![सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी](https://ehimalayatimes.com/wp-content/uploads/2025/01/cyber-suraksha.jpg)
नेपाली राजनीतिक वृत्तमा एकातिर विभिन्न चिरामा विभक्त कम्युष्टि पार्टी र अनुहारका बीच एकताको चर्चा पटक-पटक हुँदै आएको छ भने अर्कातिर यसको विपर्यासका रूपमा कम्युनिष्ट पार्टीका नेताहरूबाटै यसको खण्डन भइरहेको पनि पाइन्छ । यसलाई असम्भव सपना नै त भन्न नमिल्ला तर यस अवधारणा र प्रयासले सजिलै सार्थकता पाउन भने मुस्किलै छ । राजनीतिमा, युद्धमा र प्रेममा सबै कुरा सम्भव हुन्छन् भन्ने मान्यता राखिन्छ, त्यस कारण यसको पनि सम्भावनालाई नकार्न सकिँदैन । स्वार्थको आहालमा चुर्लुम्म डुबेकाहरूले भोलिका दिनमा एकता भयो नै भने पनि एउटा-एउटा निहुँमा पार्टी छोडेर लागापाखा लाग्दैनन् भनेर कसैले पनि कुनै प्रकारले प्रत्याभूति दिनसक्ने अवस्था के हुन्छ ? स्वभाविक प्रश्न उठिरहेको छ । किनभने यही प्रकारको अवस्था विगतमा धेरै पटक कम्युनिष्ट पार्टीहरूले पहिले पनि भोगिसकेका हुन् ।
एकताकासाथ चुनाव लडेर दुई तिहाइ निकटको बहुमत प्राप्त एउटा शक्तिशाली नेकपा बनेको थियो । नेपालमा पचास वर्ष शासन गर्छौं भनेर उद्घोष गरेको नेकपा किन तुरुन्तै चकनाचुर भयो ? त्यो सबैलाई थाहा छ । त्यो सब थाहा भएका दल, नेता र कार्यकर्तालाई पुनः एकताका गुलिया पुरियाहरू बाँडेर बृहत् एकताको सपना बाँड्दा यसप्रति हाल प्रतिपक्षमा भएका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबाहेक सत्तामा रहेकाहरूले मओवादीका अध्यक्ष पुष्पकमल दाहालको उक्त प्रस्तावलाई समर्थन गर्न सक्लान् त ? यदि सक्दैनन् भने एक थरी एकता गरौं कि गरौं भनिरहने र अर्को पक्षले कुनै हालतमा पनि त्यसतर्फ कानमा बतास नलाउने गर्नुको अर्थ नागरिकहरूले के बुझ्ने ?
यसको अन्तर्य सत्तामा रहेकाहरूले वास्ता नगर्ने र सत्ताबाट बाहिर रहनु परेकाहरूले एकता गरौं भन्नुको अर्थ एउटाले सरकार नछोड्ने र अर्कोले सत्तामा जाने रणनीति तयार गर्ने प्रयास गरेको भनेर बुझ्नुपर्ने हुन्छ । प्रचण्ड अब यो सरकार धेरै लामो समयसम्म टिक्दैन भनिरहनुभएको छ तर उहाँसँग यसको भरपर्दो आधार केही पनि छैन । राजनीतिमा विरोधका लागि विरोध गर्ने प्रवृत्तिका रूपमा मात्र यसलाई हेरिएको छ । नेपालका ठूला भनिएका पार्टीहरूलाई सरकारबाट बाहिर बस्नै नसक्ने दीर्घरोग लागेको अवस्था छ र सत्ताबाट बहिरगमन हुनासाथ अनेकौं प्रयास र आश्वासन दिने गरिएको छ । सत्तामा छउन्जेलको बोली एक प्रकारको हुन्छ, सत्ताबाहिर भएका बेलाको बोली अर्को प्रकारको हुनेगरेको छ । प्रचण्ड पीडा यतिखेर यसैकारण सरकार नटिक्ने भन्ने शब्दमा प्रकट भइरहेको लाग्छ ।
नत्र कम्युनिष्ट पार्टीबीच बृहत् एकता मओवादी केन्द्रलाई र नेकपा एकीकृत समाजवादीलाई मात्र चाहिने र एमालेलाई नचाहिने हो ? एकतामा अडिन वा उभिन सकिन्छ र विभाजित भए लडिन्छ भन्ने अंग्रेजी उखानको अर्थ सबैलाई थाहा छ । त्यसको अर्थ थाहा भएर पनि अभ्यासमा त्यसो भएको पाइएको छैन । विशेषगरी वर्तमान सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष दाहाल र एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै साम्यवादी विचारका सबैभन्दा ठूला संवाहक नेता मानिनुहुन्छ । उहाँहरू दुईजना एक ठाउँमा उभिनसक्ने हो भने बृहत् एकता हुनसक्छ तर उहाँहरू बीचमै यस प्रस्तावबारे एउटै विचार स्थापित बन्न सकिरहेको छैन । यसका कारण उहाँहरूले विगतमा गरेको एकता र विभाजनकोे स्मरण नै हो ।
विगतमा एकता भएकै थियो तर त्यसलाई जोगाउन उहाँहरूले सक्नुभएन । माओवादी माओवादीमै फर्किनुमा र नेकपा एकीकृत समाजवादी जन्मिनुको कारण पनि यही थियो । यति छिटै त्यस सत्यलाई बिर्सिएर पुनः एकताको प्रस्ताव आउनाले प्रचण्डको यो उहाँको सत्तामा पुग्ने हतारो र चालमात्र हो भन्ने अर्थमा धेरैले बुझेका छन् । एकीकृत समाजवादीमा दुई पूर्वप्रधानमन्त्रीहरू हुनुहुन्छ तर पार्टी नै सानो भएपछि नेताको भौतिक उचाइ जति धेरै भए पनि त्यस्तो देखिँदैन रहेछ । प्रतिनिधि सभामा जम्माजम्मी ३२ स्थानमा विजय हासिल गरेको माओवादी पार्टीका नेताले नै त्यसको झण्डै तीनगुणा बढी स्थानमा विजयी दलहरूलाई वरिपरि घुमाइरहने र मियो चाहिँ आफू बन्दै आइरहनु भएको थियो । दाहाल पुनः त्यही प्रयासमा भएको अर्थमा एमाले नेतृत्वले पनि बुझिरहेको हुनसक्छ ।
त्यसैले त एमालेका महासचिव शंकर पोखरलले माओवादी अध्यक्ष प्रचण्डसँग प्रतिप्रश्न गर्नुभएको छ । यो सरकार अप्राकृतिक गठबन्धनबाट बनेको हो भनेर माओवादीका अध्यक्षले लगाउनुभएको आरोपको जवाफमा ‘३२ सिटले सरकारको नेतृत्व गरेको चाहिँ प्राकृतिक हुन्छ भनेर प्रश्न सोध्नुभएको छ । माओवादीको प्रवृत्ति र शैलीलाई उहाँहरूले म्याजिक शैलीमा अगाडि बढिरहेको भन्ने प्रतिक्रिया दिनुभएको छ । उहाँले देशमा सुशासन कायम गर्न माओवादीलाई बहुमत आवश्यक छ भन्नुभएको छ तर माओवादीको अवस्था दिनप्रतिदिन खस्किँदै गएको छ । माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका माधव नेपाल र झलनाथ खनाल एक ठाउँमा भए पनि एमालेको भारी पल्लालाई उहाँहरूले माथि उचाल्न सक्नुहुने अवस्था छैन । जे भए पनि हाल उठिरहेको बृहत् एकताको प्रसंगले विभाजित हुँदाहुँदा एउटा सानो कम्युनिष्ट पार्टीको एक्लो नेता भएर रहेका पुराना चर्चित नेताहरूले पनि आफ्नो धारणा राख्न पाउनुभएको छ ।
नत्र राजनीतिबाट चिप्ल्याएर धरमर बनाइनुभएका वामदेव अनि मालेका चन्द्रप्रकाश मैनालीहरू जस्ता नेताहरूले अब त बिस्तारै आफ्ना धारणा राख्ने ठाउँसमेत नपाउनुहोला कि भन्ने अवस्था सिर्जना हुँदै गएको छ । नेकपा एकीकृत समाजवादीको अवस्था पनि यसभन्दा धेरै फरक छैन । भएका केही सांसद र नेताहरूलाई जोगाउनसमेत उहाँहरूलाई गाह्रो भइरहेको छ । कहिले एमालेमा फर्किने चर्चा चल्छ भने कहिले त कांग्रेस प्रवेश गर्ने हल्ला फैलिने गर्छ । हल्लाको पछि नलाग्ने हो भने पनि नेकपा एसलाई आफ्नो साख जोगाउन मुस्किल छ भन्ने सबैलाई थाहै छ । कथंकदाचित कम्युनिष्ट पार्टीका बीच एकता भएमा त्यो व्यक्तिगत लाभहानीको र पार्टीको स्वार्थका लागि मात्र नहोस् । त्यसले बहुलवाद, बहुदलीय राजनीतिक प्रणालीलाई निरस्त गर्ने होइन, बहुलवाद र बहुदलीय प्रणालीको सुदृढीकरण गर्दै देश, जनता र राष्ट्रियताका पक्षमा उभिने खालको होस्, हुनुपर्छ । तर कम्युनिष्ट पार्टीबीचको बृहद् एकता विगतमा जसरी शिव शर्माको सातुमा परिणत भयो अबको हल्ला पनि खासै फरक हुने लक्षण देखिएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच