वातारण प्रदूषण र सचेतताको आवश्यकता

वर्तमान समयमा हाम्रा सामु आइपरेका विभिन्न समस्यामध्ये वातावरण प्रदूषण एउटा प्रमुख समस्याका रूपमा देखापरिरहेको छ । यो यस्तो समस्या हो जो मानवीय कारणबाटै सिर्जना हुनेगर्छ । वातावरण प्रदूषणका कारण अनेकौं हुने गर्दछन् । पृथ्वीमा बसोवास गर्ने मानिसहरूको संख्या हालै आठ अर्ब पुगेको घोषणा गरियो । पृथ्वीमा बस्ने मानिसहरूको यति ठूलो संख्याले बस्न, खान, लाउन तथा आफ्नो जनजीवनसँग जोडिएका अन्य क्रियाकलाप गर्नुपर्दा तिनले अनेकौं किसिमले प्राकृतिक वातावरणलाई बिगार्न पुगेका हुन्छन् । मानिसले कतिपय यस्ता क्रियाकलाप थाहा पाएर गरेका हुन्छन् भने कतिपय चाहिँ थाहा नपाई गरिरहेका हुन्छन् । बुझपचाएर गरिने क्रियाकलापबाट पनि आफैँ प्रभावित हुनुपर्छ । यसले मलाई नै अप्ठ्यारो पर्दछ भन्ने उसले बिर्सन्छ ।

हाम्रा यस्तै व्यवहारबाट यो पृथ्वी दिनप्रतिदिन पदूषित भइरहेको छ । त्यसबाट हिजोको पुस्ताभन्दा आज हामी र हामीभन्दा भोलिको पुस्ता झन्झन् प्रभावित बन्दैजान्छ । हामीले यो कुरा बुझेर वा नबुझेर पनि गरिनै रहेको छौँ । विश्वका वैज्ञानिकहरूले यस विषयमा चिन्ता प्रकट गरिरहेका छन् । वातावरण प्रदूषित हुने मुख्य कारणमा कार्बन उत्सर्जन पर्दछ । हाम्रा विभिन्न क्रियाकलापबाट पृथ्वीम अत्यधिक मात्रामा कार्बन उत्सर्जन हुनेगर्छ । पृथ्वीको एउटा निश्चित वायुको पेटी वा वायुमण्डलभित्र रुमल्लिएर त्यो कार्बन घुमिरहन्छ र त्यसले पृथ्वीलाई ताप वृद्धि गर्दै लान्छ । यस कारणले जलवायु परिवर्तन भइरहेको छ । पृथ्वीको तापक्रम बढिरहेको छ, जीवजन्तु र वनस्पतिहरू अप्ठ्यारो अवस्थाबाट गुज्रिनु परेको छ ।

यसरी वातावरण प्रदूषणका कारणमध्ये सवारीसाधनको अत्याधिक चाप एउटा मुख्य कारण हो । गाडीहरूको उत्पादन र प्रयोग दिनप्रतिदिन बढिरहेकै छ । यसबाट उत्सर्जन हुने धुवाँ वा कार्बनले सवारीसाधनको ज्यादा प्रयोग हुने क्षेत्र प्रभावित बन्दै जान्छन् । विशेषगरी शहरी क्षेत्रमा यस्तो समस्या छ तर प्रत्यक्ष रूपमा शहरी क्षेत्रमा मात्र यस्तो समस्या देखिने भए पनि विस्तारै त्यो कार्बन फैलिँदै टाढाटाढासम्म पुग्छ र वायुमण्डल नै प्रभावित बन्छ । यस्तै कारणले हो ओजोन तह पातलिएको पनि । गाडीमा प्रयोग हुने इन्धनमा मिसावट हुनु, धेरै पुराना सवारीसाधनको प्रयोग हुनुलगायतले सवारीसाधनबाट प्रदूष फैलिने गरेको छ ।

यसलाई नियमन गर्न सकिएको छैन र नियमन गर्ने निकायहरूको पनि त्यस्तै सवारीसाधनका मालिकहरूप्रति सहानुभूति रहने गरेको छ । सवारी धनीहरू आफ्नो सवारीसाधनबाट त्यो चलुन्जेल फाइदा लिइरहने सोचाइमा हुन्छन् । हामीले पश्चिमी र विकसित मुलुकहरूमा जसरी निश्चित समय चलिसकेपछि त्यस्ता साधनलाई विस्थापित गर्ने गरेका छैनौँ । पहिलो कुरा पर्याप्त कानुनको अभाव, दोस्रो भएका कानुनहरूको कार्यान्वयनमा कढाइ नहुनु, तेस्रो नियामक निकाय र सञ्चालकहरूको बद्नियतपूर्ण क्रियाकलाप जस्ता कारणबाट यस्ता समस्याले विकराल रूप लिँदै गएका छन् । सञ्चालनमा रहेका अधिकांश सवारीसाधन परीक्षणमा फेल हुनुका कारण यिनै हुन् । विश्वका धनी मुलुकहरूको समूह जि.एट.ले बेलाबेलामा सम्मेलन गरेर यस्तै समस्याका बारेमा छलफल गर्ने गरेको छ ।

त्यस्ता औद्योगिक राष्ट्रहरूले आपूmले उत्सर्जन गरेको कार्बनको शोषण गरी वातावरण सफा बनाउनमा सहयोग पुर्‍याएकोमा साना तथा पर्याप्त वनजंगल भएका मुलुकहरूलाई क्षतिपूर्ति पनि दिने गरेका छन् । यसबाट वातावरण सफा राख्नुपर्ने रहेछ भन्ने शिक्षा सबैले ग्रहण गर्नुपर्दछ । तुलनात्मक रूपमा ग्रामीण इलाकामा भन्दा शहरी क्षेत्रमा बस्ने मानिसहरूमा स्वास्थ्य समस्या बढी देखिने गर्नाका कारण यस्तै हुन् । हाम्रोमा सञ्चालनमा रहेका सवारीसाधन प्रदूषण परीक्षणमा फेल भए भन्नुको मतलव हाम्रोमा यस्तो प्रदूषणको समस्या धेरै छ भन्ने बुझिन्छ । यस्तो समस्या बढी भएपछि निश्चित रूपमा मानिसहरूमा रोग र बिरामीको अवस्था बढी छ ।

विशेषगरी श्वासप्रश्वास, ब्रोङक्राइटिस, घाँटी, मुटु र फोक्सोका रोगहरू यस्तो प्रदूषणबाट निम्तिने गर्दछन् । यस्ता समस्यालाई कम गर्न मूलरूपमा हामी नै सचेत रहनुपर्दछ । हाम्रा क्रियाकलापबाट सिर्जना हुने समस्या हाम्रा कारणबाट निराकरण हुन सक्छन् । पुराना सवारीसाधनलाई विस्थापित गर्दै लाने, तिनमा प्रयोग हुने इन्धनमा मिसावट हुन नदिने, व्यवस्थित रूपमा सञ्चालन गर्ने जस्ता कार्यले एकैपटक यस्ता समस्या निराकरण गर्न नसके पनि विस्तारै हटाउन सकिन्छ । यसका लागि हामी सचेत रहनै पर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?