फोक्सिङटारको अस्थायी बेलिब्रिज ८ जेठबाट खोलिने

Read Time = 3 mins

चिसाङ शेर्पा/खोटाङ । खोटाङ र उदयपुरको सिमाना फोक्सिङटारस्थित सुनकोशी नदीमाथि जडान गरिएको अस्थायी बेलिब्रिज खोलिने भएको छ । आउँदो जेठ ८ गतेदेखि बेलिब्रिज खोल्न सुरु हुनेछ ।

सगरमाथा गाईघाट–दिक्तेल सडक खण्डअन्तर्गत खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-६ आँपटारको सिमानामा पर्ने फोक्सिङटारको सुनकोशी नदीमाथि जडान गरिएको ५० मिटरको बेलिब्रिज रेग्मी-भानुमति-चौधरी जेभीले खोल्नेछ ।

सडक विभागको ७८ लाख बजेटमा गत पुस १ गते सोही जेभीले बेलिब्रिज जडान गरेको थियो । गतवर्ष ८४ लाख खर्चेर रेग्मी निर्माण सेवाले बेलिब्रिज जोड्ने र फुकाल्ने काम गरेको दिक्तेल गाईघाट सडक विभागका योजना प्रमुख इञ्जिनियर गोपालप्रसाद खकुरेलले बताउनुभयो ।

त्यहाँ बेलिब्रिज जडान भएपछि ६ महिना सो रुटबाट उदयपुरको गाईघाट हुंँदै तराईसम्मको सिधा यातायात सेवा सञ्चालन हुन्छ भने, बेलिब्रिज निकालेपछि ६ महिना दिक्तेलबाट घुर्मी-कटारी-मिर्चैया हुँदै तराई जानुपर्ने बाध्यता छ ।

अब बेलिब्रिज जोड्नु नपर्ने अनुमान
दिक्तेलबाट उदयपुर हुंँदै तराई आवतजावत गर्ने सबैभन्दा छोटो रुटमा पर्ने फोक्सिङटारस्थित सुनकोशी नदीमा नौ वर्षअघि ठेक्का लागेको मोटरेबल पुलको कामले यतिबेला भने रफ्तार लिएपछि अब फेरि बेलिब्रिज जडान गर्नुनपर्ने अनुमान गरिएको छ ।

नदीको अफ्ठ्यारो कामहरू सकिएको अवस्था छ । योजना प्रमुख खकुरेलले भन्नुभयो, ‘पुलको काम धमाधम भइरहेको कारणले अबको पटक बेलिब्रिज राख्नु नपर्नेे देखिन्छ ।’

सडक विभागको १९ करोड ६० लाख नौ हजार ९४१ रुपैयाँ लगानीमा गौरी पार्वती-वाईपी जेभीले २०७३ चैत २२ गतेदेखि सुनकोशी नदीमाथि १२० मिटर लामो आर्च ब्रिज डिजाइनको मोटरेबल पुल निर्माण गरिरहेको छ । हालसम्म पुलको काममा ८५ प्रतिशत प्रगति भएको जेभीका सञ्चालक रामकुमार थापाले दाबी गर्नुभयो ।

हप्ता दिनमा एप्रोच रोड तयार हुन्छ । असारको १५-१६ मा पुलको आर्च स्ल्याप ढलान गर्ने योजना छ । थापाले भन्नुभयो, ‘ढलान गरेको २१ दिनपछि गाडी गुडाउँछौँ सम्भवतः साउन १५ गतेदेखि गाडी गुड्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?