दर्भ हो गत उपनिर्वाचनको । आफ्नो उम्मेदवारलाई मत मागेको कारणले गर्दा हज्जारौं स्तरहीन शब्दको गाली जसलाई मैलेमात्र होइन एउटा आमनेपाली महिलाले अरू कसैलाई भन्ने र सुन्ने कल्पना पनि गर्दैन र ४/५ हजार जति हार्दिक श्रद्धाञ्जलिको उपहार पाइएको थियो ।
के यही हो हामीले र हाम्रो पुस्ताले कल्पना गरेको लोकतन्त्र ? जहाँ शब्दका नाममा अर्को नागरिकमाथि असंसदीय शब्दको घिनलाग्दो बान्ता गरिन्छ ? कसैको समर्थन र विरोधका नाममा अर्काका छोरीबुहारीलाई अश्लील शब्दको खुकुरी हानिन्छ ? आजभोलि वैचारिक व्यक्तिहरूका सामान्य चिया बहसमा, प्राध्यापकहरूका सुस्केरामा, महिला नेताका भेटघाटमा सुनिन्छ कि मलाई त अब केही लेख्न र बोल्न पनि डर लाग्छ । केही लेखौं भने सुनिनसक्नु र हेरिनसक्नु कमेन्टको भारी थेगेर रातभरि ननिदाउनुभन्दा लेख्नै छोडे आनन्द । विचारको कुनै पिँजडा हँुदैन । विचारलाई निस्फिक्री स्वतन्त्र भएर उड्न दिएनौं भने लोकतन्त्रको मर्म समाप्त हुन्छ ।
आजकल सामाजिक सञ्जालमा अश्लील शब्द र गालीको आतंक नै फैलिएको छ । लक गरिएका प्रोफाइलबाट मात्र नपुगेर फेक आइडीसमेत बनाएर भिन्न विचार राख्नेहरूलाई हार्दिक श्रद्धाञ्जलि दिनु र अश्लील गाली गर्नु चाहिँ कुन राजनीतिक दर्शनभित्र पर्दछ बुझ्न गाह्रो भयो ।
आजकल सामाजिक सञ्जालमा अश्लील शब्द र गालीको आतंक नै फैलिएको छ । लक गरिएका प्रोफाइलबाट मात्र नपुगेर फेक आइडीसमेत बनाएर भिन्न विचार राख्नेहरूलाई हार्दिक श्रद्धाञ्जलि दिनु र अश्लील गाली गर्नु चाहिँ कुन राजनीतिक दर्शनभित्र पर्दछ बुझ्न गाह्रो भयो । जसरी सामाजिक मर्यादाको परिधि हुन्छ त्यस्तै सामाजिक सञ्जालको मर्यादा र त्यसको परिधि हुन्छ । यसलाई मर्यादित बनाउनेतर्फ यसको प्रयोगकर्ता हामी सबै सचेत हुन जरुरी छ ।
हामी नेपाली, हाम्रो हिजोका पुस्ताले नेपालको रक्षाका लागि अंग्रेजसँगको युद्धमा मरणपरान्त पनि साहसी वीर भनेर सम्मान प्राप्त गरेको गौरवपूर्ण इतिहास छ । हिजो राणाशासनको बेलामा होस् अथवा राजाको शासनको बेलामा होस् राजा महेन्द्र र बीपी कोइरालाको बीचमा जीवन र मरणको उच्च राजनीतिक टकराव हुँदा पनि एक अर्कालाई सम्मानपूर्वक शब्द पस्कने गर्दथे । हिजो पञ्चायती व्यवस्था जुनबेला सबै पञ्च नेपाली-सबै नेपाली पञ्च भन्ने बेलामा पनि फरक राजनीतिक विचार बोकेर राजनीतिमा होमिएका नेपाली कांग्रेस र कम्युनिष्टका नेताहरू आआफ्नो पार्टीका अलगअलग गतिविधि सञ्चालन गरिरहेका थिए तर एकअर्कालाई भेट्दा होस् अथवा सार्वजनिक सभासमारोहमा होस् एकअर्कालाई गाली पनि सम्मानपूर्वक शब्दले गर्ने गरिन्थ्यो ।
पञ्चायतको खुलेर वकालत गर्ने कीर्तिनिधि विष्टलाई परिवर्तनका पक्षधर बीपी कोइरालाले बहुदल र निर्दलको निर्वाचनको विषयमा कीर्तिनिधिको निवासमै गएर तपाईंका यी छोराछोरीले पनि मलाई नै भोट दिन्छन् तसर्थ यो निर्वाचन हामीले नै जित्छौं कीर्तिबाबु भनेको सन्दर्भलाई सम्झन सकिन्छ । गिरिजाप्रसाद र मदन भण्डारीबाट हिजो राजालाई श्रीपेच खोलेर चुनाव लड्न आइबक्सेला महाराज भनेर गरिएका भाषण आज पनि राजनीतिक बृत्तमा उत्तिकै चर्चाको विषय बनिरहेका छन् । तर, आजकल आफूलाई अत्यन्तै नयाँ र समयअनुकूल भनेर व्याख्या गर्ने दलहरू र तिनका कार्यकर्ताले अन्य दलका कार्यकर्तालाई मात्र होइन सामान्य मतदाता र विचार नमिल्ने आमनागरिकलाई समेत निम्छरो गाली दिन हरपल तत्पर रहेको देखिन्छ ।
राजनीति विचारको लडाइँ गर्ने थलो हो । विचारले संसार परिवर्तन हुन्छ । हिजो बन्दुकले सदन कब्जा गर्न हिँडेका वैचारिक यात्रामा आफूलाई समाहित गरेर अगाडि बढेका उदाहरण नेपाली राजनीति र विश्व राजनीतिमा प्रशस्त भेटिछन् । जसले आफ्नै देशका अन्य नागरिकले भनेको विचारलाई वैचारिक जवाफ फर्काउन नसकेर अश्लीलताको झटारो हान्छ त्यसले देश बनाउने सामथ्र्य र धैर्य राख्दछ भनेर एउटा आमनागरिकले कसरी विश्वास गर्न सक्दछ ? राजनीतिमा जब व्यक्तिको कर्म कमजोर हुन्छ तब उसले फजुलका गाली, चर्को आवाज र तर्कले विषयलाई जित्ने प्रयत्न गर्दछ ।
राजनीति-नीति, विधि र विचारले गरिन्छ । केही समयअगाडि वर्तमान श्रद्धेय प्रधानमन्त्री एवं तत्कालीन नेकपा (कम्युनिष्ट एकताका बेला) का नेता केपी शर्मा ओलीजीको विरुद्धमा कसैले केही बोल्न हुँदैनथ्यो । एक जना वरिष्ठ पत्रकारको भाषा सापटी लिएर भन्ने हो भने अरिंगालले एकै पटक झम्टिए जस्तो झम्टिने गरेको देखिन्थ्यो । तर, अहिले आफूले आफूलाई संसारकै जान्ने भनेर परिचित गराउने साइबर सेनाहरूको लक गरिएको प्रोफाइल र फेक आइडीबाट गरिएको डिजिटल आतंकको चर्चा त्यसभन्दा सयौं गुणा बढी छ । समयले नेटो काटिसक्यो । हामी २१औं शताब्दीमा छौं तर फेरि यसो भन्ने हो भने सामाजिक सञ्जालतिर अहिले एउटा कुरा ट्रेन्डमा छ । आउनुहोस्, आफ्नो प्रोफाइल लक गरौं, अनि अरूलाई मन लागेको छाडा गाली गरौं । जान्नेलाई छान्नेहरूको जयहोस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच