10th December | 2019 | Tuesday | 2:05:07 AM

गरिबीको यस्तो पीडा !

  POSTED ON : मंसिर ८, २०७३ (७:१९ AM)

चन्द्रकान्त खनाल रूपन्देही । गुल्मीको पुर्कोट दह गाविस– १ की २६ वर्षीया दुर्र्गाकुमारी भुसालले चार छोरीपछि गत कात्तिक २० गते अर्की छोरी जन्माइन् । सुत्केरी भएको चौथो दिन उनी बिरामी परिन्, उनको शरीर बायाँतर्फ नचल्ने भयो । गरिबीका कारण समयमा उपचार नभएपछि अन्ततः उनले मंसिर ३ गते संसार त्यागिन् । यतिबेला दुर्गाका दुई छोरी काजकिरियामा बसेका छन् । उनका दुई छोरी १३ वर्षकी संगीता र ११ वर्षकी रमिता किरिया बसेका छन् । दागबत्ती उनीहरूले दिए । अरू दुई छोरीमा एउटी आठ वर्षकी छन् भने अर्की र ६ वर्षकी । सानै भएकाले उनीहरूलाई किरियामा राखिएन । छिमेकी तथा स्थानीय शिक्षक बोमबहादुर कुँवरका अनुसार पक्षाघातको कारण दुर्गाकुमारीको निधन भएको हो । गाउँलेहरूकै सल्लाहअनुसार दुर्गाका पति दुर्गाप्रसाद भुसाल दुई छोरीलाई किरियामा राख्न राजी भए । नवजात शिशु एकजना स्थानीयले धर्मछोरी बनाएर पाल्छु भनेर लगेका छन् । पुर्कोट दह बजारमा मेडिकल सञ्चालन गरिरहेका सिर्सेनी गाविस ९ का विश्व भुसालले धर्मछोरी बनाउन लगेका हुन् । दुर्गाकुमारी सुत्केरी भएको चार दिनपछि बायाँ तर्फको शरीर नचल्ने गरेर ढलेकी थिइन् । आर्थिक अभावको कारणले उनलाई उपचार गर्न लगिएको थिएन । सिकिस्त भएपछि भने अर्घाखाँची सदरमुकाम सन्धिखर्क र बुटवल पु¥याइएको थियो । अन्तिम अवस्था भएको कारणले उनको उपचार सम्भव भएन । अन्तिम समयमा उपचारका लागि बढी नै खर्च लाग्ने भएपछि परिवारले उनको उपचार गर्न नसकेको हो । दुर्गाप्रसाद र दुर्गाकुमारीको परिवार गाउँकै गरिबमध्येको एक परिवार रहेको स्थानीयहरूले बताउँछन् । अहिले १३ दिनको किरियाका लागि सहयोग संकलनको भइरहेको शिक्षक कुँवरले बताए । उनले अहिले छोरीहरूलाई भविष्यमा पढाइका लागि सजिलो गराउने उद्देश्यसहित सानो कोषसमेत निर्माणका लागि जुटेको बताए । उनले भने, ‘अहिले अलिकति संकलन गर्न सक्यौँ भने बच्चीहरूले पढ्दा राहत महसुस त गर्लान् ।’ कुँवरले छोरीहरूको पढाइका लागि सहयोग गर्न चाहनेले आफूलाई फोन नं ९८६७२०५२४२ मा सम्पर्क गर्न सक्ने बताए ।

Views: 77