‘यो पालि नरोई फिल्म चलाउँ भन्ने सोँच छ’

Read Time = 5 mins

काठमाडौंं । नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय नायिकाको सूचीमा पर्ने पूजा शर्मा सामाजिक सञ्जालमा खुबै छाउने कलाकारमा पर्नुहुन्छ । विशेषतः युट्युबहरूमा सहजै अन्तर्वार्तामा देखिने सामाजिक सञ्जालमा सक्रिए हुने, टिकटक भिडियो बनाइरहने भएकाले दर्शकमाझ देखिइरहने नायिकामा पर्नुहुन्छ ।

नायिका पूजा बेलाबेलामा विवादमा पनि तानिरहनुहुन्छ । केही समयअघि धेरैलाई थाहा भएको विवाद हो, नेपालमा कतिवटा जिल्ला र अञ्चल छन् भन्ने प्रश्नको उत्तर नजान्नु । पूजालाई नेपालको जिल्ला र अञ्चलको बारेमा समेत थाहा रहेनछ भनेर धेरैले सामाजिक सञ्जालमा उडाए । एउटा कलाकार भएर सामान्य ज्ञानसमेत नहुने भन्दै विभिन्न टीकाटिप्णी भए । अहिले पनि यो प्रशंग बेलाबेलामा आइरहन्छ । यस्तै नायिका पूजालाई चलचित्र चलाउन अनेक फण्डा बनाउने नायिका भनेर पनि चलचित्रनगरीमा चिन्ने गरिन्छ । आफ्नो चलचित्रको प्रदर्शनको समयमा पूजाको ‘कोएक्टर’सँगको प्रेम सम्बन्धको चर्चा खुबै हुन्छ । त्यसैले पूजाका कुनै पनि प्रेसमिटमा पत्रकारका पूजा केन्द्रित प्रश्न धेरै हुन्छन् ।

यसैबीच सोमबार पूजा अभिनित ‘सम्हालिन्छ कहिले मन’को शीर्षगीत रिलिज कार्यक्रमा राखिएको थियो । जहाँ पूजाले आफ्नो बारेमा आउने समाचार तथा गसिपका बारेमा पनि बोल्नुभयो । पत्रकारको प्रश्नमा खुलस्त हुँदै उत्तर दिनुभयो । ‘पूजालाई फिल्म चलाउन रुनै पर्ने रहेछ भन्छन् यो फिल्ममा कहिलेदेखि रुन थाल्नुहुन्छ ? भन्ने एक पत्रकारको प्रश्नमा पूजा भन्नुहुन्छ, ‘यो पालि नरोई फिल्म चलाउँ भन्ने सोँच छ ।’ यति भन्दै गर्दा उपस्थित सञ्चारकर्मी तथा चलचित्रकर्मीबीचको माहोल हाँसोमय बनेको थियो ।

नायिका पूजाले यसअघि चलचित्र चलाउनकै लागि आफू रुने गरेको कुराभने स्वीकार्नु भएन । उहाँले रोएरै चलचित्र चल्ने कुरामा विश्वास नगर्ने बताउनुभयो । पूजा भन्नुहुन्छ, ‘फण्डाले फिल्म चल्ने भन्ने नै हुँदैन नि ! मैले बोल्दा फण्डा भयो भन्नुहुन्छ, जसले यस्तो कुरा सोधिरहनुभएको छ उहाँहरूले नै हो फण्डा निकालेको ।’ उहाँले मिडियाले नै फण्डा निकालेको भन्दै आफू फण्डा गर्नतर्फ नलागेको बताउनुभयो ।
यस्तै ‘सम्हालिन्छ कहिले मन’का निर्देशक सुदर्शन थापाले यस विषयमा आफ्ना कुरा थप्नुभयो । ‘रोएरै फिल्म चल्ने भए त सधैं रोइदिए भइहाल्यो नि ! म यस्तो गीत गाउँछुको समयपछि आजको दिनसम्म रोइदिएको भए फिल्म चल्थ्यो ।’ निर्देशक सुदर्शनले पनि चलचित्र चलाउन कुनै फण्डाको आवश्यक नपर्ने र आफूहरूले त्यसो नगर्ने बताउनुभयो । चलचित्रमा नायिका पूजासँगै नवअभिनेता सोनम तोप्देन र लोकप्रिय अभिनेता आकाश श्रेष्ठको मुख्य अभिनय छ ।

सार्वजनिक शीर्षगीत गायक सुगम पोखरेलको लोकप्रिय गीत ‘सम्हालिन्छ कहिले मन’ लाई रि–रेकर्ड गरेर तयार पारिएको हो । सुगमकै आवाज र सुरेश भट्टराईको शब्द रहेको गीतको ओरिजिनल संगीतकार जेम्स प्रधान हुनुहुन्छ । भिडियो सौरभ लामाले खिच्नुभएको हो ।
चलचित्रमा गौरी मल्ल, सरोज खनाल, धीरेन शाक्यलगायत कलाकारहरूको अभिनय छ । एवि इन्टरनेशनलको व्यानरमा निर्माण भएको चलचित्रको कथा महेश दवाडीले लेख्नु भएको हो ।

अर्जुन पोखरेल, ताराप्रकाश लिम्बू र जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको फिल्मको निर्मातामा अमित बस्नेत, सहनिर्मातामा परी राना र अजितकुमार थापा, कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?