
काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा कांग्रेस-एमाले प्यानलका विजयप्रसाद मिश्रको प्यानल नै निर्वाचित भएको छ । गत चैत २३ गते सम्पन्न भएको बारको केन्द्रीय कार्यसमिति निर्वाचनको मतपरिणाम बिहीबार सार्वजनिक भएसँगै वरिष्ठ अधिवक्ता प्राडा. मिश्र अध्यक्षमा निर्वाचित हुनुभएको हो । मिश्र ५०५२ मतसहित विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनबाट अध्यक्षका उम्मेदवार माओवादीनिकट कानुन व्यवसायी समूहका रमण श्रेष्ठले २६२१ मत प्राप्त गर्नुभएको छ । मिश्रले २४३१ मतान्तरले विजय प्राप्त गर्नुभएको हो ।
त्यस्तै, महासचिवमा कांग्रेस-एमाले प्यानलका केदारप्रसाद कोइराला ४८७४ भोट ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २३६७ भोट मात्र ल्याउनुभयो । त्यसैगरी, सातवटा प्रदेशबाट सातजना उपाध्यक्ष एकजना महिला उपाध्यक्ष गरी आठजना उपाध्यक्षहरू पनि मिश्रकै समूहबाट विजयी बन्नुभएको छ । एकजना कोषाध्यक्ष र बाँकी १४ जना सदस्यसहित कुल २५ जनाको कार्यसमितिमा विजय मिश्रकै प्यानल निर्वाचित भएको हो । यसपटकको बारको निर्वाचनमा एकातर्फ कांग्रेस-एमाले र अर्कोतर्फ माओवादी-रास्वपाको गठबन्धन बनेको थियो । राप्रपानिकट कानुन व्यवसायीहरू भने केही कांग्रेस-एमाले र केही माओवादी-रास्वपाका गठबन्धनमा थिए ।
शनिबार भएको बारको निर्वाचनमा ९९५७ मतदातामध्ये करिब ८० प्रतिशत मतदान भएको थियो । मतदानका लागि काठमाडौं र बाहिर गरी ३६ केन्द्र तोकिएको थियो । वैशाख ६ गते नेपाल बार एसोसिएसनको साधारणसभा आयोजना गरिने र त्यसैदिन नवनिर्वाचित पदाधिकारीहरूलाई पदभार ग्रहण गरिने भएको छ ।
१२ वर्षपछि बारमा मिश्र
अध्यक्षमा निर्वाचित विजयप्रसाद मिश्र कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) र एमालेनिकट पेसागत कानुन व्यवसायी संगठन (पिपिएलए)का साझा उम्मेदवार रहनुभएको थियो । तीन दशकभन्दा लामो समयदेखि कानुनी क्षेत्रमा सक्रिय मिश्र एक प्रखर कानुनी अभियन्ता, कानुन क्षेत्रका विज्ञ र समाजसेवी मानिनुहुन्छ । नेपाल ल क्याम्पसका प्राध्यापकसमेत रहनुभएका मिश्रले वि.सं. २०७९ मा त्रिभुवन विश्वविद्यालयबाट ‘नेपालमा कानुनी पेसा : विगत र भविष्य’शीर्षकमा विद्यावारिधि गर्नुभएको थियो । उहाँले २०५५ सालमा त्रिभुवन विश्वविद्यालयबाट मास्टर अफ ल (एलएलएम) गर्नुभएको थियो ।
कानुन, संविधान र सामाजिक न्यायका क्षेत्रमा उहाँको लामो अनुभव रहेको छ । कानुनी अनुसन्धानकर्तासमेत रहनुभएका मिश्रले बारको निर्वाचनमा संविधान संशोधन, उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने, न्याय परिषद्को पुनसंरचना, प्रधानन्यायाधीशलाई संवैधानिक परिषद्को सदस्य नहुने व्यवस्थासहित कानुन व्यवसायीको हकहितका क्षेत्रमा काम गर्ने एजेण्डा अघि सार्नुभएको थियो ।
उहाँले यसअघि बारमा महासचिवको भूमिकामा रहेर पनि काम गरिसक्नु भएको छ । २०६६ देखि २०६९ सालसम्म उहाँले महासचिवको भूमिकामा रहेर काम गर्नुभएको थियो । त्यसबेला उहाँको सक्रियतामा बारले ३६ वटा विषयको पाठ्यक्रम बनाएको थियो । यद्यपि, त्यो कार्यान्वयन हुन पाएन । उहाँको नेतृत्वको अबको बारले त्यसलाई कार्यान्वयन गर्ने दाबी उहाँको छ ।
अनुसन्धान तथा लेखनमा पनि सक्रिय उहाँका दर्जनौँ लेख र पुस्तकहरू समेत प्रकाशित छन् । यसअघि महासचिवका अलावा नेपाल बारको केन्द्रीय सदस्य र जिल्ला बार अध्यक्षजस्तो जिम्मेवारी पनि पूरा गरिसक्नु भएका मिश्रले आफ्नो कार्यकालमा कानुनी सुधारको पहलकदमी गर्दै कानुनी पेसालाई पारदर्शी, मर्यादित र उत्तरदायी बनाउने अभियान चाल्नुभएको थियो । कानुनी शिक्षालाई सुधार गर्दै, कानुनी सेवाहरूलाई प्रभावकारी बनाउने पक्षमा उहाँले आवाज उठाउँदै आउनुभएको छ ।
उहाँले कानुनी सेवाबाट वञ्चित वर्गका लागि निःशुल्क कानुनी सहायता कार्यक्रमहरू समेत सञ्चालन गर्दै आउनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय कानुनी मञ्चमा पनि नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै अध्ययन तथा अनुसन्धानका लागि अमेरिका, अष्ट्रेलिया, क्यानडा, जर्मनी, भारत र स्पेन लगायतका देशहरूमा सहभागिता जनाइसक्नु भएको छ । उहाँले नेपालको न्याय प्रणाली सुधारमा अन्तर्राष्ट्रिय दृष्टिकोणका सन्दर्भमा नेपालका कानुनी विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।
न्यायपालिका भित्रको विकृति हटाउछौँ : नवनिर्वाचित अध्यक्ष मिश्र
नवनिर्वाचित अध्यक्ष विजयप्रसाद मिश्रले न्यायपालिका भित्रको विकृति हटाउने उद्घोष गर्नुभएको छ । बिहीबार निर्वाचित हुँदै मिश्रले स्वतन्त्र न्यायपालिका वास्तविक रूपमा स्थापित गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्ने बताउनुभएको हो । संविधान संशोधनमा समेत बारले महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाइ छ । बारको अध्यक्षका रूपमा न्यायिक क्षेत्रमा देखिएका भ्रष्टाचार, ढिलासुस्ती र असमानताको अन्त्य गर्ने प्रतिबद्धता उहाँले गर्नुभएको छ ।
मिश्रले चुनावमा अगाडि सारेका एजेण्डा कार्यान्वयन गर्ने बताउनुभएको छ । ‘नेपाल बारमा मैले धेरै काम गर्नुपर्ने छ । बोलेर हैन काम गरेर देखाउनको लागि हाम्रो टिम नै लागिपर्ने छौँ,’ उहाँले भन्नुभयो, ‘संविधान संशोधन, न्यायपालिकाको सुधार, न्यायपरिषद् संरचनाको सुधार, न्यायपरिषद्को कार्यपद्धतिमा सुधार हाम्रो योजना रहेको छ । न्यायपालिकामा रहेका विकृति, विसंगति हटाउनको आवश्यक कार्य गर्नेछौँ । न्यायपालिकामा देखिएका समस्या सुधार गर्नको लागि हामी लाग्नेछौँ ।’
कानुन व्यवसायी र युवा कानुन व्यवसायीको हक र हितको उत्थान गर्न बारको नवनिर्वाचित कार्यसमिति एकताबद्ध भएर अगाडि बढ्ने मिश्रले बताउनुभयो । ‘लयर्स एकेडेमीमार्फत कानुन व्यवसायीहरूलाई विभिन्न प्रकारको तालिम प्रबन्ध मिलाउने छौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बारको सम्बन्ध विकास गर्नेछौँ । बारमा पारदर्शीता ल्याउनेछौँ र कानुन व्यवसायीलाई आचारसंहिताको पालनामा जोड दिइनेछ ।’ सर्वोच्चका तत्कालीन न्यायाधीश हरिकृष्ण कार्कीले दिएको न्यायालय सुधारका लागि तयार पारेको प्रतिवेदन कार्यान्वयनमा लाग्ने पनि बारका नवनिर्वाचित अध्यक्ष मिश्रले प्रतिबद्धता जनाउनुभएको छ । न्यायलाई सबैको पहुँचमा पु¥याउनका लागि बारको तर्फबाट भूमिका खेल्ने बताउँदै मिश्रले कानुनी शिक्षालाई आधुनिक बनाउन पहल गर्ने बताउनुभएको छ ।
२४ वर्षपछि बारको महासचिवमा एमालेका कोइरालाको ‘कमब्याक’
मिश्र प्यानलबाट नेकपा एमालेनिकट प्रगतिशील कानुन व्यवसायी संगठन (पिपिएलए)का वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला महासचिवमा निर्वाचित हुनुभएको छ । कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)निकट यज्ञमणि न्यौपानेलाई दुई हजार ३६७ मतले हराउनुभएको हो । कोइरालाले चार हजार ८७४ मत पाउँदा न्यौपानेले दुई हजार ३६७ मत प्राप्त गर्नुभएको छ ।
महासचिव पदमा पिपिएलएको ‘कमब्याक’ २४ वर्षपछि हो । २०५७ सालमा पिपिएलएका सतिशकृष्ण खरेल महासचिव निर्वाचित भएकोमा त्यसयता पिपिएलएले अध्यक्षसहित अन्य पदहरू जिते पनि महासचिव जित्न सकेको थिएन । यसबीचमा पिपिएलएबाट शम्भु थापा, विश्वकान्त मैनाली र हरिकृष्ण कार्कीले अध्यक्षका रूपमा बारको नेतृत्व भने सम्हाल्नुभएको थियो ।
२४ वर्षपछि बारको महासचिव पद फर्काउने वरिष्ठ अधिवक्ता कोइराला तीन दशकदेखि कानुन व्यवसायीका रूपमा सक्रिय हुनुहुन्छ । उहाँले दर्जनौँ कानुनी अनुसन्धान र कानुनी शिक्षामा योगदान पु¥याउनुभएको छ । कोइरालाले त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसबाट २०४४ मा स्नातक गर्नुभएको हो । उहाँले वाणिज्य तथा अन्तर्राष्ट्रिय व्यापार कानुनमा स्नातकोत्तर गर्नुभएको छ । उहाँलाई सर्वोच्च अदालतको पूर्ण बैठकले २०८१ भदौ २१ गते वरिष्ठ अधिवक्ताको मानार्थ उपाधि प्रदान गर्यो ।
२०५० सालदेखि वकालत गर्दै आउनुभएका कोइरालाले मानव अधिकार र सामाजिक मुद्दाहरूमा बहस गर्दै आउनुभएको छ । उहाँले विभिन्न जिल्ला अदालत, उच्च अदालत पाटन र सर्वोच्च अदालतमा वकालत गर्दै आउनुभएको छ । यसका साथै विभिन्न सार्वजनिक संस्थान, स्थानीय निकाय र वित्तीय संस्थाहरूमा पनि उहाँ कानुनी सल्लाहकारका रूपमा आबद्ध हुनुहुन्छ । नेपाल विद्युत् प्राधिकरणको मध्य मस्र्याङ्दी जलविद्युत् आयोजनाको दाबी समाधान समितिमा कानुनी सल्लाहकारको रूपमा कार्यरत हुनुहुन्छ । त्यसबेला उहाँले श्रम व्यवस्थापन विवाद समाधानका लागि सरकारद्वारा गठित खिम्ती जलविद्युत् परियोजनाको न्यायाधीकरण सदस्यका रूपमा काम गरेको अनुभव पनि छ । बैंक तथा वित्तीय संस्थाहरूमा पनि कानुनी परामर्शदाताका रूपमा काम गरिरहनु भएका कोइरालाले नेपाल बार काउन्सिल तथा अधिवक्ताहरूका लागि विशेष प्रशिक्षण पनि दिने गर्नुभएको छ ।
कोइराला तत्कालीन पुनरावेदन अदालत पाटनको कार्यसमितिमा सदस्य र कोषाध्यक्षमा जिम्मेवारी निर्वाह गरी नेपाल बारको केन्द्रीय कार्य समितिको सदस्य भई सचिवालय सदस्यसमेत भइसक्नु भएको छ । उहाँ तीन वर्ष अघि सम्पन्न भएको बारको केन्द्रीय कार्यसमिति निर्वाचनमा पनि महासचिवको प्रत्यासी भइसक्नु भएको थियो । उहाँले नेपाल बारको विगतका दुई ओटा राष्ट्रिय सम्मेलनको घोषणा पत्र मस्यौदा समितिको सदस्यको रूपमा समेत कार्य गरिसक्नु भएको छ ।
कोइराला सन् १९९५ मा सिड्नी विश्वविद्यालय सिड्नीमा भएको संयुक्त राष्ट्रसंघ प्रणाली र अन्तर्राष्ट्रिय कानुनसम्बन्धी प्रशिक्षकका रूपमा नेपालबाट सहभागी हुनुभएको थियो । नेपालमा कानुनी शिक्षा, सुशासनमा सहभागिता र मानव अधिकार सचेतनामाला जस्ता पुस्तकसमेत प्रकाशन गर्नुभएका कोइरालाका संविधान, बैंकिङ, बीमा, व्यापार र लगानी कानुनसम्बन्धी तीन दर्जनभन्दा बढी अनुसन्धानात्मक लेख प्रकाशित छन् । बार महासचिव उम्मेदवारका रूपमा कोइरालाले न्यायमा चुस्तता, ढिलासुस्ती र असमानताको अन्त्य र कानुन व्यवसायीको हकहितका लागि काम गर्ने एजेण्डा अघि सार्नुभएको थियो ।
को को भए निर्वाचित ?
नेपाल बारको निर्वाचनमा अध्यक्षमा मिश्र निर्वाचित भएसँगै अन्य कार्यकारी पदमा समेत उहाँको सिंगो प्यानल विजयी भएको छ । बारको उपाध्यक्षमा कोशी प्रदेशबाट पदमप्रसाद लिम्बू, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित हुनुभएको छ । महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ र कोषाध्यक्षमा जगतबहादुर कार्की विजयी हुनुभएको छ । त्यस्तै, दलित सदस्य पदमा चिरञ्जीवी तिलक्यानी, मधेसी मुस्लिम काठमाडौं उपत्यका बाहिरबाट सूर्यकुमार यादव, मधेसी मुस्लिम खुलाबाट रिंकु कुमारी यादव, आदिवासी जनजाति काठमाडौं उपत्यका बाहिरबाट राजकुमार श्रेष्ठ, आदिवासी जनजाति खुलामा मंगल सुन्दर शिल्पकार, महिला सदस्य काठमाडौं उपत्यका बाहिरबाट इन्दिरा आचार्य, महिला सदस्य खुल्लाबाट रञ्जिता कार्की, काठमाडौं उपत्यका बाहिरबाट सदस्य पदमा करिण पौडेल गरी आठजना समावेशी सदस्य पदमा निर्वाचित हुनुभएको छ । त्यस्तै, ६ वटा खुल्ला सदस्य पदमा भने किरण न्यौपाने, शारदा गुरुङ, दमन बहादुर चन्द, बाबुराम अर्याल र डा. मुकुल्द अधिकारी र माधव मैनाली विजयी हुनुभएको छ । २५ जना कार्यसमितिको निर्वाचनका लागि एमाले र कांग्रेसबीच भएको गठबन्धनको समूहबाट २५ वटै उम्मेदवार विजयी बनेका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच