विराटनगरको बृहत्तर विकासमा मेयरको ध्यानाकर्षण

Read Time = 5 mins

विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरको स्वागत गर्दै उद्योग संगठन मोरङले विराटनगरको बृहत्तर विकासलाई मध्यनजर गरी तत्कालीन र मध्यकालीन कार्यका लागि सुझाव प्रस्तुत गरेको छ । नवनिर्वाचित मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीलाई संगठनको सचिवालयमा स्वागत गर्दै संगठनका अध्यक्ष सुयश प्याकुरेलले तत्कालीन कार्ययोजनाअन्तर्गत जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने सडक, खानेपानी, फोहोर व्यवस्थापन, बाढी नियन्त्रण, स्वास्थ्य तथा शिक्षालगायतका क्षेत्रमा सर्वसाधारणलाई अनुभूति हुने गरी सुधारका कार्य गर्न सुझाव दिनुभयो ।

उहाँले अवैज्ञानिक तवरमा सडक, नालालगायतका पूर्वाधार निर्माण हुँदा सामान्य वर्षामा समेत विराटनगर डुबानमा पर्दै आएको बताउनुभयो । महानगरको मध्यकालीन योजनाअन्तर्गत विराटनगरमा स्थायी औद्योगिक प्रदर्शनीस्थलका लागि संघीय र प्रदेश सरकारको साथ र सहयोग लिई निर्माणको अगुवाइ गर्न, रुग्ण अवस्थामा रहेका घरेलु तथा साना उद्योग पुनः सञ्चालनमा ल्याई रोजगारीका अवसर सिर्जनाका साथै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सघाउ पुर्‍याउन, एकीकृत कर प्रणालीको व्यवस्था गर्न, महिला उद्यमीद्वारा उत्पादित वस्तुको बिक्री कक्ष निर्माण गर्न, स्टार्पअपको प्रवद्र्धनमार्फत् युवालाई उद्यमशीलता विकासतर्फ अभिप्रेरित गर्ने कार्यक्रम अघि बढाउन पनि उहाँले ध्यानाकर्षण गराउनुभयो । उल्लेखित कार्यका लागि महानगरसँग सहकार्य गर्न संगठन तयार रहेको पनि उहाँले जानकारी गराउनुभयो ।

नवनिर्वाचित मेयर कोइरालाले औद्योगिक नगरका रूपमा परिचित विराटनगरमा औद्योगिक प्रदर्शनीस्थल निर्माण कार्य आफ्नो प्राथमिकतामा रहेको भन्दै पाँचवर्षे कार्यकालमा जसरी पनि निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नयाँ योजनासहित विराटनगरमा रुग्ण अवस्थामा रहेका कुटिर तथा घरेलु उद्योग सञ्चालनमा ल्याउन लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दैै करका दर घटाउँदै दायरा फराकिलो पार्ने कार्ययोजना रहेको बताउनुभयो ।

आगामी दिनमा विराटनगरको पूर्वाधार विकास गर्दा समग्र क्षेत्रलाई प्रभाव नपर्ने गरी विशेषज्ञको राय, सुझाव लिई वैज्ञानिक पद्धतिअनुरूप गरिने, युवाका लागि स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने वातावरण तयार गर्ने, आगामी पाँच वर्षमा विराटनगरलाई देशकै नमुना शहरका रूपमा विकसित गर्ने उहाँको भनाइ थियो ।

संगठनले विज्ञको सुझावमा विराटनगरको समग्र क्षेत्रको विकास लागि साझा दस्तावेज तयार गरी सोहीअनुरूप कार्य गर्न, साना उद्योगका लागि औद्योगिक ग्राम स्थापना, सार्वजनिक, निजी साझेदारी अवधारणाअनुरूप भौतिक पूर्वाधार निर्माणलगायत विराटनगरको बृहत्तर विकासका सन्दर्भमा गर्नुपर्ने कार्यको सुझाव दिएको संगठनले जनाएको छ । सो अवसरमा उपमेयर शिल्पा निराला कार्की, वडा २ का अध्यक्ष कुमार पोखरेल, संगठनका पूर्वअध्यक्ष नन्दकिशोर राठी, किशोर प्रधान, अशोक मुरारका, दिनेश गोल्छा, मुकेश उपाध्याय, उपाध्यक्ष राजकुमार गोल्छा, सदस्य सुरेन्द्र गोल्छा, सञ्जय अग्रवाल, तारानाथ निरौला, सुनिल धनावत, सौरभ सारडा, पारस लुनियालगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?