भनिन्छ युवाहरू देशका कर्णधार हुन् । हुन पनि यो भनाइ ध्रुर्व सत्य हो तर हाम्रो देशको सन्दर्भ त्यसभन्दा भिन्न छ । युवाहरू स्वदेशमै केही गरौं भन्ने वातावरण (परिस्थिति) नै निर्माण हुनसकेन, जसले गर्दा आज युवाहरू जसलाई देशका कर्णधार भनिने गरिन्छ उनीहरू दिनप्रतिदिन तीव्र गतिमा विदेशतिर पलायन भइरहेकोे अवस्था छ । सरकारले न रोजगारी सिर्जना गरेको छ न सुनिश्चित भविष्यको कुनै विश्वासिलो आधार देखाउन सकेको छ । यस्तो परिस्थितिमा आफ्नो उज्यालो भविष्यका लागि युवा पिँढीको एकमात्र विकल्प हो विदेशिनु । स्वदेशमा न कुनै उद्योगधन्दा छन् न रोजगारीका लागि अन्य बाटा छन् । एउटा राम्रो विकल्प कृषि थियो र छ पनि तर सरकारले कृषिमा यथोचित ध्यान नदिँदा त्यो क्षेत्र पनि धाराशायी भएको छ ।
कृषि यस्तो क्षेत्र हो जसले प्रचुर सम्भावना बोकेको छ । आफ्नै स्रोत र साधनले भरिपूर्ण कृषि क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेर राष्ट्रिय नीतिनिर्माण गरेर अघि बढेको भए आज देश यस्तो दरिद्र अवस्थाबाट गुज्रनुपर्ने थिएन । सम्पूर्ण युवाशक्तिले आफ्नै माटोबाट डलर फलाउन सक्ने थियो । यस यथार्थलाई जिम्मेवार पक्षले अझै पनि गम्भीरताका साथ चिन्तन मनन् गरेर आफूलाई सही बाटोमा लाने दृढ इच्छाशक्ति देखाउन सके पक्कै पनि देशका तन्नेरीहरू आफ्नै माटोमा पसिना बगाउन तयार हुनेछन् । औद्योगिक विकासमार्फत अगाडि बढ्न नसकिए पनि कृषि क्षेत्रको विकास सम्भव छ र सम्भव बनाउनुपर्छ । यसो गरेमात्रै युवाहरू पलायन हुने क्रम रोक्न सकिने देखिन्छ ।
राजनीतिमा पुस्तान्तरणको खाँचो टड्कारो अनुभव गरिँदै छ । त्यो नयाँपुस्ताको अगुवाइ आज रवि लामिछाने जस्ताले गरेका छन् । देशमा धेरै पढालेखा युवाहरूले अर्धशिक्षित रवि लामिछानेको जयजयकार गर्ने परिस्थिति कसरी भयो भन्ने बारे पुराना दलले गम्भीर रूपले समीक्षा गर्न ढिला भइसकेको छ ।
जमिन हामीसँग छ । सिँचाइका लागि पानी पर्याप्त छ तर कमी केबल सरकारी नीतिको मात्र छ । यसर्थ युवाहरूलाई आफ्नै मातृभूमिमा सबै प्रकारको श्रम गर्न÷गराउन सरकारी नीति निर्माणमा जिम्मेवार पक्ष उदासिन देखिँदा आज नयाँ पुस्तामा निराशा र आक्रोसबाहेक अरू केही देखिँदैन । देशको ताजा अवस्था पनि पुरानदलप्रति धेरै असन्तुष्ट र साथसाथै आक्रोश पनि त्यत्तिकै व्याप्त छ । यस्तो परिस्थिति देख्दादेख्दै पनि दलहरू अनुत्तरदायी र अकर्मण्य देखिनु विडम्बना हो । आज नेपाली युवापिँढी संसारका हरेक कुना-कुनामा पुगेका छन् । ती मुलुकहरूले कसरी विकास गरेका छन् भन्ने जानकारी पनि राखेका छन् । उनीहरू अर्थात् नयाँ पुस्ताले धेरै कुराको जानकारी राखेका छन् ।
त्यसैले राजनीतिमा पुस्तान्तरणको खाँचो पनि त्यत्तिकै टड्कारो अनुभव गरिँदै छ । त्यो नयाँपुस्ताको अगुवाइ आज रवि लामिछाने जस्ताले गरेका छन् । देशमा धेरै पढालेखा युवाहरू अर्धशिक्षित रवि लामिछानेको जय÷जयकार गर्ने परिस्थिति कसरी भयो भन्ने बारे पनि पुराना दलहरूले गम्भीर रूपले समीक्षा गर्न ढिला भइसकेको छ । अर्को दुर्गा प्रसाईं जस्ता व्यक्ति आज सरकार र दलहरूको विकल्पको रूपमा देखापरिरहेको अवस्था पनि त्यत्तिकै टड्कारो रूपमा देखिइरहेको छ । यो सबै परिस्थितिको कारक तत्व पुराना पार्टीहरू कांग्रेस/कम्युनिष्ट नै हुन् । यदि यी पुराना पार्टी समय छँदै नसच्चिए सक्किने पक्का छ ।
यो कुरा सत्य हो कि नयाँ अर्थात् युवा पुस्ता पुराना पार्टीप्रति अत्यन्तै असन्तुष्ट छन्, त्यतिमात्रै होइन आक्रोशित छन् । त्यसकारण पुरानादल चाहे जुनसुकै नामबाट चिनिएका किन नहुन् उनीहरूले बेला नबित्दै आपूmहरूलाई करेक्सन गर्नुको अब विकल्प छैन । तसर्थ परिस्थितिको सही समीक्षा र विश्लेषण गर्दै युवाको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्नेछ । अब राणा फाल्यौं, पञ्चायत फाल्यौं अनि राजा फाल्यौं भनेर युवाहरूको असन्तुष्टि सम्बोधन हुन सक्तैन । यो यथार्थलाई तथाकथित पुरानादल कांग्रेस÷कम्युनिष्टले जिम्मेवारीपूर्वक ऊर्जाशील युवा शक्तिहरूको मनोभावनालाई यथोचित सम्मान गर्न कञ्जुस्याइँ नगरुन् । अन्यथा रवि लामिछाने र दुर्गा प्रसाईं यो देशका क्षणिक नै किन नहोस् हिरो भएर आउने निश्चित छ ।
चर्चित सहकारी काण्डमा अर्बाैं रकम अपचलन गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेप्रति युवाहरूको आकर्षणले के बताउँछ ? भ्रष्टाचारजन्य कसुरमा छानविन तथा अनुसन्धानमा रहेका रविको समर्थनमा युवाहरू सडकमा देखिएको अवस्थालाई ध्यानमा राख्दै यस अवस्थालाई हल्का रूपले हेर्नुहुँदैन भन्ने बुझ्नु पर्दछ । त्यस्तै दुर्गा प्रसाईं पनि बेलाबेलामा विवादाष्पद अभिव्यक्ति दिएर अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहे पनि उनीप्रति पनि नागरिकहरूको त्यत्तिकै विश्वास र भरोसा देखिनु पनि पुराना दलप्रति नागरिकहरूको विश्वास टुट्नु हो भनेर बुझ्नु सही हुनसक्छ ।
सत्ताबाट बहिरगमित भएको पीडा र छट्पटीले चालिने कदम त्यति सुखद नहुन पनि सक्छ । यो पनि एउटा गम्भीर प्रश्न हो । त्यसैले माओवादी केन्द्र र त्यसका अध्यक्ष क.पुष्पकमल दाहाल (प्रचण्ड) ले लोकतान्त्रिक गणतन्त्रको अगाडि सत्ता ठूलो हुन सक्तैन भन्ने कुरा बुझ्नु जरुरी छ ।
तसर्थ विशेष गरेर सत्तारूढ दलहरूले परिस्थितिको सही र सत्यतथ्य मूल्यांकन गर्नैपर्छ । अब विश्वेश्वरप्रसाद कोइराला र मदन भण्डारीको नाम जप्दैमा युवाहरूको असन्तुष्टि तथा आक्रोशलाई रोक्न सकिँदैन भन्ने तथ्य बुझ्न जरुरी छ । नयाँ पुस्ताको जुझारु र ऊर्जाशील क्षमता गलत ठाउँ र उद्देश्यमा प्रयोग हुन गयो भने त्यसको परिणाम भयावह नहोला भन्न सकिँदैन । यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले च्याँखे थाप्ने दाउमा देशको विभिन्न भागमा नागरिकको मुख सुँघ्ने कामलाई पनि तीव्रता दिइरहेको अवस्थालाई समेत मध्यनजर गर्दै युवा पिँढीको अपेक्षा के छ त्यतातिर गम्भीर हुन ढिला भइसकेको छ । यसर्थ परिस्थितिलाई पुरानादलको नियन्त्रणभन्दा बाहिर जानबाट रोक्न सक्नु अहिले तत्कालको कार्य हो भन्ने देखिन्छ ।
पछिल्ला विकसित राजनीतिक घटनाक्रमले के देखाउँछ भने पुराना दलप्रति युवा पिँढीको आकर्षण होइन विकर्षण र आक्रोश बढ्दो छ । नेपाली जनमत बडो विचित्रको छ । पाकिस्तानमा जुल्फिकर अलि भुट्टोलाई फाँसी दिइएको घटनापश्चात् नेपालमा आन्दोलन भड्कियो र अन्ततः राजा वीरेन्द्रले समसामयिक सुधारसहितको निर्दलीय व्यवस्था कि बहुदल के चाहछौं रोज भनेर जनमतसंग्रह गराइएको थियो । त्यस्तै अहिलेको परिप्रेक्षमा नेपालको संविधान २०७२ मा देखिएका केही असान्दर्भिक र खर्चिलो प्रादेशिक प्रणालीप्रति जन-आक्रोश प्रकट हुँदै गरेको स्थितिमा पुराना दल गम्भीर हुनैपर्ने देखिन्छ । यदि यीलगायत अन्य ताजा अवस्थालाई नजरअन्दाज गर्दै गए दुर्भाग्य ननिम्तिएला भन्न सकिँदैन । श्रीलंका र बंलादेशका घटना ताजै छन् र यहाँ पनि त्यस्तै नहोला भन्ने के ग्यारेन्टी छ ?
पंक्तिकार आफैंले पनि प्रजातान्त्रिक, गणतान्त्रिक आन्दोलनका लागि अलिकति भए पनि पसिना बगाएको हुनाले यहाँ चिन्ता र चासो व्यक्त गर्नु स्वाभाविक छ । अतः संक्षेपमा युवा पिँढीको मनोभावनालाई सम्मान गर्दै उनीहरूको चाहनालाई सम्बोधन गर्नतिर लाग्नु पुराना दलहरूको दायित्व हो । नत्र युवापुस्ताको असन्तुष्टि र निराशा अनि आक्रोशको निशान बन्न तयार हुनुपर्नेछ । जसले जेसुकै भनुन् अहिले सामाजिक सञ्जाल पुराना राजनीतिक शक्तिमाथि आक्रामक रूपमा प्रस्तुत भइरहेको अवस्थालाई नकार्न सकिँदैन । देशभित्र आफ्नो सुनिश्चित भविष्य नदेखेका अवसर नदेखेपछि युवा ‘आफू मरेपछि......राजा’ भन्ने स्थितिमा नपुग्लान् भन्न सकिने अवस्था छैन ।
परिस्थितिको गम्भीर विश्लेषण गरेका खण्डमा अहिले प्रतिक्रन्तिका लक्षण देखिँदै छन् । त्यस्तो प्रतिक्रान्तिका भित्री योजनाकारको जानीनजानी युवा पुस्ता प्रयोग हुनसक्ने प्रबल सम्भावना पनि पर क्षितिजमा नियालेर हेरेमा देख्न सकिन्छ । विशेष गरेर वर्तमानमा प्रमुख दुई ठूला दल कांग्र्रेस एमाले एउटै डुंगामा यात्रा गरे पनि माओवादी केन्द्र विद्रोही स्वभावका नयाँ पुस्तालाई फुक्र्याएर कांग्र्रेस-एमालेविरुद्ध प्रयोग गराउने र आफ्नो दुनो सोझ्याउँदै गरेको स्थितिमा ‘न रहे बाँस न बजे बाँसुरी’को स्थिति नहोला भन्न सकिँदैन ।
यसर्थ सत्ताबाट बहिरगमित भएको पीडा र छट्पटीले चालिने कदम त्यति सुखद् नहुन पनि सक्छ । यो एउटा गम्भीर प्रश्न हो । त्यसैले माओवादी केन्द्र, त्यसका अध्यक्ष क.पुष्पकमल दाहाल (प्रचण्ड)ले लोकतान्त्रिक गणतन्त्रको अगाडि सत्ता ठूलो हुन सक्तैन भन्ने कुरा बुझ्नु जरुरी छ । अहिले सहकारी ठगी कसुरमा अनुसन्धानमा रहेका रास्वपा सभापति रवि लामिछानेबाट तत्काल सहयोग र साथ पाउने आशामा पद्धति नै गुम्नसक्ने खतराको मतियार नहुनु नै सही निष्कर्ष हुनेछ प्रचण्डको । युवहरूको आक्रोसलाई रोक्न सकिएन र उनीहरू अरू कसैको बहकाइमा लागेर भड्किन पुगे भने त्यसभन्दा अर्को दुर्भाग्य के नै होला र ? यसर्थ पुराना दलहरूले युवा पुस्ताहरूमा किन यत्रो विकर्षण बढ्न गयो भन्ने बारे पनि गम्भीर चिन्ता र चासो राख्नुपर्ने देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच