
भक्तपुर । भक्तपुर सल्लाघारीमा रहेको राजर्षि गुरुकुलले विद्यार्थीहरूको बौद्धिक विकासका लागि सिर्जनात्मक कार्यक्रमहरूको आयोजना गरेको छ । गुरुकुलले वार्षिक कार्यक्रमअन्तर्गत ‘ओपन हाउस’ आयोजना गरेको हो । विद्यार्थीहरूमा निहित प्रतिभा प्रष्फुटन तथा उनीहरूको बौद्धिक विकास गर्ने हेतुले यस कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रवन्ध निर्देशक दिनेश भुसालले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यार्थीहरूले वर्षभरिमा गरेका शैक्षिक क्रियाकलापहरू साथै अतिरिक्त क्रियाकलापअन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका गतिविधिहरू पनि समावेश गरिएको निर्देशक भुसालले जानकारी गराउनुभयो । कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरूले प्रस्तुत गरेको मस्तिष्कसम्बन्धी विशेष कार्यक्रमले विद्यार्थीहरूको मस्तिष्कलाई सक्रिय बनाउन र शारीरिक तथा बौद्धिक विकासमा सहयोग पुगेको उहाँको भनाइ थियो ।
कार्यक्रममा मस्तिष्कको संरचना र कार्यप्रणालीः विद्यार्थीहरूले मस्तिष्कका विभिन्न भागहरू जस्तै सेरिब्रल कोर्टेक्स, सेरिबेलम र ब्रेनस्टेमको मोडल बनाएर तिनको कार्यको व्याख्या गरिएको, स्नायु तन्तुहरू कसरी कार्य गर्छन् भन्ने विषयमा सचित्र व्याख्या गर्दै विद्यार्थीहरूले प्रत्यक्ष प्रयोगात्मक गतिविधि प्रस्तुत गरिएको कार्यक्रम संयोजक मुकेश दंगालले जानकारी दिनुभयो ।
कार्यक्रममा अभिभावकहरूलाई समेत सहभागी गराएर मेमोरी पावर जाँच गर्ने खेल खेलाइएको थियो । त्यस्तै, जटिल गणितीय समस्या चाँडो समाधान गर्ने दिमागी खेल, मानव मस्तिष्क कसरी दृश्य भ्रामकताबाट प्रभावित हुन्छ भन्ने विषयहरू पनि देखाइएको थियो । सो अवसरमा काठमाडौं विश्वविद्यालयका शिक्षा संकायका एसोसिएट डिन प्रोफेसर डा.हेमराज काफ्लेले विद्यार्थीहरूको शैक्षिक सफलताका लागि किताबी ज्ञान मात्र पर्याप्त नहुने भन्दै उनीहरूलाई तार्किक, रचनात्मक र व्यावहारिक ज्ञान दिनुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा आरजी च्याम्पियनसिप लिग २०२४/२५ का विजयी विद्यार्थीहरूलाई सम्मान पनि गरिएको थियो । विद्यालयका संस्थापक अध्यक्ष राजेश चौधरीले विद्यार्थीहरूलाई ट्रफी तथा प्रमाणपत्र वितरण गर्दै आगामी दिनमा पनि यस्ता प्रतिस्पर्धाहरूले विद्यार्थीहरूलाई अझ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयोे ।
विद्यालयका प्रबन्ध निर्देशक भुसालले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा निहित प्रतिभा प्रस्फुटन हुने तथा अहिलेको प्रतिस्पर्धात्मक युग सापेक्ष जनशक्ति उत्पादन हुने कुरामा आफ्नो विचार राख्नुभएको थियो । त्यस्तै, विद्यालयका प्रधानाध्यापक लियोन श्रेष्ठले यस्ता कार्यक्रमले विद्यार्थीहरूको बौद्धिक विकासका साथै सिर्जनात्मक क्षमताको अभिवृद्धि हुने कुरामा जोड दिनुभएको थियो । उक्त अवसरमा कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरूले विभिन्न किसिमका डान्स, म्युजिक, कराते, गल्फ, स्केटिङ आदिमा सहभागी भई आफ्नो कला प्रदर्शन गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच