
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले गत साफको प्रदर्शन र राम्रो तयारी भएकाले घरेलु मैदानमा आगामी हप्तादेखि सुरु हुने च्याम्पियनसिप जित्ने लक्ष्य रहेको बताउनुभएको छ ।
आगामी फागुन ५ गतेदेखि दशरथ रंगशालामा नेपालले लेबनान, म्यानमार र किर्गिस्तान सम्मिलित चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा खेल्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत माघ २० गतेदेखि ३९ जना प्रारम्भिक टोली घोषणा गर्दै प्रशिक्षण सुरु गरेको थियो । प्रशिक्षक तामाङले हाल ३० जना टोली छनोट गर्दै प्रशिक्षण गराइरहनुभएको छ । प्रशिक्षक तामाङले साँझ फ्लड लाइट र बिहान टर्पmमा प्रशिक्षण गरिरहेको उल्लेख गर्दै सबै खेलाडी फिट रहेको बताउनुभयो । उहाँले गत साफको प्रदर्शनले खेलाडी उत्साहित रहेकाले जित्ने लक्ष्यसहित तयारी गरिरहेको विश्वास व्यक्त गर्नुभयो ।
घरेलु लिगतर्फ खेलिरहेको र यो प्रतियोगिता घाँसे मैदानमा खेल्दा केही फरक पर्न सक्ने भए पनि आफ्ना खेलाडी अभ्यस्त हुने उहाँको विश्वास छ । घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता भइरहँदा उपाधि घरमा नै राख्ने चाहना भए पनि खेलमा यसै हुन्छ भन्न नसकिने र त्यसमा पनि म्यानमार धेरै राम्रो टोली रहेको उहाँले उल्लेख गर्नुभयो । म्यानमारले आफूभन्दा बलिया र फिफा वरीयतामा माथिल्ला टोलीसँग खेलिरहेकाले बलियो रहेको तामाङ बताउनुहुन्छ । यद्यपि आफ्नो टोलीले पनि त्यहीअनुरूप तयारी गरिरहेको उहाँको भनाइ छ ।
मिडफिल्डर दीपा शाही र डिफेन्डर हीराकुमारी भुजेल नेपाली महिला टोलीका महत्वपूर्ण खेलाडी हुन् । उनीहरू गत महिला साफ च्याम्पियनसिपका दौरान नै चोटका कारण मैदानबाहिर छन् । अहिले दुवैजना रिकभर भइसकेका छैनन् । प्रशिक्षक तामाङले उनीहरू धेरै उत्कृष्ट खेलाडी रहेकाले अभाव खड्किने उल्लेख गर्दै उनीहरूको स्थानमा विकल्प खोजिएको बताउनुभयो । नयाँ खेलाडी अनुभवी नभए पनि क्षमतावान रहेको प्रशिक्षक तामाङको विश्वास छ । समग्रमा आफ्नो टोली राम्रो रहेको र खेलाडी पनि आफैं उत्साहित रहेको उहाँको भनाइ छ ।
टोलीको अग्रपंक्तिमा खेल्ने दुई खेलाडी रेखा पौडेल र सावित्रा भण्डारी खेलको केही दिनअगाडि आउने भएकाले टिम कम्बिनेसनमा केही समस्या हुन सक्ने उहाँको भनाइ छ । यद्यपि पछिल्ला खेलमा रिभ्यु गरेर सुधार गर्ने प्रशिक्षक तामाङको अपेक्षा छ ।
एएफसी एसियन कप र फिफा महिला विश्वकपको तयारीस्वरूप एन्फाले यो च्याम्पियनसिप आयोजना गरेको हो । सोहीअनुरूप चार देशीय च्याम्पियनसिप खेल्न लागेको हो । यद्यपि म्यानमारबाहेक दुई टोली किर्गिस्तान र लेबनान नेपालभन्दा फिफा वरीयतामा तलका टोली हुन् । म्यानमार हाल फिफाको ५५औँ स्थानमा छ । जुन नेपालभन्दा ४८औँ स्थान माथि हो । किर्गिस्तान १२८औँ र लेबनान १३४औँ स्थानमा छन् । त्यसैले ठूलो महत्वाकांक्षा राखेको एन्फाले तुलनात्मकरूपमा कमजोर टोलीसँग तयारी गर्न लागेको हो ।
प्रशिक्षक तामाङले फिफा वरीयतामा केही माथि र तल रहेको टोली भए पनि खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गर्नुभयो । आफूहरूले फिफा वरीयतामा धेरै माथिका टोलीसँग पनि खेलिसकेकाले म्यानमारसँग कठिन नहुने र हामी सक्छौं भन्ने सोचेर खेल्दा गाह्रो नहुने आशा गर्नुभएको छ । लेबनान र किर्गिस्तानसँग खेलिसकेकाले म्यानमार पनि केही बलियो रहेको उहाँको भनाइ छ ।
नेपाली टोलीका युवा खेलाडी प्रीति राईले भर्खरै लिग खेलिरहेकाले म्याच एक्सपोजर पनि पाएको र तयारी पनि राम्रो भएकाले प्रतियोगितामा सुखद हुने आशा गर्नुभयो । फिफा वरीयताले खासै असर नहुने आफ्नो टोलीमा क्षमतावान रहेको प्रीतिले बताउनुभयो । सबै टोली समान बलियो रहे पनि जित निकाल्ने लक्ष्यसहित खेल्ने उहाँको अपेक्षा छ । चोटले केही खेलाडी घाइते भए पनि नयाँ खेलाडी पनि राम्रो रहेको प्रीति बताउनुहुन्छ । जहिल्यै पनि स्वर्ण जित्ने लक्ष्यसहित खेले पनि यसपल्ट सफलता पाउने आशामा नेपाली रहेको छ । प्रतियोगिताका लागि टिकट दर साधारण प्यारापिटतर्फ पाँच सय रुपैयाँ र भिआइपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ । आगामी फेब्रुअरी १३ मा किर्गिस्तान नेपाल आउने भएको छ । अन्य दुई टोली भने त्यसको भोलिपल्ट आउनेछन् ।
शीर्ष प्रायोजक बन्यो भायनेट
अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक इन्टरनेट सेवा प्रदायक कम्पनी ‘भायनेट’बनेको छ । भायनेट र प्रतियोगिताको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्राण्ड डिजिटल लजिक प्रालिबीच काठमाडौंमा एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
नेपाली फुटबलको विकासमा योगदान पुर्याउने उद्देश्यसहित यो प्रायोजन गरिएको भायनेटले जनाएको छ । भायनेटका कमर्सियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले खेलकुद, मनोरञ्जन र इन्टरनेट आपसमा गाँसिएका क्षेत्रहरू भएको बताउनुभयो । ठूला खेलकुद प्रतियोगिताका बेला इन्टरनेट र टिभीको प्रयोग उल्लेखनीयरूपमा बढ्ने र हाल नेपाली क्रिकेट र फुटबलमा देखिएको प्रगति र दर्शकहरूको माया उत्साहजनक रहेकाले कम्पनीले यस यात्रालाई अझ बलियो बनाउन चाहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच