‘कमेडी हब’मा प्रहसन गरेकै कारण कलेजबाट निकालिएको शिक्षकको आरोप

Read Time = 4 mins

काठमाडौं । केदार घिमिरेको निर्देशन रहेको कमेडी शो 'कमेडी हब' मा आफूले प्रहसन गरेकै कारण राजधानीको एउटा कलेजबाट आफूमाथि अन्याय भएको शिक्षक दीपेन्द्र प्रसाईंले गुनासो गर्नुभएको छ ।

कलाकार प्रसाईँले विगत पाँच वर्षदेखि सुकेधारास्थित बागमती कलेजमा पढाउँदै आएको र कमेडी शो 'कमेडी हब'मा आफुले देशभरका नीजि कलेज र विद्यालयमा देखिएको विकृतिविरुद्ध प्रहसन गरेकै कारण आफूलाई जागिरबाट निकालेको आरोप लगाउनु भयो ।

दीपेन्द्रले एपीवान टेलिभिजनबाट बुधबार प्रसारण हुने 'कमेडी हब' मा यमराजको प्रहसन गर्नुभएको थियो । प्रहसनमार्फत कलेजमा भएका बेथिति र चर्को शुल्कबारे व्यंग्य गरिएको थियो । त्यही व्यंग्यका कारण क्याम्पस प्रमुख नारायण सिटौलाले असन्तुष्टि जनाएको दीपेन्द्रले बताउनु भएको छ ।

अन्तत: आफूले कहिलै नसोचेको अपमान कलेजबाट भोग्नु परेको उहाँको भनाइ थियो ।

शिक्षक प्रसाईँले यो घटनाले आफ्नो आत्मसम्मानमा ठूलो ठेस पुर्‍याएको बताउँदै आफूले मिडियामार्फत् आफ्नो कुरा राख्न बाध्य भएको बताउनु भयो ।

आफनो उक्त प्रहसनले केवल एउटा कलेजको मात्र नभएर समग्र शैक्षिक संस्थाको विकृति विसंगतिलाई इंगित गर्न खोजिएको बताउँदै उहाँले कुन कारण कलेजले आफूमाथि यो निर्णय गरिएको जवाफ दिनु पर्ने माग राख्नुभयाे ।

यस्ताे छ उहाँकाे भनाइ

यो घटना ५ असार को हो ।  त्यसयता निरन्तर क्याम्पस प्रमुखसँग कुरा गर्न खोज्दा उहाँले बेवास्ता गरेपछि आफूले मिडियामार्फत यो कुरा राखेको दीपेन्द्रले बताउनु भयाे ।

कमेडी हब कार्यक्रमको पहिलो एपिसोडमा मैले ‘यमराज’ शीर्षकको प्रहसन देखाएको थिएँ । त्यसमा मैले यमराजको भूमिका निभाएको थिएँ । प्रहसनको स्क्रिप्ट पनि म आफैंले लेखेको हुँ ।

त्यस प्रस्तुतिमा मैले निजी कलेज, स्कुलले कसरी चर्को फी असुल्छन् भन्ने विषयमा व्यंग्यात्मक प्रस्तुति दिएको थिएँ । शुल्क जति लिए पनि सुविधा चाहिँ पर्याप्त हुँदैन भन्ने सन्देश प्रहसनमा गरिएको थियो । अभिभावकको ढाड सेक्ने समग्र शैक्षिक संस्थाहरुमाथिको प्रहार थियो ।

कमेडी हबको मेरो प्रस्तुति मेरो कलेजका स्टाफ तथा प्रिन्सिपल नारायण सिटौलाले पनि हेर्नुभएछ । उहाँहरुलाई त्यो प्रस्तुतिले बिझाएछ । मैले त समग्र शैक्षिक क्षेत्रको विकृतिलाई चित्रण गरेको थिएँ । कुनै पनि स्कुल कलेजको नाम लिएको थिइनँ । तर, उहाँहरुले त मानौं आफ्नै कलेजलाई प्रहार गरेको अर्थमा लिनुभयो, जुन मैले सोचेकै थिइनँ ।

आज मैले शिक्षासँग सम्बन्धित नाटक बनाउँदा कलेजले निकाल्ने, भोलि स्वास्थ्यको क्षेत्रमा भएको विकृतिमाथि व्यंग्य गर्दा उपचार नै नगरी दिने भयो भने अवस्था के होला ? हामीले त जे देख्यो, त्यही देखाउने हो । समाजलाई त्यसबाट लिनुपर्ने शिक्षा अर्कै थियो होला, तर मेरो कलेजले चाहिँ अर्कै रुपमा लिइदियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?