
काठमाडौं । काठमाडौंले केही दिनदेखि न्यानो घामको स्पष्ट स्मर्श पाएको छैन । उपत्यकाको आकाश धुलो र धुवाँले ढाकिएको छ । वरिपरिका डाँडाकाँडा स्पष्ट देखिँदैनन् । सहरको वायुमण्डल धुवाँले ढाकिएको छ । वायु प्रदूषणले सहरलाई धुम्म बनाएको छ । जताततै उकुसमुकुस छ । मानिसहरू धुलो, धुवाँ र हावामा फैलिएका हानिकारक कणहरूसँगै श्वास लिइरहेका छन् । प्रदूषण घट्नुको साटो बढिरहेको छ । विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं एक सातादेखि शिखरमा छ । ‘एयर क्वालिटी इन्डेक्स’ कोे तथ्यांकअनुसार काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थ तहमा पुगेको छ । सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांकनुसार ०-५० राम्रो, ५१-१०० मध्यम, १०१-१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तह पुगेको संकेत गर्छ । काठमाडौंको एक्युआई पछिल्लो एक सातादेखि निरन्तर २०० माथि छ । गतसाता त यो थप बिग्रिएर काठमाडौंका विभिन्न स्थानमा वायु गुणस्तर सूचकांक ३०० हाराहारीसम्म पुगेको थियो । विश्व स्वास्थ्य संगठनले वार्षिक रूपमा स्वस्थ हावामा पिएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा बढी हुन नहुने मापदण्ड तोकेको छ । स्वस्थ हावाका लागि तोकिएको सुरक्षित सीमाभन्दा नेपालको हावामा आठ गुणाभन्दा धेरै धुलोको कण छ । काठमाडौंमा मात्रै होइन देशका अन्य केही ठाउँको हावा पनि स्वच्छ छैन ।
जीवित प्राणीका लागि जीवनको आधार नै हावा हो । हावा नभई जीवित प्राणीले जीवनको आधार गुमाउँछन् । स्वस्थ जीवनमा हावाको महत्व जति छ त्योभन्दा बढी स्वच्छ हावाको आवश्यकता हुन्छ । नेपालको संविधानले नै प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउनुपर्ने मौलिक हकको व्यवस्था गरेको छ । तर, स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चितता भने अझै पनि हुन सकेको छैन । वायु प्रदूषणलाई सरकारले सामान्य रूपमा लिइरहेको देखिन्छ । यसको नियन्त्रणका लागि ऐन, नियम र कानुनहरू पनि छन्, तर ती पनि प्रभावकारी रूपमा कार्यान्वयन भएका छैनन् ।
अस्पतालमा बिरामी बढे
हावामा प्रदूषणको मात्रा बढेसँगै अस्पतालमा बिरामी बढेका छन् । काठमाडौंका अस्पतालमा छाती, आँखा, नाक, कान र घाँटीका बिरामीको चाप बढेको चिकित्सकहरूले बताएका छन् । प्रदूषणले छातीसँग सम्बन्धित मात्र नभई नाक, कान, घाँटी र आँखाका समेत बिरामी बढेको उनीहरूको भनाइ छ । वायु प्रदूषणले मुटु, रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, र घाँटी लगायतका अंगमा गम्भीर असर गर्छ । प्रदूषणमा संवेदनशील समूहहरू-बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीलाई विशेष असर गर्छ । प्रदूषित वायुमा हुने ब्याक्टेरिया वा भाइरसले आँखामा समेत संक्रमण गर्छ । अहिलेको प्रदूषणले आँखा चिलाउने वा सुक्खा हुने हुँदा दृष्टि धमिलो देखिने समस्या देखिएको छ । प्रदूषणले आँखा चिलाउने, सुन्निने र अत्यधिक पानी बग्ने एलर्जीको प्रतिक्रिया निम्त्याउन सक्छ ।
प्रदूषण रोक्न गृह र वन मन्त्रालयसहित सबै तहलाई निर्देशन
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले वन डढेलो र सोसमेतका कारणले सिर्जित वायु प्रदूषणको गाम्भीर्यलाई ध्यानमा राखी यसको रोकथाम तथा नियन्त्रण गर्न गृह मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले प्रदूषण नियन्त्रण गर्न निर्देशन दिएको हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणले पुनर्निर्माण र पुनःस्थापनाका लागि सडक तथा यातायात, सरकारी भवन तथा सहरी पूर्वाधार, विद्युत् वैकल्पिक ऊर्जा र सिँचाइ, निजी आवास, शैक्षिक संरचना, स्वास्थ्य संरचना, खानेपानी सरसफाइ तथा स्वच्छता र पुरातात्विक संरचनालाई प्राथमिकताका क्षेत्रमा समावेश गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीगण, विभिन्न प्रदेशका मुख्यमन्त्रीहरू, प्रमुख प्रतिपक्षी दलको नेताका प्रतिनिधि शक्तिबहादुर बस्नेत, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापतिसहित सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो ।
अझै केही दिन नघट्ने
वायु प्रदूषण अझै केही दिन घट्ने देखिएको छैन । देशभरको वायु प्रदूषण घट्न पानी पर्नुपर्छ । तर, अझै केही दिन पानी पर्ने सम्भावना देखिएको छैन । वातावरण विभागका अनुसार बुधबार मध्यरातबाट वायु प्रदूषण केही केही घटे पनि बिहीबार दिउँसो फेरि बढ्ने सम्भावना छ । पर्याप्त वर्षा भएमा मात्र वायु प्रदूषण हट्ने विभागले जनाएको छ । मौसमविद्हरूका अनुसार विगत केही दिनदेखि वायु प्रदूषणका कारण उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्नेछ । शुक्रबारदेखि वायुको वेग बिहीबारको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सरकार प्रदूषण नियन्त्रण शुल्क उठाउँछ, खर्च गर्दैन
सरकारले प्रदूषण नियन्त्रणका लागि पेट्रोल तथा डिजेलबाट प्रदूषण नियन्त्रण शुल्क उठाउन थालेको १५ वर्ष भइसकेको छ । तर, उक्त रकम हावाको गुणस्तर सुधारमा खर्च भएको छैन । सरकारले हालसम्म उपभोक्ताबाट २५ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ असुल गरिसकेको छ । यो बजेट कहाँ जान्छ र कसरी खर्च हुन्छ ? स्वयं सरकार नै बेखबर जस्तो देखिन्छ । सुरुका दिनमा पेट्रोल र डिजेलको ५० पैसाका दरले कर उठाउन थालिएको थियो । पछि आव २०७४–७५ मा यस्तो शुल्क प्रतिलिटर एक-एक रुपैयाँका दरले उठाउन थालियएको हो । चार वर्षयता प्रतिलिटर एक रुपैयाँ ५० पैसाका दरले उठाइँदै आएको छ । सोबापत हालसम्म २५ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ संकलन भएको छ । प्रदूषण नियन्त्रणका लागि वातावरण संरक्षण ऐन, २०७६ ले व्यवस्था गरेअनुसार वातावरण संरक्षण, प्रदूषणको रोकथाम तथा नियन्त्रण, जलवायु परिवर्तन व्यवस्थापनका लागि बेग्लै वातावरण संरक्षण कोष रहेको तर, त्यसलाई खर्च गर्ने प्रभावकारी संयन्त्र बनेको छैन । त्यसैगरी, अदालतले नै २० वर्षभन्दा पुराना सवारीसाधन चल्न रोक्न लगाउने निर्णय गरिसक्दा पनि कार्यान्वयन भएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच