नेपाली कांग्रेसको यो अवस्था किन !

राजनीति हो भोलि जे पनि हुनसक्छ तर आजका दिनसम्म नेपाली कांग्रेस साह्रै नराम्रोसँग अधिकारविहीनताको अवस्थामा पुगेको छ । आज नेपाली कांग्रेसका शुभचिन्तक निराश बन्न पुगेका छन् र आपसी कुराकानीका क्रममा पार्टी सभापतिलाई नै यसको जिम्मेवार ठानिरहेका छन् । दोष पनि उहाँलाई नै दिइरहेका छन् । राजनीतिलाई जुवा नै त हो भन्नु भएन तर कहिलेकाहीँ सम्भावनै नभएको अवसर आइलाग्ने र कहिलेकाहीँ सम्भावना टरेर जाने गर्दा रहेछन् भन्ने देखिएका छन् । जब संघीय संसद्मा दुई तिहाइको नजिक सिट ल्याएर नेपल कम्युनिष्ट पार्टीले विजय हासिल गरेको थियो र नेपाली कांग्रेस दोस्रो ठूलो पार्टी बन्न पुगेको थियो त्यसपछि नेपाली कांग्रेसको पाँच वर्षका लागि प्रमुख प्रतिपक्षका रूपमा रहनुको कुनै विकल्प थिएन ।

तर, जब नेकपामा फाटो सिर्जना भयो तब नेपाली कांग्रेसले सम्भावना नभएको अवसर हात पारेको थियो त्यतिबेला । एमालेलाई सत्तोसराप गरेर फुटेर गएका कम्युनिष्ट घटकहरूले नेपाली कांग्रेससँग मिलेर गठबन्धन गरी सरकार बनाएका थिए र नेतृत्वमा नेपाली कांग्रेसलाई नै उभ्याएका थिए । हालै सम्पन्न भएको स्थानीय निर्वाचान तथा प्रतिनिधिसभाको निर्वाचनमा पनि सत्ता गठबन्धनका पार्टीहरूबीच गठबन्धन भयो । गठबन्धनमा रहेका पार्टीहरूले यथायोग्य स्थानमा विजय हासिल गरे । निर्वाचनमा सँगै गएका पार्टीहरूबीच अब सरकार बनाउनमा सहमति हुने कुरा निर्वावाद थियो । कांग्रेस-माओवादी केन्द्रभन्दा झण्डै तीनगुणा बढी स्थानमा विजय भएर पहिलो पार्टी भएको थियो, अबको नेतृत्व उसैले गर्छ भन्ने पक्का जस्तै थियो । तर, गठबन्धनका पार्टीहरूबीचको समझदारी अचानक छिन्नभिन्न हुनपुग्यो जुन अपेक्षित थिएन ।

राजनीतिले यसरी अर्को मोड लिएपछि नेपाली कांग्रेस पार्टी प्रमुख कार्यकारी पददेखि विभिन्न राजनीतिक नियुक्तिसमेत लिन पाउने अवस्थाबाट एकाएक शून्यमा झरेको छ । जसले गर्दा नेपाली कांग्रेसका नेता कार्यकर्तामा घोर निराशा छाएको छ । यसका लागि पार्टी सभापति नै दोषको भागी हुनुहुन्छ भन्ने विश्लेषण भइरहेको छ । अबको भय भनेको कांग्रेसका लागि आफ्ना तृणमूलस्तरका कायकर्ता भड्किएर पार्टीको आधार तह नै कमजोर बन्नपुग्ने पो हो कि भन्ने छ । पार्टीको इतर पक्षले दुई महामन्त्रीमध्ये एक प्रभावशाली मानिएका गगनकुमार थापालाई संसदीय दलको नेताका रूपमा उठाएको थियो तर उहाँ सभापतिभन्दा धेरै मतान्तरले पराजित हुनुभयो । संस्थापन पक्षका केही नेताहरूले पनि गगन थापाप्रति भरोसा गरेका थिए तर विभिन्न कारणले सभापतिका पक्षमा ८९ मध्ये ६४ जनाले मतदान गर्नुभयो ।

हाल उहाँहरूसमेत कार्यकर्ताको क्रोधको निसानामा हरनुभएको छ । उमेरले असी पुग्नुभएका र पाँचौं पटक प्रधानमन्त्री बनिसक्नुभएका सभापतिले पुनः प्रधानमन्त्रीका लागि लालच नदेखाउनु भएको भए वर्तमानको निराशाजनक अवस्था सिर्जना हुने थिएन भन्ने नेपाली कांग्रेसका नेता कार्यकर्ताको बुझाइ छ । अहिले संस्थापन इतर पक्ष आक्रामक अवस्थामा छ र सभापतितर्फ औंलो दागिरहेको छ । कार्यकर्ताको आक्रोशबाट जोगिन संस्थापन पक्ष रक्षात्मक अवस्थामा छ । त्यसैले उहाँहरू कुनै प्रकारको प्रतिक्रिया दिइरहनुभएको छैन । हालको शून्य अवस्थामा नेपाली कांग्रेसका नेता कार्यकर्ता सबैभन्दा ठूलो पार्टी भएर पनि अधिकारविहीन बन्नुपरेको वर्तमान अवस्थापछि नेताहरूबाट कार्यकर्तालाई सान्त्वना हुनेगरी कुनै वक्तव्य आउनुपथ्र्यो त्यो पनि भएको छैन ।

त्यसैले यस्तै अवस्थाको निरन्तरता हुँदै जाने हो भने नेपाली कांग्रेसको ७६ वर्षको इतिहास अब इतिहासमै मात्र सीमित हुने त होइन भन्ने भय कार्यकर्तामा छ । एकताका राणा शासनलाई आच्छुआच्छु बनाउने नेपाल प्रजापरिषद् किन आफ्नो स्थापनाको दुई दशक हुँदा नहुँदै इतिहासमा मात्रै सीमित हुन पुगेको थियो ? नेतृत्वमा रहने नेता, नेताहरूको समूहमा दूरदृष्टि नहुनाले वा स्वार्थ र द्रब्यार्जनमात्रै लक्षमा रहनाले नै हो यस्तो परिस्थिति सिर्जना हुने । पद, प्रतिष्ठा र पैसाको पछि लाग्नेहरू, परिवारवादको जालो चिर्न नसक्नेहरूबाट पार्टी र देशले सधैँ धोका नै पाउने हो । त्यो वर्तमानका विभिन्न पार्टीका नेताहरूको स्वार्थ लोलुपताबाट पुष्टि भएको छ । यसले गर्दा आमजनतामा भने निराशामात्रै छाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?