सबैभन्दा बढी लगानी भारत र चीनबाट

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा नेपालका दुर्ई छिमेकी मुलुक भारत र चीनले सबैभन्दा लगानी गरेको पाइएको छ । भारतबाट सबैभन्दा बढी प्रत्यक्ष ८८ अर्ब ५९ करोड र चीनबाट ३३ अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी भएको हो । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले बुधबार सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८/७९’ अनुसार आयरल्याण्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब सात करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब नौ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।
नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा ३७.३ प्रतिशत सेवा क्षेत्रमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

भारतले सबैभन्दा बढी अर्थात् ८८ अर्ब ५९ करोड र चीनले ३३ अर्ब ४५ करोड प्रत्यक्ष वैदेशिक लगानी गरेका हुन् ।

औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको छ । कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको छ । वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको पाइएको छ भने समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफा दर करिब १४.३ प्रतिशत रहेको छ ।

प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ । आर्थिक वर्ष २०७८/०७९ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल दुई सय ३१ विभागका अनुसार कम्पनीको नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८/०७९’ तयार पारिएको हो ।

सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७८/०७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई दुई खर्ब ६४ अर्ब ३३ करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको हिस्सा ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको हिस्सा १४.६ प्रतिशत रहेको छ । २०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।

अब सुनको कोटा दैनिक २० केजी
नेपाल राष्ट्र बैंकले सुन आयात कोटा शतप्रतिशतले वृद्धि गरेको छ । दैनिक १० केजीको कोटा रहेकोमा अब २० केजी सुन आयात गर्न पाइनेछ । राष्ट्र बैंकले सुन आयातसम्बन्धी एकीकृत परिपत्र संशोधन गर्दै कोटा वृद्धि गरेको हो । सुन आयातको जिम्मा वाणिज्य बैंकहरूले पाउँदै आएका छन् । मूल्यको दृष्टिकोणबाट मितव्ययी र लाभदायी हुने भएमा दैनिक २० केजी वा महिनाको अन्त्यमा एकमुष्टरूपमा सुन खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । तर, त्यसरी आयात गरिएको सुनको विवरण हरेक महिना सकिएको सात दिनभित्र राष्ट्र बैंकलाई बुझाउनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?